६ महिनाअघि मात्रै सन्जुले प्रहरी सेवाबाट राजीनामा दिएकी थिइन् – Nepal Press

६ महिनाअघि मात्रै सन्जुले प्रहरी सेवाबाट राजीनामा दिएकी थिइन्

काठमाडौं । झुन्डिएको अवस्थामा मृत फेला परेकी नेपाली भारात्तोलनकी कीर्तिमानी खेलाडी सन्जु चौधरीले ६ महिनाअघि मात्रै प्रहरी कार्यालय सहयोगीबाट राजीनामा दिएकी  थिइन् ।

स्रोतका अनुसार २४ वर्षीया सन्जुले ६ महिना अघि मात्र नेपाल प्रहरीबाट राजीनामा दिएकी थिइन्। केही महिना करारमा काम गरेकी उनलाई प्रहरीले त्यसपछि प्रहरी कार्यालय सहयोगीमा नियुक्त गरेको थियो। तर करिब एक वर्षपछि नै सन्जुले प्रहरी सेवा छाड्ने निर्णय गरेकी थिइन्।

उनले किन प्रहरीको जागिर छाडेकी थिइन् भन्ने स्पष्ट छैन। भारत्तोलनमा आउनुअघि सन्जु क्रिकेटलगायत अन्य केही खेलमा पनि सहभागी भएकी थिइन्। पुलिस छाडेपछि पछिल्लो समय उनले आर्मीको टिमसँग रहेर प्रशिक्षण गर्ने गरेकी थिइन्।

सन्जु दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला भारात्तोलन खेलाडी हुन्। उनले १३ औँ सागमा उक्त सफलता हात पारेकी थिइन्। नेपालगन्ज स्थायी घर भएकी सन्जु एसियाली खेलकुदको छनोटका लागि केही समययता काठमाडौंमा आफन्तकोमा बस्दै आएकी थिइन्।

ललितपुरको लुभुस्थित भारत्तोलन प्रशिक्षक सन्जय महर्जनको घरमा उनकाे शव सलले पासो लागेको अवस्थामा फेला परेको थियो ।

उनी केही दिनयता महर्जनको घरमा बस्दै आएकी थिइन्। घटना आत्महत्या वा हत्या के भन्ने स्पष्ट भइसकेको छैन। अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *