बुथ कब्जाले बदनाम दोलखा- केही ‘गुण्डा’ गाउँ छिरे, केही खरिढुंगाबाट फर्किए – Nepal Press

बुथ कब्जाले बदनाम दोलखा- केही ‘गुण्डा’ गाउँ छिरे, केही खरिढुंगाबाट फर्किए

२०५१ देखि सुरु भएको बुथ कब्जाको सिलसिला रोकिएन, यस्तो छ इतिहास

चरिकोट । हरेक चुनावमा हिंसात्मक बन्ने गरेको दोलखामा यसपटक पनि भाडाका गुण्डाहरुको प्रवेश सुरु भएको छ । मुख्य तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादीले एक अर्कामाथि बुथ कब्जाका लागि बाहिरी गुण्डा भित्र्याएको आरोप लगाउने गरेका छन् ।

यसपटक पनि चुनाव हिंसात्मक बन्ने देखिएपछि दोलखा डेटलाइनबाटै समाचार लेख्ने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडाले फेसबुक स्टाटस लेखेर जिल्लाका प्रभावशाली नेताहरुलाई सम्बोधन गर्दै जिल्लाको बदनाम नगर्न सार्वजनिक आग्रह गरे ।

खतिवडा लेख्छन्– चुनावका बखत गाउँमा कार्यकर्ता लड्दै, भिड्दै अनि मारपिटमा उत्रिँदै गर्दा जिल्लाको सँगै तपाईंको अनुहारमा कालो पोतिन्छ । मुलुकभरि प्रतिष्ठा त तपाईँको गुम्छ । तपाईँलाई देख्नेले पछाडिबाट भन्नेछन्, ऊ हेर चुनावमा सधैं मारपिट चल्ने र बुथ कब्जा हुने बदनामित जिल्ला दोलखाको नेता यहीं हो नि !

पत्रकार खतिवडाले लेखे जस्तै दोलखा चुनावी गुण्डागर्दी र बुथ कब्जाको सन्दर्भमा बदनाम छ । अघिल्लो स्थानीय तह निर्वाचनमा गौरीशंकरमा माओवादीबाट एकजना एमाले कार्यकर्ता मारिएका थिए भने मेलुङमा बुथ कब्जा गर्न खोज्दा प्रहरीको गोली लागेर कांग्रेस कार्यकर्ता मारिएका थिए ।

बैतेश्वर गाउँपालिकामा तत्कालीन कांग्रेस-माओवादी गठबन्धनले तीनवटा बुथ कब्जा गरेको थियो भने गौरीशंकरको एउटा बुथ एमालेले कब्जा गरेको आरोप थियो । त्यस्तै तामाकोशी गाउँपालिकाको जफे बुथमा कांग्रेसले कब्जा गरेर एमालेका गाउँपालिका अध्यक्ष उम्मेदवार ईश्वरचन्द्र पोखरेललाई नै लखेटेको थियो ।

यसपालि पनि दोलखामा बुथ कब्जाको रिहर्सल सुरु भइसकेको छ । तामाकोशीको झुलेमा पुगेका बाहिरी युवाहरुलाई स्थानीयले घेरा हालेर प्रहरीलाई बुझाएलगत्तै बैतेश्वरका बस्तीबाट दुईजना बाहिरी युवा पक्राउ परेका छन् । सोही गाउँपालिकाको गैरीमुदीका दुई बुथका साथै मार्बुमा बुथ कब्जाको तयारी भइरहेको सूचना प्रहरीमा पुगेका छ । अपरिचित युवाहरु हतियारसहित गाउँ पस्ने क्रम बढेको छ ।

सोमबारमात्रै दोलखा प्रवेश गर्न लागेका तीन दर्जनभन्दा बढी बाहिरी युवाहरुलाई प्रहरीले सिन्धुपाल्चोक र दोलखाको सीमावर्ती खरिढुंगाबाट फर्काइदिएको छ । सोमबार दिउँसो खरिढुंगा नाकाबाट पाँचवटा स्कोरपियो गाडीमा आएका ३८ जना युवालाई राति नै सीमानाका कटाइएको डिएसपी गंगा पौडेलले जानकारी दिएका छन् ।

जाँचका क्रममा उनीहरु दोलखाबासी नभएको खुलेपछि केही समय नियन्त्रणमा लिएर प्रहरीले फर्काएको थियो । उनीहरुले कालिञ्चोक घुम्न आएको भने पनि चुनावमा उम्मेदवारहरुले बुथ कब्जाका लागि ल्याएको आशंका गरिएको छ ।

स्रोतका अनुसार ती युवालाई विगु गाउँपालिकाका गठबन्धनका अध्यक्ष उम्मेदवार सन्जिवकुमार ओलीले झिकाएका हुन् । दोलखाको बिगु, तामाकोशी, बैतेश्वर र गौरीशंकर गाउँपालिकालाई प्रहरी प्रशासनले बुथ कब्जा हुनसक्ने संवेदनशील क्षेत्रमा राखेको छ ।

बुथ कब्जाका लागि दोलखा बदनाम भएको चाहिँ २०५१ सालदेखि नै हो । २०५१ सालको मध्यावधि आमनिर्वाचनमा नेपाली कांग्रेसबाट भीमबहादुर तामाङ र एमालेबाट आनन्द पोखरेल उम्मेदवार थिए । त्यो चुनावमा सन्त नेता तामाङले जिते तर उनका समर्थकले जफे, गैरीमुदी र झुलेमा बुथ कब्जा गरेका थिए ।

एमालेहरुलाई लखेटेर कुटपिट गरेर बुथ कब्जा भएको थियो, बदलामा चुनावपछि एमाले पक्षबाट बुथ कब्जा गर्नेमध्येका एक कांग्रेस कार्यकर्ताको हत्यासमेत भयो । दोलखाको इतिहासमा कांग्रेसले संसदीय चुनाव जितेको त्यहींमात्र चुनाव भयो ।

२०५६ सालको आमनिर्वाचनमा नेकपा एमाले फुटेर माले भएको थियो । तीनैपक्षले केही ठाउँमा बुथ कब्जा गरे पनि चुनाव एमालेले जित्यो । २०६४ सालमा माओवादीले जिल्लाका अधिकांश बुथमा वैधानिक कब्जा गरेकाले ठूला झडप भने भएनन् । माओवादीले एमाले उम्मेदवार पशुपति चौलागाईमाथि च्यामामा आक्रमण गरेपछि एमालेले अघोषित रुपमा चुनाव हापेको थियो ।

२०७० सालको निर्वाचन दोलखामा निकै प्रतिस्पर्धापूर्ण र बाहुबली ढंगले भयो । विशेषगरी क्षेत्र नम्बर १ सधैं हिंसात्मक बन्ने गरेकोमा सोही क्षेत्रबाट एमालेका पार्वत गुरुङ, कांग्रेसका जिपछिरिङ लामा र माओवादीका विशाल खड्काको पक्षबाट साधन, स्रोत र युवा परिचालनमा कुनै कमी भएन ।

चुनावको अघिल्लो दिन गैरीमुदीमा एमालेका कार्यकर्ताको गाडी र मोटरसाइकलमा आगजनीबाट करोडौंको क्षति भयो । तीनैजना उम्मेदवार उस्तै शक्तिसाली भएकाले ठाउँ ठाउँमा बुथ कब्जा भए । कब्जामा कांग्रेस र माअ‍ोवादीले उछिने पनि चुनाव एमालेले जित्यो ।

२०७४ सालको स्थानीय चुनावमा दुईजनाको हत्या नै भयो । जिल्लामा कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए भने एमाले एक्लै थियो । एमालेले ९ मध्ये ७ वटा पालिका जित्दा गठबन्धन दुईवटामा खुम्चियो । बैतेश्वरको चुनाव बुथ कब्जाका कारणमात्र जितेको आरोप त्यतिबेलैदेखि लागेको हो ।

यसपटक पनि दोलखामा गठबन्धन भर्सेस एमाले छ । तर सधैं बुथ कुब्जा हुने बैतेश्वर गाउँपालिकामा भने त्रिपक्षीय प्रतिस्पर्धा छ । यहाँ कांग्रेस र एमाले एक्लाएक्लै लडेका छन् भने माओवादी र नेकपा एस मिलेका छन् । पत्रकार लक्ष्मण खड्का माओवादीबाट अध्यक्ष उम्मेदवार छन्, जसले अघिल्लोपटक गठबन्धन जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

जो बुथ कब्जा गर्दा पनि हारे

बुथ कब्जा सधैं सोचेजस्तो हुँदैन भन्ने उदाहरण पनि दोलखाले नै बनाएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेका तत्कालीन जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल तामाकोशी गाउँपालिका अध्यक्षका उम्मेदवार थिए ।

चुनावको दिन आफ्ना गाउँ टोलका मतदातासहित पोखरेल मतदान केन्द्रमा पुगे तर हालका कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्लेको नेतृत्वमा बुथ कब्जा भयो । एमाले समर्थकहरुलाई ढुंगामुढा गरेर लखेटे । अध्यक्षका उम्मेदवार पोखरेल नै मतदान गर्न नपाइ ज्यान जोगाउन भनेर भागे ।

वडाध्यक्षका उम्मेदवार घाइते भए । एमालेले पुनः मतदान हुनुपर्ने भने पनि निर्वाचन आयोगले गराएन । मतगणनामा भने फरक दृश्य देखियो । जसलाई विश्वास गरेर मत हाल्न काफ्लेले पठाए उनीहरुले नै भित्र गएर गाउँपालिका अध्यक्षमा एमाले र वडाध्यक्षमा कांग्रेसलाई भोट हालेछन् ।

जफेमा त्यसबेला ‘एक भोट रामलाई, एक भोट घाम’लाई भनेर खुबै चर्चा पनि भयो । राम भन्नाले वडाध्यक्षमा उठेका कांग्रेस उम्मेदवार राम काफ्ले थिए । गाउँपालिकाको केन्द्र कांग्रेसले जितेमा जफेमा नराख्ने सन्देश गएकाले कांग्रेसले बुथ कब्जा गरेर भोट हाल्न पठाएकाहरुले नै पालिका अध्यक्षमा एमालेलाई भोट दिएको चर्चा चल्यो ।

बुथ कब्जाका बाबजुद एमालेका अध्यक्ष ईश्वरचन्द्र पोखरेलसहित पालिकामा एमालेले जित्यो । यसपटक पनि कुन्दन काफ्लेको नेतृत्वमा बुथ कब्जा हुने आशंका एमालेको छ । आइतबारमात्रै सोही पालिकाको झुलेमा कांग्रेसले लगेका केही बाहिरी युवालाई कांग्रेसकै बागी उम्मेदवाहरुले प्रहरीको जिम्मा लगाएका छन् । यहाँ अहिले गठबन्धनबाट अध्यक्षमा नेकपा एसका प्रोणप्रताम केसी उम्मेदवार छन् भने एमालेबाट विद्यार्थी नेता अभिशेक सुवदी उम्मेदवार छन् । उनीहरु दुवैजना एउटै गाउँ शहरेका हुन् ।

कांग्रेस, एमाले र माओवादीबाट आ–आफ्नो बर्चस्व रहेको मतदानस्थलमा बुथ कब्जा हुँदै आएका छन् । स्थानीय कार्यकर्ता र ‘गुन्डा’मार्फत ती मतदानस्थलमा एकलौटी मत खसालिन्छ । बुथ कब्जा गर्न राजनीतिक दलहरूले काठमाडौंलगायत ठाउँबाट पेसेवर ‘गुन्डा’ समेत झिकाउने गर्छन् ।

मोटरसाइकल र गाडी रिजर्भ गरेर उनीहरू जिल्ला प्रवेश गर्छन् र योजनाअनुसार बुथ कब्जा गर्ने केन्द्रमा उनीहरूलाई उम्मेदवारले खटाउँछन् । हतियारसहित पुग्ने गुन्डाले स्थानीय कार्यकर्ताको साथमा सुरक्षा निकाय र कर्मचारीलाई समेत नियन्त्रणमा राखेर मतपत्रमा एकलौटी छाप हाल्छन् । सामान्य मतदातालाई लखेटेर उनीहरूको नामको मत यस्तै गुन्डाहरूले एकलौटी रूपमा हालिदिने गर्छन्, जसलाई बुथ कब्जाका रूपमा लिइन्छ ।

गत स्थानीय तहको चुनावमा कांग्रेस, माओवादीको गठबन्धन र एमालेले आ–आफ्नो बर्चस्व रहेका इलाकाका करिब दर्जन मतदानस्थल कब्जा गरेका थिए ।


प्रतिक्रिया

One thought on “बुथ कब्जाले बदनाम दोलखा- केही ‘गुण्डा’ गाउँ छिरे, केही खरिढुंगाबाट फर्किए

Leave a Reply to bharat kumar Thapa Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर