पार्टीको लागि भन्दा पनि विकासको लागि काम गर्छुः दाहाल – Nepal Press

पार्टीको लागि भन्दा पनि विकासको लागि काम गर्छुः दाहाल

राैतहट । रौतहटको चन्द्रपुर नगरपालिका पूर्वपश्चिम राजमार्गले छोएको मधेस प्रदेशकै प्रख्यात नगरपालिका हो । रौतहट पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गृहजिल्ला हो । सदरमुकाम गौर नगरपालिका र व्यापारिक क्षेत्र गरुडा नगरपालिकाभन्दा चन्द्रपुरले छुट्टै पहिचान बनाएको छ । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा चन्द्रपुरमा कस्तो नतिजा आउला ? यो नगरमा केही दलले गठबन्धन गरेका छन् । अधिकांश मित्रवत प्रतिस्पर्धामा छन् । यसैमा बाबुराम दाहाल नेकपा एकीकृत समाजवादीबाट चन्द्रपुरको मेयर उम्मेदवार छन् । उनै बाबुराम दाहालसँग गरिएको कुराकानी नेपाल टकमा ।

– चन्द्रपुरको मेयरमा तपाईंको उम्मेदवारी किन ?

संविधानले परिभाषित गरेअनुसार स्थानीय तहलाई कार्यान्वयन गराउन हाम्रो उम्मेदवारी हो । न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको भूमिकालाई मिलाएर लान हामीले उम्मेदवारी दिएका हौं । यो चन्द्रपुर नगरपालिकालाई समृद्ध बनाउन यहाँको स्वास्थ्य, शिक्षा, कृषिको क्षेत्रमा योजनाबद्ध ढंगले काम गर्न हामी आएका हौं । हामीसँग स्पष्ट योजना भएका कारण पनि हामी हाम्रो पार्टी ‘कलम’ चिन्हको नेतृत्व निर्वाचित हुनुपर्छ भनेर हामी लागेका छौं ।

– चन्द्रपुरलाई समृद्ध बनाउने, तपाईंका मुख्य योजनाहरु के–के छन् ?

हाम्रा तीन मुख्य योजनाहरु छन् । अहिले यहाँ स्वास्थ्य अवस्था जटिल छ । भएको सरकारी अस्पतालको सेवा राम्रो छैन । त्यसको सेवा सुधार गर्न मेयरको भूमिका निकै ठूलो हुन्छ । हामीले ६ महिनाभित्र विशेषज्ञसहितको अस्पताल बनाउने, क्षमतावान शिक्षक सरकारी विद्यालयमा नियुक्त गर्ने, चन्द्रपुरको परिवेशअनुसार भौतिक पूर्वाधारको विकास गर्नेछौं । वर्गीय हिसाबले गरिबका लागि पनि हामी काम गर्छौं ।

यो उर्बर भूमि हो । यहाँ व्यवसायिक खेती र पशुपालन सम्भव छ । त्यस्ता व्यवसायीलाई स्थानीय सरकारले सघाउन जरुरी छ । हामीले त्यहाँ दिनुपर्ने अनुदान दिन्छौं, वडा नम्बर ५ मा भूमिगत सिंचाइको व्यवस्था गर्छौं । सबैतिर बाग्मती सिंचाइको पानीले काम गर्दैन । हामीले हाम्रो अधिकार क्षेत्रको राम्रो प्रयोग गर्छौं । सुकुम्बासीहरुको व्यवस्थापन पनि हामी गर्छौं । प्रदेश र स्थानीयमात्र नभई केन्द्रीय सरकारले पनि यसमा सघाउन जरुरी छ । भूमिहीन र सुकुम्बासीले फर्म भर्नुभएको छ, उहाँहरुलाई हामीले सघाउनु छ ।

– चन्द्रपुरको दशै वडाको अवस्था एकैखालको छैन, भौगोलिक, जातजातिको बसोबास, धर्म–संस्कृतिको विविधता छ । तपाईं निर्वाचित हुनुभयो भने समग्र विकास निर्माणलाई के कसरी अगाडि बढाउनु हुन्छ ?

यहाँ बहुभाषिक, बहुधार्मिक नागरिकहरु हुनुहुन्छ । हामी उहाँहरुको समानुपातिक विकासका लागि काम गर्छौं ।

– यहाँ एकीकृत समाजवादीको संगठन बलियो छैन भनिन्छ, तपाईंसँग चुनाव जित्ने आधार के छ ?

संगठनको कुरा अन्त लागू हुनसक्छ । तर, रौतहट र चन्द्रपुरमा सो कुरा गलत हुन्छ । यहाँ हाम्रो अवस्था राम्रो छ । म विश्वास दिलाउन चाहन्छु, हाम्रो जीत निश्चित छ ।

– विगतमा नेकपा एमाले एउटै हुँदासमेत चन्द्रपुरमा तपाईंहरुले जीत निकाल्न सक्नुभएको थिएन । अहिले विद्रोह गरेर नयाँ पार्टी बनाउनुभएको छ, जीतप्रति कतिको विश्वस्त हुनुहुन्छ ?

सांगठनिक हिसाबले हाम्रो उपस्थिति र सक्रियता दशैवटा वडामा छ । हामी मेहनत गर्न तयार छौं । अरु फरक पार्टीका मान्छे पनि काम गर्ने मान्छेको खोजीमा छन् । व्यापारी, विद्यार्थी र बौद्धिक वर्गले मलाई सर्मथन गर्नु भएको छ । अहिले सबै जनालाई मैले पार्टीको लागि भन्दा पनि विकासको लागि काम गर्छु भनेको छु । मैले काम प्राथमिकताको आधारमा गर्छु र नेतृत्वको अपनत्व सबैलाई गराउनेछु । यो कुरा अहिले चोक र चिया पसलमा हुने राजनीतिक गफमा पनि सुन्न सकिन्छ ।

– केन्द्रमा गठबन्धनको सरकार छ । स्थानीय तह निर्वाचनमा पनि देशैभर गठबन्धन गर्ने निर्देशन थियो । चन्द्रपुरमा त्यो किन सम्भव भएन ?

चन्द्रपुरमा प्रयास नगरिएको होइन । तर, गर्दागर्दै पनि गठबन्धन सम्भव भएन । हामी आ–आफ्नो हिसाबले चुनाव लड्ने र मित्रवत प्रतिस्पर्धा गर्ने निष्कर्षमा पुग्यौँ । निर्वाचनमा हारे पनि जिते पनि हामीले जनताको काम गर्ने हो । त्यसैले हारे पनि जिते पनि पक्ष विपक्ष दुवैको लागि काम गर्न सक्नुपर्छ ।

– चन्द्रपुरका जनताको नजरमा अरु उम्मेदवारभन्दा तपाईं के कारण अब्बल हुनुहुन्छ ?

पहिलो कुरा म राजनीति र समाजसेवा दुवैमा छु । म विद्यालय व्यवस्थापक, फुटबल खेलाडी, सामुदायिक वन महासंघको जिल्ला अध्यक्ष र जनज्योति बहुमुखी क्याम्पसमा पनि आवद्ध छु । क्याम्पसका कर्मचारीले तलब नपाएको अवस्थमा हामीले तलब दिने बनायांै । १८ वटा नयाँ सटर पनि थप्यौं । मैले विभिन्न संघसंस्थामा गरेको नेतृत्वबाट म अब्बल साबित भएको यहाँका जनताले राम्ररी अनुभव गर्नुभएको छ । अरु पार्टीका प्रतिस्पर्धीहरुले केही न केही गर्नुभएकै छ । तर, सर्वसाधारणको बुझाइमा नगरपालिकालाई सबल ढंगले चलाउने ल्याकत बाबुराम दाहालमा मात्रै छ भन्ने छ, नपत्याए तपाईंले स्थानीयस्तरमा जनमत पनि बुझ्न सक्नुहुन्छ ।

– तपाईंको खास प्रतिस्पर्धा कुन पार्टीका उम्मेदवारसँग हुने आँकलन गर्नु भएको छ ?

हामी घरदैलोमा हिँडिरहेका छौं । अहिले चन्द्रपुर नगरपालिकाका लागि कलम चिन्ह र बाबुराम दाहालको नाम लिइहरनु भएको छ । हामी कडा प्रतिस्पर्धामा छौं । धेरै ठूलो अन्तरको हारजित हुँदैन ।

– चुनावमा जालझेल, साम, दाम, दण्ड, भेद सबै प्रयोग हुने गर्छ । यस्तो परिस्थितिलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?

मैले सबै साथीहरुलाई संघर्षबाट पाएको उपलब्धिलाई झै–झगडामा परिणत नगरांै भनिरहेको छु । हामी मित्रवत प्रतिस्पर्धा गर्छौं । अहिलेसम्म हामी मित्रवत ढंगले अघि बढेका छौं । हामी यही रुपमा अघि बढ्छौं । वैरभाव साध्ने र दुस्मनी गर्दैनौं । गर्नु हुन्न भनेका छौं ।

– रौतहटको चन्द्रपुरलाई तपाईंहरुको पार्टी अध्यक्ष माधवकुमार नेपालको गृहनगरका रुपमा हेरिन्छ । यो निर्वाचनले चन्द्रपुरमा उहाँको साख जोगिएला ?

पूर्वप्रधानमन्त्रीको गृह नगरको रुपमा चन्द्रपुर परिचित छ । हामीलाई उहाँको नाम जोडिँदा निकै गर्व लाग्छ । उहाँले धेरै मेहनत गर्नुभएको छ । अस्ति उहाँ आउनुभयो । फेरि आउने कुरा पनि छ । अहिले हाम्रोभन्दा पनि राम्रोलाई नै जिताउनु पर्छ भन्नेमा सबैजना हुनुहुन्छ भन्ने हो । मैले अन्य राजनीतिक दलका साथीका कुरा पनि सुनिरहेको छु । उहाँहरुको राम्रो कुरा म पनि सिक्छु ।

– तपाईंले कति मतान्तरले चुनाव जित्नु हुन्छ, केही आँकलन गर्नु भएको छ ?

समग्रमा हेर्दा हामी दुई वडाबाहेक ८ वटा वडामा राम्रो छौं । अहिले १० वटा वडामध्ये ८ वटामा राम्रो हुनु पनि राम्रो हो । हामी दुई हजारदेखि २ हजार ५ सय मतान्तरले विजयी हुन्छौं । दश वडामा हाम्रो बहुमत आउने सम्भावना छ ।

– अन्त्यमा, मतदाताहरुलाई केही भन्न चाहनुहुन्छ ?

म आम मतदातालाई के अनुरोध गर्छु भने अहिले उम्मेदवार त धेरै जना तपाईंको घरमा आउनु भएको छ । स्वास्थ्य राम्रो बनाउनेका कुरा गरे भने तपाईंका बुबाआमा कहाँ छन् र शिक्षा राम्रो बनाउने भन्नेलाई तपाईंका छोराछोरी कहाँ छन् भनेर प्रश्न गर्नु होला । हिजो यहीको सामुदायिक विद्यालय ध्वस्त पार्नेहरु अहिले विद्यालय राम्रो पार्ने भनिरहेका छन् । स्थानीय सरकारले दिएको ऐन–कानुनको प्रयोग नगर्नेहरुलाई पाँच वर्षका लागि समय खेर जान भोट दिने होइन । अहिले मतदाताले निधार खुम्च्याएर सोचेर मत दिनु आवश्यक छ । अहिले ठूलो संख्यामा मतदाता हुनुहुन्छ । पचास प्रतिशत मतदाता युवाहरु हुुनुहुन्छ । युवाहरुले ‘कलम छाप’ मा विश्वास गर्नुभएको हामीले पाएका छौं । म मतदाताहरुलाई उहाँहरुले दिएको भोट खेर नजाने हिसाबले काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु । अहिले दिएको भोटले भविष्य निर्धारण गर्ने भएकाले मतदाताले आफूले दिएको भोट आफ्नै लागि हो भनेर सोचिदिनु होस् भन्ने पनि आग्रह गर्न चाहन्छु ।

अन्त्यमा चन्द्रपुरवासीले कलम छापमा भरोसा गर्नु भएको कुरा हामीलाई थाहा छ । उहाँहरुको भरोसालाई पूरा गर्न मेहनत गर्ने छौं । म सबै मतदाताहरुलाई हाम्रोलाई भन्दा पनि राम्रोलाई भोट हाल्नुस् भन्न चाहन्छु । त्यसका लागि ‘कलम चिन्ह’ ले तपाईंहरुको साँच्चै हित गर्ने कुरा विश्वास दिलाउन चाहन्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर