काठमाडौं महानगर: ‘गुमनाम’ गठबन्धनका उपमेयर उम्मेदवार – Nepal Press
स्थानीय चुनाव

काठमाडौं महानगर: ‘गुमनाम’ गठबन्धनका उपमेयर उम्मेदवार

काठमाडौं । शुक्रबार देशभर स्थानीय तह चुनाव हुँदैछ । आजसम्म राजनीतिक दल र उम्मेदवारहरुले व्यापक चुनावी प्रचार गरे र आज दिनभर गर्नेछन् । आजै मध्यरातिदेखि मौन अवधि सुरु हुने भएकाले भोलिदेखि उम्मेदवारले भाट माग्न पाउँदैनन् ।

योबीचमा देशैभर चुनावी माहोल छाएको छ । प्रचारप्रसारले तीव्रता पाएको छ । अन्यत्रझैं काठमाडौं महानगरपालिकामा पनि दलहरुले चुनावी प्रचारलाई व्यापक बनाए ।

राजधानी भएकाले पनि यहाँ सत्ताघटक पाँच दल, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र स्वातन्त्र उम्मेदवारहरुको चर्चा व्यापक भयो, भइरहेछ । काठमाडौंका उम्मेदवारमध्ये सबैभन्दा चर्चामा छन्, नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापित, गठबन्धनकी मेयर उम्मेदवार सिर्जना सिंह र स्वतन्त्रबाट मेयर लडेका बालेन शाहको ।

त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलको चर्चा धेरै छ । तर, गठबन्धनबाट उपमेयरका उम्मेदवार बनेका रामेश्वर श्रेष्ठ गुमानाम जस्तै देखिएका छन् । काठमाडौंमा गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंह मेयरमा लडेकी छन् भने उपमेयरको भाग नेकपा एसलाई परेको छ ।

एमालेका मेयर र उपमेयर उम्मेदवार जहाँ जाँदा पनि सँगसँगै हिँडिरहेका छन् । घरदैलोमा पनि सँगै छन् । तर, गठबन्धनकी मेयर उम्मेदवार सिंह र उपमेयर उम्मेदवार श्रेष्ठ प्रायः कतै सँगै देखिँदैनन् । एमालेकी उपमेयर डंगोलअघि श्रेष्ठ ओझेल परेको जस्तै देखिन्छन् ।

उपमेयर उम्मेदवार श्रेष्ठ गुमानाम जस्तै हुनुलाई गठबन्धनबीचको खटपटका रुपमा पनि लिने गरिएको छ । गठबन्धनकै तर्फबाट मेयरकी उम्मेदवार बनेकी सिंहको चुनावी अभियानमा पनि कांग्रेसलाई मात्रै भोट मागेको देखिन्छ, सुनिन्छ । उनको चुनावी प्रचारमा पनि रुख चिह्न अंकित झण्डा प्रयोग भएको हुन्छ, नेकपा एसको कलम कतै देखिँदैन ।

सिर्जना सिंहसँगको सबै चुनावकेन्द्रित कार्यक्रममा आफू सहभागी हुन नसकेको कुरा स्वयम् रामेश्वर पनि स्वीकार गर्छन् । तर उनी तालमेलमा खटपट भएर नभइ कार्यव्यस्तताका कारण यस्तो भएको बताउँछन् ।

‘सबै ठाउँमा भाउजूसँगै सहभागी भएर चुनाव प्रचारमा सहभागी हुन नसकेको सत्य हो तर हाम्रो पार्टीबाट पनि वडास्तरमा उम्मेदवारहरु उठ्नु भएको छ, उहाँहरुसँग पनि हिँड्नुपर्ने भएर त्यस्तो देखिएको हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर