महाराजगन्ज नगरपालिका र तुलसीपुर उपमहानगरपालिकाको १७ वडाको निर्वाचन जेठ ३ गते हुने – Nepal Press

महाराजगन्ज नगरपालिका र तुलसीपुर उपमहानगरपालिकाको १७ वडाको निर्वाचन जेठ ३ गते हुने

काठमाडौं । कपिलवस्तुको महाराजगन्ज नगरपालिका र तुलसीपुर महानगरपालिका वडा नम्बर १७ मा जेठ तीन गते निर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगका एक उच्च अधिकारीका अनुसार कपिलवस्तुको महाराजगन्ज नगरपालिकाका उपप्रमुखका उम्मेदवार र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्षका उम्मेदवारको मृत्यु भएपछि वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन स्थगित गरेर जेठ ३ गर्ने निर्वाचन गर्ने निर्णय भएको हो ।

कपिलवस्तुको महाराजगन्ज नगरपालिका निर्वाचन अधिकृत कुबेर पाण्डेका अनुसार नेपाली काँग्रेसबाट उपप्रमुखमा उम्मेदवारी दिएकी ५५ वर्षकी सुभावती कुर्मीको २६ गते सोमबार राती हृदय घातका कारण मृत्यु भएको हो । जिल्ला अस्पताल पुर्याउदैँ गर्दा मृत्यु भए पनि निर्वाचन अधिकृतको कार्यालयलाई भने २७ गते मंगलबार बिहान जानकारी आएको थियो ।

उनले नेपाल प्रेससँग भने, ‘हामीले जानकारी पाउने बित्तिकै निर्वाचन सबै कार्यक्रम स्थगित गरेको सूचना जारी गरेर निर्वाचन आयोगलाई जानकारी गरायौ ।’ कुर्मीले भर्खरै मात्रै उक्त नगरपालिकाकै उपप्रमुखबाट राजिनामा दिएर फेरी उपप्रमुखमा नै उम्मेदवारी दिएकी थिईन ।

निर्वाचन आयोगका अनुसार उक्त स्थानीय तहमा वैशाख तीन गते स्थानीय तहको निर्वाचन हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उक्त पार्टीको तर्फबाट मात्रै भोलि उम्मेदवारी दर्ता गराउने समय सीमा दिइएको छ । २८ र २९ गते गरेर दुई दिनमा सबै प्रक्रिया सम्पन्न गर्ने निर्वाचन अधिकृत पाण्डेले बताए ।

तुलसीपुर उपमहानगरपालिका निर्वाचन अधिकृत राजेश्वर ज्ञवालीका अनुसार वडा नम्बर १७ का नेकपा एमाले तर्फबाटका वडा अध्यक्षका उम्मेदवार अनुमानित ५० वर्षका लबरु चौधरीको वैशाख २६ गते सोमबार राति नै मृत्यु भएको हो ।

उनले भने, ‘अकस्मात् बिरामी पुग्नुभएछ । त्यसपछि उहाँलाई उपचारका लागि काठमाडौं लगिएको रहेछ । त्यहाँको एउटा अस्पतालमा उपचारका क्रममा सोमबार राति १ बजेतिर मृत्यु भएको भनेर हामीलाई बिहान खबर आइसकेपछि हामीले १७ नम्बर वडाको निर्वाचनका सबै कार्यक्रम स्थगित गरेर आयोगलाई जानकारी गराइसकेका छौ ।’ वडा अध्यक्षका उम्मेदवार चौधरी २०७४ सालको स्थानीय तहको निर्वाचनमा उक्त वडाकै वडा सदस्यमा निर्वाचित भएर काम गरिरहेका थिए ।

आयोगका अनुसार उक्त वडामा पनि तीन गते नै निर्वाचन गर्ने निर्णय भएको छ । त्यसका लागि भोलि र पर्सि मृत्यु भएको पार्टीको तर्फबाट उम्मेदवारी दर्ता लगायतका अन्य काम सम्पन्न हुनेछ ।

त्यो बाहेक अन्य स्थानीय तहमा वडा अध्यक्ष भन्दा तलका पदमा उम्मेदवारी दिएका व्यक्तिको मृत्यु भए पनि कानुनमा त्यसबारेमा केहि व्यवस्था नभएकाले कुनै निर्णय नभएको आयोगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर