बुटवलमा छिमेकी बनेर करोडौंको सुनचाँदी चोरेर फरार भएका भारतीय पक्राउ – Nepal Press

बुटवलमा छिमेकी बनेर करोडौंको सुनचाँदी चोरेर फरार भएका भारतीय पक्राउ

रुपन्देही । बुटवलमा छिमेकी बनेर करोडौंको सुनचाँदी चोरेर फरार भएका तीन भारतीय दुई सातामै प्रहरीको फन्दामा परेका छन् ।
बैशाख १३ गते रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं ६ स्थित गुल्मेली मजुवा सुनचाँदी पसलमा भएको सुनसहित नगद करिब ५ लाख चोरीमा संलग्नलाई प्रहरीले छोटो समयमै पक्राउ गरी सार्वजनिक गर्न सफल भएको हो ।

भारतको उत्तर प्रदेशको जौहरी मोहल्ला चोकका ३६ वर्षीया मोहसिन अब्दुल्ला खान, उत्तर प्रदेशकै निसानगंज महानगरका २२ वर्षीया मोहम्मद सरिक र उत्तर प्रदेशकै गोमती कोलोनीका ३५ वर्षीया मोहद जिसान खानलाई प्रहरीले पक्राउ गरेको हो ।

बैशाख १३ गते उनीहरुले करिब ५ करोड बराबरको सुन र नगद चोरी गरेको पीडित परिवारको भनाइ छ । घटनामा संलग्नमध्ये मोहद जिसान खान मुख्य योजनाकार रहेको प्रहरीले बताएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरु व्यवसायिक चोरी गर्ने समूह रहेको रुपन्देही प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले जानकारी दिएका छन् ।

तीनै जनालाई घटना घटेको १३ दिनपछि बैशाख २६ गते साँझ लुम्बिनी सांस्कृतिक नगरपालिका–४, महुवारीस्थित खुनगाई–कालीदह सडकखण्डमा सवारी चेकजाँचका क्रममा पक्राउ गरिएको प्रहरी भनाइ छ ।

प्रहरीले उनीहरु सवार युपी ३२ एल डब्लु ३१५१ नम्बरको कार, एउटा ३१ ग्राम ५० मिलिग्राम, एक थान बीस ग्राम, एउटा २९ ग्राम १६० मिलिग्राम, दुई थान १०÷१० ग्राम गरी कुल एक सय ग्राम ६६ मिलिग्राम सुनको सिक्का बरामद गरेको छ । यस्तै, ३ थान मोबाइल, ६ हजार भारतीय रुपैयाँ र एटीएम कार्ड पनि उनीहरुको साथबाट बरामद गरिएको एसपी रेग्मीले जानकारी दिए ।

चोरी भएको उक्त सुन पसलको छेउमा उनीहरुले व्यवसाय गर्ने भनी सटर भाडामा लिएका थिए । घरबेटीलाई अग्रिम मासिक ३० हजारका दरले १२ महिनाकै घरभाडा बुझाइसकेका थिए । तर होटलमा बसेर योजना बनाएर उनीहरुले सुन पसल चोरी गररेको प्रहरी भनाइ छ । तीनैजनालाई जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

रुपन्देहीमा भएका सुनचाँदी चोरी घटनामा प्रहरीले छोटो समयमा सफल अनुसन्धान गरेको यो पहिलो घटना भएको व्यवसायीको भनाइ छ । सुन पसलमा करोडौंको वस्तु तथा नगद चोरी भएपछि यहाँको सुनचाँदी व्यवसायी आन्दोलित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर