बालेन राष्ट्रपतिका जलस्रोत सल्लाहकार हुन् ? शीतलनिवासले गरायो निर्वाचन आयोगमा ध्यानाकर्षण – Nepal Press

बालेन राष्ट्रपतिका जलस्रोत सल्लाहकार हुन् ? शीतलनिवासले गरायो निर्वाचन आयोगमा ध्यानाकर्षण

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन) अहिले जताततै समाचारमा छाइरहेका छन् । उनको पृष्ठभूमि र अन्य गतिविधिहरुबारे पनि व्यापक जनचासो बढेको छ ।

पाठकलाई बालेनका बारेमा नयाँ सूचना पस्किने होडमा हालै एक सञ्चारमाध्यममा उनी राष्ट्रपतिका सल्लाहकार भएको खबर प्रशारण गरियो । एपिवान टेलिभिजनको रजतपट कार्याक्रममा विगत तीन महिनादेखि बालेनले राष्ट्रपतिका जलस्रोत सल्लाहकारका रुपमा पनि काम गरिरहेको दावी गरिएको थियो ।

सोही कार्यक्रममा बालेनलाई अतिथिका रुपमा निम्त्याएका प्रस्तोता प्रकाश सुबेदीले प्रश्नोत्तरका क्रममा उनलाई राजा र राष्ट्रपतिमा को रोज्नुहुन्छ भने सोधेका थिए । बालेनले आलटालपूर्ण जवाफ दिएपछि सुबेदीले भने- राष्ट्रपतिको जलस्रोत सल्लाहकार भएकाले राजा छान्न नसक्नुभएको हो ?

जवाफमा बालेनले आफू राष्ट्रपतिको सल्लाहकार भएको वा नभएको भनेर कुनै प्रष्टीकरण दिएनन् । यसले गर्दा धेरैलाई यो खबर सत्य लागेको छ । तर, राष्ट्रपति कार्यालयले भने यो सत्य नभएको प्रष्ट पारेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चारविज्ञ टिका ढकालले बालेनलाई राष्ट्रपतिका सल्लाहकार भनि प्रचारित गरिएकोबारे आफू जानकार रहेको बताए । तर, यसमा सत्यता नभएको उनको भनाइ छ ।

‘बालेन शाह नाम गरेको कोही पनि राष्ट्रपतिका सल्लाहकार हुनुहुन्न,’ उनले भने, ‘गलत प्रचार गरिएको विषयमा हामीले निर्वाचन आयोगको पनि ध्यानाकर्षण गराएका छौं ।’

सञ्चारमाध्यममा आएको कुराले भ्रम उत्पन्न हुने भएकाले आफूले नै आयोग पदाधिकारीलाई मौखिकरुपमा ध्यानाकर्षण गराएको ढकालले जानकारी दिए ।

राष्ट्रपति कार्यालयमा उक्त समाचारबारे छलफल हुँदा सार्वजनिक रुपमा वक्तव्य जारी गर्नुभन्दा आयोगलाई जानकारी गराउनु उचित हुने निस्कर्ष निकालिएको थियो ।

वास्तविकता यस्तो

हरेक वर्षको मार्च २२ लाई अन्तर्राष्ट्रिय पानी दिवसका रुपमा मनाउने गरिन्छ । यही अवसरमा राष्ट्रपति कार्यालयले गत २२ मार्चमा जलस्रोत सम्वन्धि विज्ञहरुलाई बोलाएर अन्तरक्रिया गरेको थियो ।

वरिष्ठ जलस्रोतविद दिपक ज्ञवालीलाई आमन्त्रण गरिएकोमा उनकै सिफारिसमा बालेन पनि शीतलनिवास जाने टोलिमा समावेश भएका थिए । बालेन जलस्रोतविज्ञ नभए पनि जलस्रोत र भौतिक संरचनाको अन्तरसम्वन्ध हुने भएकाले उनलाई टिममा राखिएको हो । त्यसबेला उनी काठमाडौंको मेयरमा उम्मेदवारी दिएर चर्चामा आइसकेका थिए ।

राष्ट्रपति कार्यालयमा करिब एक घन्टा भएको छलफलमा ज्ञवालीले लामो प्रस्तुति दिएका थिए भने बालेनले पनि केही मिनेट बोलेका थिए । बालेनले भोलिपल्ट सामाजिक सञ्जालमा उक्त छलफलको विषयमा तस्वीरसहित स्टाटस पनि लेखेका छन् । त्यसमा उनले नेपालमा पानीको के-के समस्या छ र त्यसको समाधान के हुन्छ भन्ने विषयमा राष्ट्रपतिबाट परामर्श मागिएको उल्लेख गरेका छन् ।

‘हामीले हाम्रो परम्परागत पानीको प्रविधिलाई ब्यूँताउनुपर्ने साझा परामर्श दिएका छौं,’ बालेनले लेखेका थए ।

बालेनको कोर टिमका सदस्य कुमार बेनले पनि राष्ट्रपति कार्यालयले सल्लाहकार भनेर औपचारिक नियुक्ती नदिएको बताए ।

उनले भने, ‘उहाँहरुले जलस्रोतका विषयमा छलफल गर्न बालेनलाई बोलाउनुभएको थियो । अब रेगुलर रुपमा सल्लाह लिने कुरा छ । त्यस हिसाबले सल्लाहकार भन्दा पनि भयो । तर, औपचारिक नियुक्ती होइन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *