काठमाडौंमा उपमेयरको दौड: रामेश्वर पन्छाउँदै डंगोलले गर्लिन् गोल ? – Nepal Press

काठमाडौंमा उपमेयरको दौड: रामेश्वर पन्छाउँदै डंगोलले गर्लिन् गोल ?

काठमाडौं । स्थानीय चुनावमा मेयर उम्मेदवारको जति चर्चा हुन्छ, उपमेयरको हुँदैन । धेरैले उपमेयरलाई ‘मेयरको सहयोगी’का रुपमा मात्रै सोच्ने भएकाले यो प्रतिस्पर्धाले कम महत्व पाउने गरेको छ । यद्यपि, हालको स्थानीय तहसम्बन्धी कानूनअनुसार उपमेयरहरु पनि निकै अधिकारसम्पन्न हुन्छन् ।

काठमाडौं महानगरपालिकाको कुरा गर्दा यहाँ पनि सबैको चासो मेयरको प्रतिस्पर्धामै केन्द्रित छ । मेयरको दौडमा कांग्रेसकी सिर्जना सिंह, एमालेका केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन शाहबीच त्रिकोणात्मक प्रतिस्पर्धा हुनसक्ने अनुमान भइरहेको छ । यी तीनबाहेक राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठ र साझा विवेकशीलकी उम्मेदवार समीक्षा बास्कोटाले पनि सामान्य चर्चा पाइरहेका छन् । तर, उनीहरु विजयका दाबेदार होइनन् ।

उपमेयरको प्रतिस्पर्धा भने मेयरको भन्दा अलि भिन्न देखिन्छ । यसमा गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठ र एमालेकी सुनिता डंगोल मुख्य प्रतिस्पर्धी हुन् । एमालेबाट उठेकी सुनिता ‘लाइमलाइन’मा छाइरहँदा रामेश्वरको चर्चा तुलनात्मकरुपमा कम छ । उनीहरुबाहेक अरु को–को उपमेयरका उम्मेदवार छन्, धेरै मतदातालाई नै थाहा छैन । जबकि उपमेयरको दौडमा ३० जना छन् ।

एमालेभित्रका धेरै आकांक्षीहरुलाई जिल्लाउँदै सुनिताले बडो चतुरतापूर्वक उपमेयरको टिकट हात पार्न सफल भएकी थिइन् । पहिलेदेखि एमालेनिकट रहे पनि उनले सुरुमा काठमाडौंको मेयरमै ‘स्वतन्त्र’ उम्मेदवारी दिने घोषणा गरिन् । उनको घोषणाले केही चर्चा पाएपछि एमाले नेतृत्वको ध्यान तानिएको थियो ।

मेयरमा पुरुष उम्मेदवार उठाउने तयारी भइसकेकाले एमालेलाई उपमेयरमा चाहिएको थियो, महिला उम्मेदवार । यस क्रममा विवेकशील साझाकी पूर्वनेतृ रञ्जु दर्शना, जसले अघिल्लो चुनावमा मेयर उम्मेदवार बनेर २३ हजारभन्दा बढी भोट ल्याएकी थिइन्, उनलाई एमालेमा भित्र्याएर उपमेयरमा लडाउने प्रयास पनि भयो । अध्यक्ष केपी शर्मा ओलीले नै यसमा चासो दिएका थिए । तर, यो प्रयास सफल भएन । एमालेले रञ्जुजस्तै ‘ग्ल्यामरस’ उम्मेदवारको खोजी गर्ने क्रममा सुनिता रोजाइमा परेको बताइन्छ ।

खैर, सुनितालाई उपमेयर उम्मेदवार बनाउँदा राम्रै रेस्पोन्स मिल्यो । उनको शालिन प्रस्तुति र मीठो बोलीमा युवा मतदाताहरु लठ्ठिएका छन् । साथै, उनले मेयरको उम्मेदवारी घोषणा गर्दा नै केही राम्रा भिजन पनि अघि सारेकी थिइन् । यसले गर्दा ‘ब्युटी विथ ब्रेन’ को छवि बनेको छ उनको ।

एमाले समर्थकहरु सुनिताले जितको माला लगाउन मात्रै बाँकी रहेको बताउने गर्छन् । सुनिताको कसैसँग प्रतिस्पर्धा नै नरहेको उनीहरुको दाबी छ । तर, चुनावी राजनीति सधैं सरल रेखामा बग्दैन । अनपेक्षित र उलटफेरपूर्ण नतिजाहरु हामीले धेरै देख्दै, भोग्दै आएका छौं ।

सुनितालाई उपमेयरको कुर्सीमा बस्न पन्छाउनुपर्ने छ रामेश्वर श्रेष्ठले । लो प्रोफाइलका व्यक्ति भए पनि पाँचदलीय गठबन्धनको शक्ति भएकाले एमालेले उनलाई कमजोर आँक्न मिल्दैन । गठबन्धनबाट कांग्रेसले मेयर पाउँदा उपमेयर नेकपा एसको भागमा परेको थियो । काठमाडौंलाई राम्ररी बुझेका नेताका रुपमा नेकपा एसले उनलाई टिकट दिएको हो ।

यस पार्टीबाट हालका वडाध्यक्ष ईश्वरमान डंगोल, शुद्ध डंगोललगायतका आकांक्षी थिए । तर, पार्टीका सम्मानित नेता झलनाथ खनालको दबाबमा श्रेष्ठलाई अघि सारिएको बताइएको छ । उनीसँग यसअघि जनप्रतिनिधि बनेको अनुभव छैन । पार्टीबाहिर उनी परिचित पनि थिएनन् ।

रामेश्वर खासै चर्चामा छैनन् । चुनावी कोलाहलका बीच उनी भीडमा हराएझैं भएका छन् । साथै, कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहसँग उनको राम्रो ट्युनिङ पनि मिलिरहेको छैन । एमालेका मेयर र उपमेयर उम्मेदवार एकासाथ घरदैलोमा हिँडिरहदा गठबन्धनका मेयर र उपमेयर उम्मेदवारहरु भने प्राय एक्लाएक्लै भोट मागिरहेका छन् । घरदैलो वा अरु कुनै कार्यक्रममा पनि सिर्जना र रामेश्वर एकसाथ कमै देखिन्छन् ।

सिंहसँगको सबै चुनाव केन्द्रित कार्यक्रममा आफू सहभागी हुन नसकेको कुरा रामेश्वर पनि स्वीकार गर्छन् । यद्यपि यसको कारण तालमेलको कमी नभइ आफ्नो कार्यव्यस्तता रहेको उनको भनाइ छ ।

‘सबै ठाउँमा भाउजूसँगै सहभागी भएर चुनाव प्रचारमा सहभागी हुन नसकेको सत्य हो, तर हाम्रो पार्टीबाट पनि वडा स्तरमा उम्मेदवारहरु उठ्नु भएको छ, उहाँहरुसँग पनि हिँड्नुपर्ने हुन्छ,’ उनले भने ।

काठमाडौं महानगरपालिकाका वडा १२, २२ लगायतका वडामा आफू भाउजूसँगै हिँडेको उनले नेपाल प्रेसलाई बताए ।

श्रेष्ठ पनि आफ्नो जितलाई लिएर आशावादी नै छन् । उनको मुख्य शक्ति भनेकै गठबन्धन हो । पाँचवटा दलका मतदाताको सबै भोट उनलाई खस्यो भने पक्कै पनि उनले सुनितालाई कडा टक्कर दिन सक्नेछन् । अहिलेसम्मको अवस्था र माहोल हेर्दा पनि प्रतिस्पर्धामा सुनिता अगाडि देखिएकी छन् ।

एमालेको परम्परागत भोटका साथै ठूलो संख्यामा रहेको तटस्थ भोटहरु पनि सुनितालाई खस्नसक्ने विश्लेषण गरिएको छ । मेयरमा बालेन शाहजस्तो तेस्रो शक्तिशाली उम्मेदवार उपमेयरमा छैनन् । यसर्थ सुनिता र रामेश्वरमध्ये एकजना उपमेयरको कुर्सीमा बस्ने निधोजस्तै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर