भाइरलम्यान पुण्य गौतम एमालेमा प्रवेश गर्दै, नेकपा एस कांग्रेसको पुच्छर बनेको आरोप – Nepal Press

भाइरलम्यान पुण्य गौतम एमालेमा प्रवेश गर्दै, नेकपा एस कांग्रेसको पुच्छर बनेको आरोप

काठमाडौं । सामाजिक सञ्जालमा भाइरलम्यानका रुपमा समेत परिचित नेकपा एसका सल्लाहकार पुण्य गौतम एमाले प्रवेश गर्ने भएका छन् । आज २ बजे काठमाडौंमा आयोजना हुन लागेको एमालेको जनसभाका क्रममा अध्यक्ष केपी ओलीले टीका लगाएर उनलाई एमालेमा भित्र्याउन लागेका हुन् ।

नेकपा एस कांग्रेसको पुच्छर भएको र एमसीसीमा डबल स्टान्ड लिएकाले आफूले सो पार्टी छोड्ने निर्णय गरेको गौतमले बताए । ‘हामी जे सोचेर त्यो पार्टीमा गएका थियौं, त्यो भएन’, उनले भने, ‘कांग्रेसको बी टिम जस्तो भएर बस्नु भनेको राजनीतिक आत्महत्यामात्रै हो ।’

एमालेमा आफूलाई केन्द्रीय सदस्यकै आश्वासन मिलेको गौतमको भनाइ छ । यद्यपि टुंगो लागिनसकेको उनले बताए । गौतमले आफूसँगै नेकपा एसका अन्य केही साथीहरुलाई एमाले प्रवेश गराउन लागेका छन् ।

गौतमले २०४५ सालमा नेकपा मसालबाट राजनीति सुरु गरेका हुन् । उनले आफू २०४६ सालको जनआन्दोलनमा पनि सक्रिय सहभागी रहेको बताउने गरेका छन् । पछि उनी एकता केन्द्र हुँदै माओवादीमा लागे ।

२०५२ सालमा माओवादीले गरेको जनयुद्धमा उनी पहिलो लटकै कार्यकर्ता थिए । लडाकुका रुपमा विभिन्न लडाईंको मोर्चामा समेत सहभागी भएका उनी शान्तिप्रक्रियापछि भने निस्क्रिय बने । ६८ सालमा सीपी मैनाली नेतृत्वको नेकपा मालेमा लागे र त्यसको पोलिटब्यूरो सदस्य बने । पछि गौतमसहित नेकपा मालेको एउटा हिस्सा माओवादीमा गाभियो ।

नेकपा एमाले र माओवादीको एकीकरणपछि बनेको ४४१ सदस्यि केन्द्रीय सदस्यमा गौतम पनि अटाएका थिए । तर सपथपत्रमा समेत हस्ताक्षर गरेपछि उनीसहित चारजनाको नाम काटिएको थियो ।

गौतमले राजनीतिशास्त्र र अर्थशास्त्रमा फस्र्ट डिभिजनमा स्नातकोत्तर पास गरेका छन् । पीएडी सकाएर कन्भोकेसनको पर्खाइमा छन् ।

गौतम विगतमा बौद्धिक व्यक्तिका रुपमा चिनिन्थे । अखबारहरुमा लेख पनि लेख्थे । तर पछिल्लो समय युट्यूवमा तात्तो न छारोका अन्तर्वार्ताहरु दिएर भाइरलम्यानको छवि बनाएका छन् ।

गौतमले नेकपा एस छोड्नेबारे पार्टीका अध्यक्ष माधव नेपालसँग कुरा नगरेको बताए । ‘यो मेरो स्वविवेकको निर्णय हो, जानकारी दिइराख्नुपर्ने आवश्यकता छैन’, उनले भने ।


प्रतिक्रिया

One thought on “भाइरलम्यान पुण्य गौतम एमालेमा प्रवेश गर्दै, नेकपा एस कांग्रेसको पुच्छर बनेको आरोप

  1. मलाई पनि सुरुसुरुमा पुण्य गौतमको विचार ठिकै लाग्थ्यो । केही समय नियमित उनका केही अन्तरवार्ता पनि हेर्ने, सुन्ने गरेकै हो । तर, पछिल्लो समयमा आएर बोल्नुपर्ने, बोल्न नहुने सबै-सबै विषयमा विज्ञको हैसियतमा आएर जे मनलाग्यो त्यही विषयमा बोल्दै गएपछि यो मान्छे एउटा बौद्धिक होइन बकबास र झल्लापात्र रहेछ भन्ने अनुभूति भयो । यो मान्छे जुन पार्टीमा गएपनि कुनै काम छैन । आजभोलि त मलाई पुण्य गाैतम भन्दा बरु मुकुन्द घिमिरे नै ठीक होकी भन्ने पो लाग्छ । यो भाइरल बनाउनुपर्ने मान्छे नै होइन । तर, के गर्ने हाम्रा केही युट्युब च्यानलको लागि एकजना सस्तो हाँस्यपात्र चाहिएकाले यो मान्छे भाइरल भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर