कार्यकर्तालाई वर्षामानको आग्रह: जसरी पनि गठबन्धन जोगाउनु छ, संयम हुनुहोला – Nepal Press

कार्यकर्तालाई वर्षामानको आग्रह: जसरी पनि गठबन्धन जोगाउनु छ, संयम हुनुहोला

कांग्रेसको अराजनीतिक चरित्रका कारण रोल्पामा गठबन्धन हुन नसकेको भनाइ

रुपन्देही । रोल्पामा माओवादीबाट नेपाली कांग्रेसका नेताकार्यकर्ताहरु दिनहुँ कुटिइरहँदा नेकपा माओवादी केन्द्रका नेता वर्षामान पुन ‘अनन्त’ले भने गठबन्धन जोगाउन सबै संयम हुनुपर्ने बताएका छन् ।

आज रोल्पामा भएको पत्रकार सम्मेलनमा पुनले केही स्थानमा भएका असमझदारीलाई दलहरु बसेर मिलाउने प्रतिबद्धता गरेका छन् ।

पुनले देशैभर सत्तागठबन्धनबीच तालमेल भए पनि कांग्रेस जिल्ला नेतृत्वको अराजक र अराजनीतिक चरित्रका कारण रोल्पामा तालमेल गर्न नसकिएको उल्लेख गरे ।

स्थानीय कांग्रेस नेतृत्वले पाँच दलीय गठबन्धनको भावनाविपरीत गठबन्धन बाहिरका दलसँग चुनावी तालमेल गरेकामा आपत्ति जनाए । कांग्रेसले रोल्पामा एमाले र विप्लव नेतृत्वको नेकपासँग चुनावी तालमेल गरेको छ ।

सभापति शेरबहादुर देउवा र आफ्नै समूहका नेता रामचन्द्र पौडेलले तालमेलका आधारमा अघि बढ्न दिएको निर्देशन अस्वीकार गरेर रोल्पा काँग्रेसका नेताहरुले ऐतिहासिक गल्ती गरेको उनले टिप्पणी गरेका छन् ।

रोल्पाका काँग्रेसलाई नक्कली र फुइँफुट्टाको संज्ञा दिँदै उनले ढिलो चाँडो जिल्लाबाट काँग्रेस बढारिने दाबी गरे । नेता पुनले नेत्रविक्रम चन्द विप्लवलाई पुरानो घर फर्कन आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर