आरजुको क्षेत्रमा कांग्रेसलाई आफ्नैको डर, देउवाले भेट्न बोलाउँदा पनि गएनन् ओझा – Nepal Press

आरजुको क्षेत्रमा कांग्रेसलाई आफ्नैको डर, देउवाले भेट्न बोलाउँदा पनि गएनन् ओझा

कैलाली । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भेट्न बोलाउँदा पनि धनगढीका एक नेताले भेट्न नचाहेको खुलेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा देउवा पत्नी आरजू राणा देउवालाई असहयोग गरेको आरोपमा कारबाहीमा परेका पूर्वमन्त्री पुष्करनाथ ओझाले सोमबार देउवालाई भेट्न इन्कार गरेका हुन् ।

सोमबार प्रधानमन्त्री देउवाकै आग्रहमा कांग्रेसका दुई नेता ओझाको घरमा पुगेका थिए । उनीहरूले प्रधानमन्त्री तथा पार्टी सभापतिले भेट्न खोजेको बताएका थिए । करिब ४५ मिनेटसम्मको छलफलमा पनि ओझाले भेट्न नचाहेको बताइएको छ ।

‘उहाँले प्रधानमन्त्री तथा पार्टी सभापतिप्रति पूर्ण सम्मान व्यक्त गर्नुभयो । तर, अहिले भेट्न नसकिने बताउनुभयो’, कांग्रेस निकट स्रोतले भन्यो, ‘निर्वाचनभन्दा अगाडि म भेट्न सक्दिनँ भन्नुभयो ।’

ओझालाई पार्टीले यसअघि नै पाँच वर्ष साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ । अहिलेसम्म उनको कारबाही फुकुवा भएको छैन । आरजु राणा देउवालाई असहयोग गरेको भन्दै कारबाही गरिएको भए पनि उनलाई कारबाही गर्ने विषयमा भने अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवारविरुद्ध लागेको बताइएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा धनगढीबाट ओझा पनि आकांक्षी थिए । २०७० सालमा शेरबहादुर देउवा डडेल्धुरा र धनगढी दुई ठाउँबाट निर्वाचित भएपछि देउवाले धनगढी छोडेका थिए । उनको स्थानमा ओझा उम्मेदवार भए र निर्वाचित पनि भए ।

देउवासँग निकट सम्बन्ध रहेका ओझा पूर्वसञ्चार राज्यमन्त्री हुन् । कारबाहीमा परेपछि निष्क्रिय ओझालाई देउवाले फेरि सक्रिय रहन आग्रह गरेका थिए ।

ओझालाई भेट्न गएका कांग्रेस प्रतिनिधिहरुलाई देउवा कारबाही फुकुवा गर्ने कुरामा सकारात्मक रहेको सुनाएका थिए । ओझाले पनि उनीहरूमार्फत देउवाप्रति सकारात्मक रहेको बताएका थिए ।

धनगढी उपमहानगरपालिकाको चुनाव आरजु देउवाको प्रतिष्ठाको विषय हो । यहाँ पुष्कर ओझालाई आरजुकै दबाबमा कारवाही गरिएको थियो । तर अहिले गठबन्धनलाई ओझा पक्षकै असहयोगले अप्ठेरो परेपछि देउवाले उनीसँग कुरा गर्न खोजेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर