मतदान केन्द्रमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन नहुने – Nepal Press

मतदान केन्द्रमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन नहुने

काठमाडौं । स्थानीय तहको निर्वाचनको दिन वैशाख ३० मा मतदान केन्द्रमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन नहुने भएको छ ।

मतदान स्थलहरूमा स्वास्थ्यकर्मीहरू समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि भोट हाल्नुपर्ने भएकाले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालनमा कठिनाइ हुने भएकोले सो दिन खोप कार्यक्रम सञ्चालन नहुने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचको दिन खोप अभियान सञ्चालन गर्न समस्या हुने बताएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन सम्पन्न गर्न मतदान स्थलहरूमा स्वास्थ्यकर्मीहरू समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने हुनाले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालनमा कठिनाई हुने भएकोले सो दिन खोप सञ्चालन नहुने जानकारी गराइन्छ।’

निर्वाचन अघि र पछिका दिनहरूमा खोप केन्द्रहरूमा कोभिड १९ विरुद्ध नियमित खोप अभियान सञ्चालन हुने जनाएको छ ।

यसअघि मन्त्रालयले मतदान केन्द्रमा कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गर्ने बताएको थियो । तर निर्वाचन आयोगले उक्त कार्यक्रम मतदानस्थलमा सम्भव नहुने जानकारी मन्त्रालयलाई गराएको थियो ।

यस्तै मन्त्रालयले छिमेकी मुलुकहरूमा पछिल्ला दिनहरूमा संक्रमण बढ्दै गएकाले नेपालमा पनि जोखिम बढ्ने संभावना भएकाले सतर्क रहँदै निर्वाचनको दिन जनस्वास्थ्यका मापदण्डहरूको ख्याल गर्न आग्रह समेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर