एमालेसँग गठबन्धन गरेको भन्दै कांग्रेस कार्यकर्ताबाट कुटिए माओवादीका अध्यक्ष – Nepal Press

एमालेसँग गठबन्धन गरेको भन्दै कांग्रेस कार्यकर्ताबाट कुटिए माओवादीका अध्यक्ष

रुपन्देही । नेकपा एमालेसँग गठबन्धन गरेपछि माओवादीबाट असन्तुष्ट हुँदै आएका गुल्मीको कालीगण्डकी गाउँपालिकामा नेपाली कांग्रेसका कार्यकर्ताले नेकपा माओवादी केन्द्रका नेतालाई कुटपिट गरी घाइते बनाएका छन् ।

कालीगण्डकी गाउँपालिकाको पुर्तिघाटमा नेपाली कांग्रेसका कार्यकर्ताले नेकपा माओवादी केन्द्रका पालिका अध्यक्ष लीलबहादुर केसी (संजय)लाई कुटपिटबाट घाइते भएका हुन् ।

कुटपिट गर्ने लिलबहादुर थापा कालिगण्डकी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा अहिले अध्यक्ष पदका उम्मेदवार बेदबहादुर थापाका भाइ रहेको माओवादीका स्थानीय कार्यकर्ताले बताएका छन् ।

अनुहारमा चोट लागेर घाइते भएका केसीको गुल्मी जिल्ला अस्पतालमा उपचार भइरहेको छ । पार्टीको समीक्षा बैठक सकेर घरतर्फ फर्कर्दै गर्दा थापाले एक्कासी बाइकको हेल्मेटले टाउकोमा प्रहार गरेको र आफू बेहोस भएर ढलेको केसीले बताए । त्यस पश्चात केके गरे आफूलाई केही थाहा नभएको केसीको भनाई छ । केसीको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ । उनकोे अनुहारमा चोट लागेको छ ।

नेपाली कांग्रेस गुल्मीका सचिव जगदीश भट्टराइले दुई पक्षबीच सामान्य भनाभन भई धकेल्दा केसीलाई चोट लागेको बताए । दुई पक्ष बसेर समस्याको समाधान खोज्ने गरी आफूहरु लाग्ने उनको भनाइ छ ।

कालिगण्डकीमा नेकपा एमाले र माओवादीबीच गठबन्धन छ भने नेपाली कांग्रेस र जनमोर्चा गठबन्धन गरेर चुनावी मैदानमा छन् । कांग्रेसका नेताहरुले कुटाई खाने केसीकै कारण गठबन्धन बिथोलिएको बताउँदै आएका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले सामान्य कुटाकुट भएको आफूहरुलाई थाहा भएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर