ललितपुरमा नेकपा एस एक्लियो: कतै कांग्रेस-माओवादी तालमेल, कतै एक्लाएक्लै भिडन्त – Nepal Press
स्थानीय चुनाव

ललितपुरमा नेकपा एस एक्लियो: कतै कांग्रेस-माओवादी तालमेल, कतै एक्लाएक्लै भिडन्त

काठमाडौं । ६ स्थानीय तह रहेको ललितपुर जिल्लामा महानगरबाहेकका पाँच तहका लागि सुरुमा गठबन्धनका लागि जिल्लास्तरमै छलफल भएको थियो । छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी (एस) सहभागी थिए ।

छलफल सहमतिनजिक पुगेको थियो । जसअनुसार वडाहरूको भागबन्डा लगभग टुंगिसकेको थियो भने पालिकामा सहमति जुट्न बाँकी थियो ।

छलफलमा महानगरबाहेक अघिल्लो निर्वाचनमा कांग्रेसले जितेको गोदावरी नगरपालिका र बागमती गाउँपालिका कांग्रेसलाई र माओवादी केन्द्रले जितेको कोन्ज्योसोम गाउँपालिका माओवादी केन्द्रलाई दिने लगभग सहमति भएको थियो । तर, एमाले जितेको महालक्ष्मी नगरपालिका र महाँकाल गाउँपालिकामा तिनवटै दलले दाबी गरेपछि सहमति भाँडियो ।

त्यसपछि जिल्ला तहहरुले त्यसलाई मिलाउने जिम्मा प्रदेश समितिहरूलाई दिए । तीन दलको प्रदेशस्तरीय समितिमा पनि कुरा मिल्न सकेन । अन्तिममा कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ र माओवादी केन्द्रका प्रदेश अध्यक्ष सरल सहयात्रीले अलग्गै सहमति गरे ।

सहमतिअनुसार महानगरबाहेक बाँकी रहेका तीन स्थानीय तहमध्ये एकमा कांग्रेस र दुईमा माओवादी केन्द्रले नेतृत्व पाउने भए ।

यो सहमतिअनुसार जिल्लामा नेकपा एस एक्लिएको छ । त्यसकारण नेकपा एसका नेताहरू चिढिए । ‘जिल्लामा सहमतिनजिक पुगेका हामीलाई उहाँहरू (माओवादी केन्द्र र कांग्रेस)ले बाहिर राखेर प्रदेशबाट कथित सहमति गर्नुभयो’, नेकपा एसका जिल्ला इन्चार्ज अमृतमान तिमिल्सिनाले भने, ‘हामी अझै पनि सहमतिको कुरा गरिरहेका छौं । सबै ठाउँमा हामीले उम्मेदवारी पनि दिएका छैनौं । सहमति हुनसक्ने ठाउँमा दिएका छौं ।’

सहमति जुटे अझै पनि केही ठाउँमा पुनर्विचार गर्न सकिने उनले बताए । यसरी गठबन्धनभित्रको विवादले एमालेलाई केही राहत भएको छ । तर, माओवादी केन्द्र र कांग्रेसबीच भएको तालमेल पूर्णरूपमा कार्यान्वयन भए जोखिम भने उत्तिकै छ । यहाँका सबै स्थानीय तहमा एमाले एक्लै चुनावमा गएको छ ।

एक्लै गए पनि जिल्लाका ६ वटै तहमा आफ्नो पार्टीले जित्ने सुनिश्चित रहेको एमाले केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज सुशीला नेपालले दाबी गरिन् । ‘हामी ६ वटै तहमा मज्जाले जित्छौं । स्वार्थी गठबन्धनलाई जनताले परास्त गर्छन्’, उनले भनिन्, ‘एमालेले उठाएका जनमुखी काम र राष्ट्रवादी कदमलाई जनताले मूल्यांकन गरेका छन् ।’

अघिल्लो निर्वाचनमा यहाँ कांग्रेसले तीन, एमालेले दुई र माओवादी केन्द्रले एक स्थानीय तह जितेका थिए । यसपटकका कस्तो नतिजा आउला ? मतपरिणामसम्म कुर्नैपर्ने हुन्छ ।

महानगरमा एसले केन्द्रको सहमति पालना गर्ने

ललितपुर महानगरपालिकामा अघिल्लोपटक एमाले र राप्रपाका बीचमा चुनावी तालमेल भएको थियो । तालमेलअनुसार एमालेका हरिकृष्ण ब्यञ्जनकार मेयरमा लडेका थिए भने राप्रपाका बाबुकाजी प्रधान उपमेयरमा उठेका थिए ।

एमाले उम्मेदवार ब्यञ्जनकारका लागि त्यो तालमेल पनि पर्याप्त बन्न सकेन । उनी कांग्रेसका चिरिबाबु महर्जनसँग ३२६ मतले पछि परे । महर्जनले २४ हजार ६४२ मत बटुल्दा व्यञ्जनकारले २४ हजार ३१६ मत पाएका थिए । मेयरमै अर्का प्रतिस्पर्धी तत्कालीन रवीन्द्र मिश्रको साझा पार्टी समर्थित स्वतन्त्र उम्मेदवार रमेश महर्जनले १३ हजार ४५८ मत ल्याउँदा माओवादी केन्द्रका दिनेश महर्जनले १० हजार ६६१ मत ल्याएका थिए ।

उपमेयरमा भने राप्रपा उम्मेदवार प्रधानलाई एमालेले धेरै मत दिएको देखिएन । उनी १० हजार ५४० मतमात्रै ल्याएर चौथो स्थानमा रहँदा कांग्रेसकी गीता सत्याल १९ हजार ८१९ मतसहित विजयी भएकी थिइन् । दोस्रोमा साझा पार्टी समर्थित स्वतन्त्र उम्मेदवार शोभा शाक्यले १४ हजार २४० मत ल्याएकी थिइन् । तेस्रोमा माओवादी केन्द्रकी हसिना शाक्यले १२ हजार ९७९ मत प्राप्त गरेकी थिइन् ।

यसपटक पनि मेयरमा यहाँ पुरानै दुई उम्मेदवारहरू कांग्रेसका चिरिबाबु र एमालेका हरिकृष्णबीच प्रतिस्पर्धा दोहोरिएको छ । चिरिबाबु सत्तारूढ गठबन्धनका साझा उम्मेदवार हुन् । अघिल्लो पटक राप्रपाबाट सहयोग पाएका व्यञ्जनकार यसपटक एक्लै छन् । उनीहरूबाहेक राप्रपाका अष्टबहादुर महर्जन र विवेकशील साझाबाट उज्ज्वलकृष्ण श्रेष्ठ मेयर उम्मेदवार छन् ।

तर निर्णायक प्रतिस्पर्धा पूर्वप्रतिस्पर्धीहरू चिरिबाबु र हरिकृष्णकै बीचमा हुने स्पष्ट देखिएको छ । चिरिबाबुलाई अघिल्लो निर्वाचनमा १० हजार ६ सयभन्दा बढी मत बटुलेको माओवादी केन्द्रसहित एमाले फुटेर बनेको नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाको साथ छ । यसबाहेक उनले आफूले मेयर निर्वाचित भएपछि गरेको कामले पनि मतदाता बढेको दाबी गरिरहेका छन् ।

यता हरिकृष्णका लागि भने पुरानो मत जोगाउँदै नयाँ मतदाता, अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारले तानेको मत र चिरिबाबुसँग असन्तुष्ट मतको भर पर्नुपर्ने अवस्था छ ।

अघिल्लो स्थानीय तह निर्वाचनमा यहाँ एकलाख १२ हजार ९२३ मतदाता थिए । जसमध्ये ८७ हजार ४८ मत खसेको थियो । यसपटक नौ हजार ९६७ मत थपिएर एकलाख २२ हजार ८९० पुगेको छ ।

जिल्लाका अन्य स्थानीय तहमा एक्लिएको नेकपा एसले यहाँ केन्द्रीय सहमति पालना गरेर कांग्रेसका मेयर र माओवादीका उपमेयरलाई सघाउने जनाएको छ । ‘जिल्लामा हामीलाई गठबन्धनको भावनाभन्दा बाहिर राखे पनि महानगरमा केन्द्रको सहमतिभन्दा बाहिर जाँदैनौं’, नेकपा एसका जिल्ला इञ्चार्ज तिमिल्सिनाले भने, ‘वडाध्यक्षमा हामीले पनि उम्मेदवारी दिएका छौं । मेयर÷उपमेयरमा गठबन्धनलाई सघाउँछौं ।’
यहाँ गठबन्धन दलहरूभित्र एउटा वडामा जनता समाजवादीलाई दिनेबाहेक बाँकीमा सहमति नजुट्दा एक्लाएक्लै चुनावमा गएका छन् ।

महालक्ष्मीमा कांग्रेस-माओवादी केन्द्र तालमेल

अघिल्लो निर्वाचनमा महालक्ष्मी नगरपालिकामा एमालेले एकलौटी जीत निकालेको थियो । मेयर र उपमेयरसहित १० वटा वडामध्ये ८ वटामा एमालेले जितेको थियो ।

मेयरमा एमालेका रामेश्वर श्रेष्ठले ८ हजार ८०५ मतसहित विजयी हुँदा कांग्रेसका महेश खड्काले ७ हजार ७६४ मत पाएका थिए । माओवादी केन्द्रका शिवप्रसाद कट्टेलले ४ हजार ३०० मत ल्याउँदा राप्रपाका आनन्द अधिकारीले एक हजार ५५७ मत ल्याएका थिए ।  उपमेयरमा एमालेकी निर्मला थापाले ८ हजार ६३६ मतसहित विजयी हुँदा कांग्रेसकी ६ हजार ३०२ मतसहित दोस्रो भएकी थिइन् ।

यसपटक एमालेलाई चुनौती दिन कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन् । मेयरमा माओवादीका शिवप्रसाद कट्टेल र कांग्रेसबाट उपमेयरमा लक्ष्मी महर्जन उम्मेदवार बनेका छन् । नेकपा एसका नकुल थापा मेयरमा एक्लै चुनाव लडेका छन् ।

एमालेले यसपटक मेयरमा हरिगोविन्द श्रेष्ठ र उपमेयरमा वीणा सुवेदीलाई उम्मेदवार बनाएको छ । राप्रपाबाट मेयरमा प्रवीण खत्री र उपमेयरमा रामदेवी महर्जन उम्मेदवार छन् ।

यसपटक यहाँ सत्तारूढ दलहरूबीच सबैभन्दा बढी विवाद भएको थियो । नेकपा एसले यहाँको मेयरलाई आफ्नो प्रतिष्ठासँग जोडेको थियो । तर, उसलाई यहाँको नेतृत्व छाड्न माओवादी केन्द्र र कांग्रेस दुवै तयार भएनन् । ‘उहाँहरूले जित्ने आधार पनि त हुनुप¥यो । अघिल्लो पटकको मत परिणामअनुसार यहाँ हाम्रो दाबी रहनुपथ्र्यो’, कांग्रेसका जिल्ला सचिव वशिष्ठ अधिकारी भन्छन्, ‘तर, गठबन्धनअनुसार हामीले यहाँको मेयर माओवादीलाई छाड्यौं । एसभन्दा माओवादीलाई यहाँ जित्न सजिलो पनि छ ।’

उता नेकपा एसले भने यहाँको मेयर आफूलाई छाडे अझै पनि सहमतिको सम्भावना रहेको बताएको छ । ‘हाम्रो बटमलाइन भनेकै महालक्ष्मीको मेयर हो । त्यसैले मिल्ने गरी हामीले त्यहाँ केन्द्रको सल्लाहअनुसार मेयरमा मात्रै उम्मेदवारी दिएका छौं’, जिल्ला इञ्चार्ज तिमिल्सिनाले भने, ‘यहाँ मेयर हामीलाई दिए जिल्लाभरि हामी गठबन्धनलाई सहयोग गर्न तयार छौं ।’

यहाँको मेयर एक्लै पनि जित्न सक्ने उनको दाबी छ । उनी भन्छन्, ‘यहाँ माओवादी–कांग्रेस गठबन्धन अहिले पनि तेस्रो हो । पहिलोमा हामी, दोस्रो एमाले र तेस्रो उहाँहरू हो ।’

गोदावरीमा माओवादीले दुवै पद कांग्रेसलाई छाड्यो

गोदावरी नगरपालिकामा पनि कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ । माओवादी केन्द्रले मेयर र उपमेयर दुवै पद कांग्रेसलाई छाडेको छ । जसमा कांगेसले मेयर/उपमेयरमा अघिल्लो पटक विजयी उम्मेदवारलाई नै दोहोर्‍याएको छ ।

अघिल्लो निर्वाचनमा मेयरमा कांग्रेसका गजेन्द्र महर्जन १३ हजार ८२० मत ल्याएर विजयी भएका थिए । उपमेयरमा कांग्रेसकै मुना अधिकारी १२ हजार ७७९ मतसहित विजयी भएकी थिइन् ।

मेयरमा एमालेका श्यामकृष्ण सिलवालले ११ हजार ८७ मत पाएका थिए । उनी एमाले छाडेर यसपटक नेकपा एसबाट उपमेयरका उम्मेदवार भएका छन् । जसमा उनलाई उपमेयर छाड्न कांग्रेसलाई नेकपा एसले दबाब दिइरहेको छ ।

अघिल्लो पटक मेयरमा माओवादीका गोविन्द महर्जनले ५ हजार ६७० मत ल्याउँदा राप्रपाका कृष्णबहादुर देसारले ३ हजार १२७ मत ल्याएका थिए ।

यसपटक एमालेले गम्भीरबहादुर रानालाई मेयर उम्मेदवार बनाएको छ । उपमेयरमा रमी प्रधानाङ्ग उम्मेदवार छिन् । राप्रपाले मेयरमा राजकुमार महर्जन र रञ्जिता श्रेष्ठलाई उपमेयरमा उठाएको छ ।

कोन्ज्योसोममा माओवादीको दोहोर्‍याउने रणनीति

कोन्ज्योसोम गाउँपालिकाको अध्यक्षमा अघिल्लो पटक माओवादी केन्द्रका उम्मेदवार गोपीलाल सिताङ एकहजार ७९८ मतसहित निर्वाचित भएका थिए । कांग्रेसका राजनप्रसाद घिमिरेले एकहजार ७३२ सहित दोस्रो हुँदा एमालेका कृष्णमान लामाले एकहजार ४७८ मतसहित तेस्रो भएका थिए ।

यसपटक यहाँ माओवादी केन्द्रले सिताङलाई नै दोहोर्याएर उम्मेदवार बनाएको छ । उनलार्ई कांग्रेसले समेत समर्थन गरेको छ । यसकारण उनको दोहोरिने सम्भावना प्रबल बनेको छ ।

सिताङलाई एमालेका कृष्णमान तामाङले चुनौती दिँदै छन् । राप्रपाले मानबहादुर तामाङलाई अध्यक्षमा उठाएको छ । उपाध्यक्ष सत्तारूढ गठबन्धनबाट कांग्रेसले पाएको छ । जसमा राजनप्रसाद घिमिरे उम्मेदवार बनेका छन् । एमालेले उपाध्यक्षमा रीता लामा उम्मेदवार बनाएको छ ।

बागमतीमा गठबन्धन हुँदा एमालेलाई थप कठिन

अघिल्लो निर्वाचनमा बागमती गाउँपालिकामा कांग्रेसका वीरबहादुर लोप्चन ३ हजार ३८८ मतसहित निर्वाचित भएका थिए । उनीसँग एकहजार १३६ मत पछाडि परेका दुर्गाप्रसाद घिमिरेले २ हजार २५२ मत पाएका थिए ।

एक्लै भारी भएको कांग्रेसमा झन् यसपटक माओवादी केन्द्र मिसिएको छ । अघिल्लो पटक माओवादी केन्द्रका राजु आलेमगरले एकहजार ६४२ मत पाएका थिए ।

यसपटक यहाँ अध्यक्षमा कांग्रेसका निवर्तमान अध्यक्ष लोप्चन नै उम्मेदवार छन् । उपाध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर दर्लामी मगर उम्मेदवार छन् ।

एमालेबाट नवराज सञ्जेल अध्यक्ष र नमुना दोङ उपाध्यक्ष उम्मेदवार छन् । राप्रपाले अध्यक्षमा सानु महर्जन र उपाध्यक्षमा अम्बिका न्यौपाने घिमिरेलाई उम्मेदवार बनाएको छ ।

महाँकालको अध्यक्षमा आ-आफ्नै उम्मेदवार

अघिल्लो पटक महाँकाल गाउँपालिकामा एमालेले सहज जीत निकालेको थियो । एमालेले अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडामा जितेको थियो ।

एमालेका रामचन्द्र दाहाल २ हजार ८० मतसहित निर्वाचित भएका थिए । कांग्रेसका भीमसेन घिमिरेले एकहजार ७२२ मत पाउँदा माओवादी केन्द्रका बुद्धबहादुर नेगीले ९२८ मत पाएका थिए ।

उपाध्यक्षमा एमालेकै कमला लामा तामाङ २ हजार २९३ मतसहित विजयी हुँदा ६ वटा वडामध्ये ४ मा एमाले र एक÷एकमा कांग्रेस र माओवादी जितेका थिए ।

यसपटक यहाँ अध्यक्षमा एमालेका कमला लामा तामाङ, कांग्रेसका गणेश केसी, माओवादी केन्द्रका भगीरथ तिमिल्सिना, नेकपा एसका राजनप्रसाद बञ्जारा र राप्रपाका सुरेश घिमिरे उम्मेदवार छन् ।

उपाध्यक्षतर्फ एमालेले पुरुषोत्तम हुमागाईंलाई उम्मेदवार बनाएको छ । कांग्रेसले उम्मेदवारी नदिँदा माओवादी केन्द्रबाट डोल्मामाया गोले, नेकपा एसबाट रुजिना दुलाल र राप्रपाबाट सन्चमाया सिंगार उम्मेदवार छन् ।

कांग्रेस–माओवादी तालमेलअनुसार यहाँ अध्यक्षमा माओवादीले कांग्रेसलाई छाड्नुपर्ने हो । तर, माओवादी केन्द्रका तिमिल्सिनाले पनि उम्मेदवारी दिएपछि केही विवाद देखिएको छ ।

यहाँ अन्तिमसम्म आफ्ना उम्मेदवार तिमिल्सिनाले वक्तव्यबाट भए पनि कांग्रेसका केसीलाई समर्थन गर्ने अवस्था आउनसक्ने माओवादी केन्द्रका जिल्ला इञ्चार्ज हरि दाहालले बताए । उनले भने, ‘छलफल भइरहेको छ । अन्तिममा हाम्रो अध्यक्ष उम्मेदवारले कांग्रेस उम्मेदवारलाई समर्थन गर्नुपर्ने अवस्था पनि आउनसक्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर