‘पराजित हुँदा त जनताको साथ छाडिनँ, जितेपछि झन् किन छाड्नु ?’ – Nepal Press
नेपाल टक

‘पराजित हुँदा त जनताको साथ छाडिनँ, जितेपछि झन् किन छाड्नु ?’

सिन्धुपाल्चोक सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिकामा सत्तागठबन्धनका दलहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी तालमेल गरेका छन् । जसअनुसार उपप्रमुख उम्मेदवार छिन् सीता थापा । यहाँ सत्ता गठबन्धनबीच फुट आएको छ । जसअनुसार नेपाली कांग्रेसले आफ्नो छुट्टै उम्मेदवारी दिएको छ । त्यस्तै प्रतिपक्षी एमाले पनि चुनावी मैदानमा छ । यसै सन्दर्भमा चौतारा साँगाचोकगढी नगरपालिकामा उपमेयर उम्मेदवार रहेकी एकीकृत समाजवादीकी नेतृ सीता थापासँग गरिएको कुराकानी नेपाल टकमा ।

जनता रिझाउन आफ्ना के के एजेन्डा लिएर अगाडि बढिरहनु भएको छ ?

उम्मेदवारी दिइसकेपछि घरदैलो गर्ने, मतदाताहरु भेट्ने, उहाँहरुको समस्या सुन्ने, समाधानको लागि प्रतिबद्धता व्यक्त गर्ने र त्यहाँको वस्तुगत आवश्यकता के हो, त्यसलाई पनि मनन गर्नेलगायतका काममा व्यस्त छौं ।

२०७४ को स्थानीय तह चुनावमा तपाईं उपप्रमुखको उम्मेदवार हुनुहुन्थ्यो । केही मतान्तरले पराजित हुनुभएको थियो । अहिले माओवादी र एकीकृत समाजवादी गठबन्धन भएर फेरि चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख उम्मेदवार हुनुहुन्छ । तपाईंलाई सीता थापा भनेर मतदाताले कसरी चिन्ने ?

मलाई सबैले नजिकबाट चिन्नुहुन्छ । आफैले चिनाउनुपर्दा म एउटा युवा महिला, जो लामो समयदेखि राजनैतिक सामाजिक आन्दोलनमा सक्रिय हिसाबमा यी सडकहरु नापेर यहाँका बासिन्दाको जीवनस्तरलाई यहाँका भावना, यहाँको मन तथा आवश्यकतालाई बुझ्न प्रयत्न गर्ने एउटा मान्छे र अर्को हिसाबमा भन्दा पुस्तान्तरणको एउटा सुअवसर मतदाताहरुको लागि । जनताको लागि आम नगरवासीहरुको लागि एउटा पुस्तान्तरण गर्ने अवसर र एउटा अधिनमा दख्खल राखेको राष्ट्रिय राजनीतिलाई पनि बुझेको र आफै कर्ममा पनि रमाउन चाहने, रमाउन खोज्ने स्वावलम्बी महिला । त्यस्तो मान्छेलाई तपाईंहरुले आफ्नो प्रतिनिधिको रुपमा चुनेर पठाउँदा राम्रै काम गर्न सक्छु ।

राष्ट्रिय राजनीतिसँग कतिको पहुँच राख्नुहुन्छ तपाईले ?

वास्तवमा म विद्यार्थी राजनीतिबाट हुर्किएर आएको ब्याकग्राउण्ड भएको मान्छे हुँ । राष्ट्रिय राजनीतिमा पनि म राम्रो दख्खल र चासो राख्छु । अन्तर्राष्ट्रियस्तरकै राजनीतिको कुरा गर्दा पनि मैले ब्राजिलबाट दुई महिनाको कोर्ष पूरा गरेर आएको छु ।

धेरै देशका साथीहरुसँग, त्यहाँका भ्रातृ संगठनहरु, राजनीतिक दलका भ्रातृ संगठनहरु कसरी सञ्चालन हुन्छन्, त्यहाँको सिस्टम कस्तो छ, कसरी युवाहरुलाई स्थापित गर्न सकिन्छ र अन्तर्राष्ट्रियस्तरमै पनि नेपालको सन्दर्भमा महिलाहरुको पक्षमा भएका उपलब्धिहरु र त्यहाँ एउटा यो चाँहि सबैभन्दा उत्कृष्ट रहेछ भन्ने खालको एउटा सन्देश पनि दिएर आएको हुँ । राष्ट्रियमात्रै हैन अन्तर्राष्ट्रियस्तरमा पनि अनुभव आदानप्रदान गर्ने सन्दर्भमा र अन्य सन्दर्भमा पनि त्यो एउटा बाटो बनाएको छ । त्यसर्थ त्यो पनि मैले गर्न सक्छु भन्ने मलाई लाग्छ ।

मतदाताहरुले सीता थापालाई किन भोट दिने ? जितेपछि के गर्नुहुन्छ तपाईंले ?

हामीले घोषणापत्र तयार गरेका छौं । खासगरी कृषि, शिक्षा, स्वास्थ्य सँगसँगै प्रविधिमैत्री व्यवस्था निर्माण गर्ने र धेरै कामहरु अहिले कम्प्युटर र इन्टरनेटबाट गर्ने भन्ने आम कुरा चलिरहेको छ । त्यो काम गर्न पनि सीता थापा र हाम्रो गठबन्धनको उम्मेदवार कृष्णप्रसाद सापकोटा नै चाहिन्छ । यो कुरामा हामी अब्बल छौं । हामीभित्रैबाट सबै ज्ञानको भण्डार त छैन ।

तर, हामी यहाँ भएका स्रोतसाधनहरु, चाहे त्यो मानवीय स्रोत हुनसक्छ, चाहे त्यो प्राकृतिक स्रोत हुन सक्छ, यहाँका भौगोलिक आवश्यकता हुनसक्छ, ती कुरालाई संयोजन र उपयुक्त वातावरण बनाई लगानी गर्ने हाम्रो सोच छ । प्रविधिलाई उद्योगको रुपमा विकास गर्ने, हामीले जसरी वडाका कामहरु कम्प्युटरमार्फत गर्ने भनेका छौं, आज बत्ती, पानी, बिजुलीको पैसा इन्टरनेटमार्फत घरमै बसीबसी तिर्ने भनेका छौं । तर, कसरी तिर्ने नगरपालिकाका जनता एवं आम मतदाता त्यसका लागि क्षमतावान हुनुहुन्छ । क्षमता नभएकालाई तालिमको व्यवस्था गर्छौं । घरघर दक्ष प्राविधिक लगेर सबै अपडेट गराउँछौं ।

अर्को, यो चौतारा साँगाचोकगढी नगरपालिका पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको ठाउँ हो । सदरमुकाम पनि भएकाले धेरै कार्यालय यहाँ छन्, कार्यालय प्रमुखहरु यही हुनुहुन्छ । उहाँहरुबाट हामीले फाइदा किन नलिने भन्ने हाम्रो अर्को योजना छ । यहाँ धेरै विकास निर्माणका कामहरु हुन्छन् । यहाँ धेरै योजनाका कामहरु हुन्छन् । नगर सरकारले उहाँहरुसँग सहकार्य र साझेदारी गरेर संघ र प्रदेशस्तरबाट आएका कार्यक्रम कार्यान्वयन गर्नेछ ।

पर्यटनको अलि धेरै सम्भावना रहेको हाम्रो ठाउँ हो । सुकुटे आफैमा पर्यटकीय हबको रुपमा स्थापना भई नै सकेको छ । नगरपालिकाको छेउमा रहेको ठाउँलाई हामीले ओख्रेनीसम्म किन नजोड्ने ? त्यहाँका पर्यटकहरुलाई पैदलमार्ग हुँदै कार्कीटारसम्म किन नलाने ? कार्कीटारलाई कृषि जोनको रुपमा विकास गर्दैछौं । त्यहाँ कृषि पर्यटनको रुपमा विकास गर्न सकिन्छ । विस्तारै हर्रे हुँदै ऐतिहासिक साँगाचोकगढीमा लगेर उहाँहरुलाई भ्रमण गराउने हो । त्यसपछि उहाँहरुलाई चौतारा ल्याएर भर्खरै निर्माण भएको बुद्धपार्क, गौरती र हर्लङबर्लङमा घुमाउन सकिन्छ । यसले नगरवासीलाई रोजगारीमा जोड्न सकिन्छ ।

एकदुई दिन सुकुटेमा आउने पर्यटकहरुको चहलपहललाई विस्तारै माथि ओख्रेनी, सानो ओख्रेनी र त्योभन्दा माथिसम्म किन नपु¥याउने ? त्यो वातावरण कसरी बनाउन सक्छौं भन्ने कुरा हाम्रो ठूलो प्राथमिकताको विषय हो । त्यो सँगसँगै अहिले हाम्रो नगरपालिकाको १० नं. वडामा कार्कीटार र खत्रीथोक जोड्ने झोलुङ्गे पुलमा बन्जी जम्पको व्यवस्था गर्न सक्छौं । यी सम्भावनाहरुलाई हामीले कार्यान्वयन गर्ने भएकोले हाम्रो उम्मेदवारी र हामीलाई भोट दिन अनुरोध गर्दछु ।

मतदाताको दैलो–दैलोमा पुग्दा उनीहरुका खास समस्या के के पाउनुभयो ?

घर र बस्तीमा पुग्दा मान्छेका समस्याका विविध आयामहरु आएका छन् । सबै महिलाहरुको एउटै समस्या छैन । सबै वृद्ध बाआमाहरुको पनि एउटै समस्या छैन । बालबालिकाका समस्या पनि एउटै छैन । त्यसमा पनि विविधता छ ।

एउटै वडामा पनि फरक ठाउँमा फरक खालको समस्या छ । हाम्रो आर्थिक हैसियत पनि फरक फरक छ । हाम्रो अवस्था पनि फरक छ । त्यसैले उहाँहरुको समस्या समाधान गर्न हामीले ¥याण्डमलीभन्दा पनि क्याटागोरीकल्ली योजनाहरु बनाउन जरुरी छ र हामीले त्यो बनाएका छौं । दलित बस्तीको विशिष्टता फरक छ, त्यहाँ आयआर्जनलाई कसरी आधुनिकीकरण गर्ने भन्ने छ ।

महिलाहरुलाई सीपमूलक र आयआर्जनसँग जोड्न उद्यमशीलताको विकास गरी रोजगारका कार्यक्रम बनाउँछौं । निम्न वर्गको आर्थिक, सामाजिक र सांस्कृतिक स्तर उकास्छौं । उहाँहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउँछौं ।

गाउँबस्तीमा बुढाबुढीबाहेक अरु हुनुहुन्न । युवाहरु रोजगारी र अध्ययन गर्न जिल्ला बाहिर जानुपर्ने अवस्था छ, गाउँ रित्तो छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

वास्तवमा यो आम समस्या हो । देशकै ठूलो समस्या हो । हामीकहाँ व्यवस्था फेरिए पनि अवस्था नफेरिएकाले यो अवस्था आएको हो । तर, हामी निर्वाचित भएर आइसकेपछि यहाँ ठूला उद्योग र कलकारखाना खोलेर रोजगारी दिन प्रतिबद्ध छौं ।

यहाँ पर्याप्त सल्लाको वनजंगल छ । नगरपालिकाभित्र सिजनिङ गर्ने काठको एउटा उद्योग खोल्छौं । जहाँ सयौं मान्छेहरुलाई रोजगारी दिन सकिनेछ । यो उद्योग स्थापना गर्न चीन वा भारत वा अरु मुलुकसँग सहकार्य गर्छौं ।

अहिले गाउँमा जमिनहरु बाँझो देख्छौं । जमिन बाँझो किन बस्यो ? हामी उत्पादनशील बनाउँछौं । बाँदरलगायत जंगली जनावरको आतंकले लगानी पनि ब्यर्थ भइरहेको छ । गाउँघरमा बाँदरले गर्दा धेरै समस्या भइरहेको छ । हामी पनि त्यसका पीडित हौं । वनजंगलमा खानेकुरा नहुँदा जंगली जनावर आहारा खोज्दै गाउँघरसम्म पुगेका छन् । त्यसको पनि उपायहरु निकाल्छौं । बाँदरलाई समस्याको रुपमा नभई आयआर्जनको रुपमा किन नजोड्ने ? हामी चिडियाखाना किन जान्छौं ? रमाइलोको लागि जान्छौं । हामी त्यो विकल्पमा जान सक्छौं ।

सत्ता गठबन्धनभित्रै कांग्रेसको छुट्टै उम्मेदवार छन् । एमालेका पनि प्रतिस्पर्धी छन् । यस भीडमा मतदाताले तपाईंलाई नै किन मत हाल्ने ?

राजनीतिमा अवसर पाउँदा टिपिरहने हैन, राजनीतिक हिसाबले पद, प्रतिष्ठा र जिम्मेवारी पाउँदा । तर, जिम्मेवारी नहुँदा चाहिँ गुमनाम हुने यो एउटा रोग नै हो । खासगरी महिलाहरुको सवालमा यो एउटा ठूलो चुनौती पनि हो । यसलाई सितिमिति मान्छेले रेसिस्ट गर्न पनि सक्दैन । तर, म यस्तो पात्र हुँ, जुन तपाईंहरुले २०७४ को स्थानीय तह निर्वाचनमा माया गर्दागर्दै र मत दिँदादिँदै कम भएकाले दोस्रो भएँ ।

तर, यो ठाउँको विकासको लागि स्थानीय, प्रदेश र संघीय सरकार र अन्य कार्यालयहरुसँग पनि समन्वय गरेर यहाँको विकास निर्माण सँग जोडिने प्रयत्न गरी नै रहेँ । यहाँको सामाजिक राजनैतिक र अन्य कामहरुमा पनि जोडी नै रहेँ । म अवसर पाउँदा र पद पाउँदा चाहि तपाईंहरुको घरदैलोमा पुग्ने, मर्दा, पर्दा, पूजा हुँदा र विवाह ब्रतवन्ध पर्दा पुगिरहने र अवसर नपाउँदा सर्लक्क हात बाँधेर रोजगारी वा व्यापारमा केन्द्रित भएर बस्ने खालको पात्र हैन । म यही नगरपालिकाको बस्ती–बस्ती, टोल–टोलका जनताको मन–मनमा पुगिरहने एउटा पात्र पनि भएको र भोलि पनि त्यही कर्मलाई दोहो¥याउने भएकाले यसपालि मतदाताहरुले आफ्नो अमूल्य मत दिनुहुनेछ भन्ने म पूर्ण विश्वस्त छु ।

धेरै प्रमुख तथा अध्यक्षले उपप्रमुख एवं उपाध्यक्षलाई पेल्छन् भन्ने छ । यस्तो अवस्थामा तपाईं कसरी प्रस्तुत हुनुहुन्छ ?

हामीले पितृसत्तात्मक सोचको विरोध गरिरहँदा र प्रमुखहरुको विरोध गरिरहँदा व्यक्तिकै विरोध गर्ने या आफ्नो अध्यक्ष या नियतको विरोध गर्ने ? अनि मैले पनि जनताको बराबरी मत ल्याएको हो मेरो अधिकार पनि बराबर हो भनेर पौंठेजोरी खेल्नेभन्दा पनि मिलेर काम गर्ने हो ।

हामी द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्छौं । त्यसका समाधानका उपायहरु पनि छन् । अझ फरक पार्टीबाट उठे पनि राम्रो तरिकाले समन्वय, सहकार्य गरेर सहज तरिकाले कार्यकाल चलाउँछौं । मैले कुनै पनि ठाउँमा मेरो प्रमुखविरुद्ध बोलेको तपाईंहरुले सुन्नुपर्ने छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर