विद्यार्थी नेताको बकपत्र- हाम्रा सपनाको हत्या गर्ने आठवर्षे क्रान्तिकारी रोमान्स – Nepal Press
विचार

विद्यार्थी नेताको बकपत्र- हाम्रा सपनाको हत्या गर्ने आठवर्षे क्रान्तिकारी रोमान्स

टुटफुट र विभाजनको शृङ्खला रोक्न नसकिने स्थिति आज विश्व कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएको छ । विभाजनको शृङ्खला संसदमा भासिएका कम्युनिस्टभन्दा बढी क्रान्तिको मोर्चा सम्हाल्ने भनेर अगाडि बढेका कम्युनिस्ट पार्टीमा बढी देखिने गरेको छ । क्रान्तिको नारा दिने तर पुरानै भत्किसकेको र बिग्रिएकै कम्युनिस्ट स्कूलको जग रंगीचंगी आधार र संरचना खडा गर्दा आजको यो दुर्गती भोग्नु परेको छ ।

माओवादी पार्टीका मुख्य नेता र नेतृत्वकर्ता पुष्पकमल दाहाल कमरेड ‘प्रचण्ड’मा आएको राजनीतिक, सैद्धान्तिक विचलनले माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि संसदीय भासमा भासिन पुग्यो । त्यसपछि माओवादी आन्दोलन टुटफुट र विभाजनतिर अगाडि बढ्यो ।

ठूलो पैमानमा माओवादी आन्दोलनको विभाजन २०६९ सालमा क. मोहन वैद्य ‘किरण’को नेतृत्व भयो । झण्डै दुई वर्ष नपुग्दै कमरेड किरण नेतृत्वको नेकपा–माओवादी पनि तत्कालीन पार्टी सचिव नेक्रविक्रम चन्द क.‘विप्लव’को नेतृत्वमा फेरि विभाजन हुन पुग्यो ।

विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी फेरि झण्डै आठ वर्षपछि विभाजित भएको छ । पार्टी विभाजनबारे १२ औं पूर्ण बैठकबाट खारेज भएको चुनाव उपयोगको प्रस्तावित कार्यनीति एउटा मुख्य आधार र बिस्फोटक बिन्दु भए पनि यसको पछाडि थुप्रै आधार र कारण छन् । यसबारे एउटा साधारण कार्यकर्ता र पार्टी सदस्यको हैसियतले यी आठ वर्षको समीक्षा यसरी गर्न सकिन्छ ।

संगठनबारे

कम्युनिस्टले संगठनको आम सिद्धान्तको रुपमा लेनिनवादी संगठात्मक सिद्धान्तलाई अबलम्बन गर्दछन् । वर्तमान समयमा कम्युनिस्ट आन्दोलनअन्तर्गत संगठनात्मक सिद्धान्तमा धेरै कुरा विकास गरेको देखिन्छ । नेपाल कम्युनिस्ट पार्टी निर्माणको आठ वर्षको समीक्षा गर्दा संगठनमा क.किरण नेतृत्वको नेकपा–माओवादीसंग छुट्टिँदा जति मात्राको संख्या थियो आज आठ वर्षपछि ठ्याक्कै त्यसको आधा मात्रै संगठन बचेको छ । पार्टी आन्दोलनबाट बाहिरिनेलाई जहिले पनि विज्ञप्तिका खोस्टा फाल्दै क्रान्तिबाट भागेको र विचलित भएको आरोपमा मनशान्ति गर्दै बस्ने संस्कारको विकास भयो ।

क.किरण नेतृत्वको नेकपा–माओवादीसंग छुट्टिँदा जति मात्राको संख्या थियो आज आठ वर्षपछि ठ्याक्कै त्यसको आधा मात्रै संगठन बचेको छ । पार्टी आन्दोलनबाट बाहिरिनेलाई जहिले पनि विज्ञप्तिका खोस्टा फाल्दै क्रान्तिबाट भागेको र विचलित भएको आरोपमा मनशान्ति गर्दै बस्ने संस्कारको विकास भयो ।

स्वाभाविक रुपमा क्रान्तिमा सबै टिक्छन् भन्ने छैन । तर, क्रान्तिकारी ध्रुवीकरणको नाममा एक प्रतिशत मान्छेको पनि केन्द्रीकरण हुन सकेन । पार्टीभित्र निरन्तर कार्यकर्ताको पलायनबारे कहिले पनि गम्भीर आत्मसमीक्षा भएको देखिएन र भए पनि त्यो रोक्ने कुनै विधि र नीति मूल नेतृत्वले अबलम्बन गर्न सकेन ।

उल्टै जबर्जस्त तरिकाले आफूले अगाडि सारेका विषयवस्तु मान्नुपर्ने, अन्यथा पार्टी छोडेर जाने ठाडो निर्देशन जहिले पनि चलिरह्यो । आठौं महाधिवेशनबाट निर्वाचित ६५ जनाको केन्द्रीय समितिबाट आजको दिन लगभग ३० हाराहारीको संख्या मात्रै त्यहाँ रहेको छ । मूलतः फरक मत राख्नेमाथि निषेधात्मक अधिभुतवादी डण्डा चलाइयो, जसको परिणाम आज विसर्जनमा गएर टुंगियो ।

आर्थिकबारे

सबै राजनीतिक दलका पार्टी संचालन गर्ने आफ्नै आर्थिक नीति, विधि र पद्धति हुन्छन् । जसमा कम्युनिस्ट पार्टीको आफ्नै आर्थिक नीति हुने गर्दछन् । नेपाल कम्युनिस्ट पार्टीले पनि विभिन्न पटक आर्थिक नीति अगाडि सार्यो र हामीले पढ्यौं, व्यवहारमा लागू हुन सकेन । पार्टीको आर्थिक परिचालन र व्यवस्थापनबारे मूल नेतृत्वले भाषणमा नेपालको सबैभन्दा सुदृढ पार्टी भने पनि त्यो हास्यास्पद मात्रै हो ।

वर्गीय मुक्तिको संघर्षमा भएको पार्टीभित्र आज आर्थिकसत्तामा रहेका मानिसको वर्ग परिवर्तन भएको कुरा घाम जत्तिकै छर्लङ्ग छ । पार्टीभित्र दुःख गर्नेले सधैं दुःख गरेको छ, जेलनेल सहेको छ, घाइते भएको छ, तर आर्थिक धन्दामा लागेको अर्को मान्छे सधैं मस्तीमा जीवन चलाइरहेको छ ।

पार्टीको एउटा इमान्दार कार्यकर्ता दुःख बिरामी हुँदा सामान्य उपचार खर्च पनि नपाएर रोगी भएर जीवन काटेको छ । चन्दाको धन्दामा लाग्नेहरुले बिरामी नहुँदा पनि प्रत्येक महिनाको आयव्ययमा उपचार खर्च रकम पास गराएका छन । यो सामान्य जस्तो लागे पनि एउटा गम्भीर र दृष्टिकोणसंग जोडिएको विषय हो ।

विशिष्ट परिस्थितिबाहेक पार्टीको केन्द्रीय सदस्यस्तरले चलाउनुपर्ने केन्द्रको अर्थ एउटै मान्छेको ठेक्का जस्तो हुने, पार्टीभित्र अमुक मान्छेको जीवन बहालवाला मन्त्री जस्तो भैराख्ने र अर्को त्यहींस्तरको नेताले भिख मागेजसरी खर्चको लागि गुहार्नुपर्ने विषय प्राविधिक मात्रै हुँदै होइन, यो पनि दृष्टिकोणको विषय हो ।

आठौं महाधिवेशनबाट निर्वाचित ६५ जनाको केन्द्रीय समितिबाट आजको दिन लगभग ३० हाराहारीको संख्या मात्रै त्यहाँ रहेको छ । मूलतः फरक मत राख्नेमाथि निषेधात्मक अधिभुतवादी डण्डा चलाइयो, जसको परिणाम आज विसर्जनमा गएर टुंगियो ।

पार्टी केन्द्रको आर्थिकसत्तामा एकाधिकार जस्तो विषयले पार्टीले जतिसुकै आर्थिक नीतिका खोस्टा फाले पनि ती आफैं खारेज भएका छन् । यसबारे पार्टीको मूल नेतृत्व जानकार भएर नै पार्टीलाई आत्मनिर्भर बनाउन उत्पादनको नीति ल्याएको हो जस्तो त लाग्यो । तर, पार्टी महासचिव विप्लवमा मात्रै सीमित हुन पुग्यो ।

पार्टीलाई आत्मनिर्भर बनाउने व्याख्याको अपव्याख्या गर्दै स्वयं व्यक्ति आत्मनिर्भर बन्ने, निजी जीवनतिर फर्किने, निम्न पुँजीवादी चिन्तनबाट ग्रसित हुने कुरा मुख्य बन्न पुग्यो । अर्को विषय जुन संस्थामाथि कारबाही गर्दा प्रतिबन्ध लाग्यो, त्यहींबाट आर्थिक लिएको कुरा पनि बाहिर आएको छ । यो असाध्यै लज्जास्पद कुरा हो ।

मूल नेतृत्वबाट कर लिने नीतिअन्तर्गत सहयोग लिएको जवाफ फर्काउने गरेको कुरा सुनियो । यो असाध्यै घृणित र दुःखलाग्दो कुरा हो । अन्ततः जुझारु अर्थवादमा मूल नेतृत्व फसेको कुरा आज पुष्टि हुन्छ । आज पार्टी विगटनको एउटा आधार यो पनि हो ।

कम्युनिस्ट संस्कृतिबारे

कम्युनिस्ट आन्दोलनको सबैभन्दा महत्वपूर्ण विषय नै कम्युनिस्ट संस्कृति निर्माणको हो । जसमा प्रायजसो सबै कम्युनिस्ट पार्टी असफल भएका छन् । विश्व कम्युनिस्ट आन्दोलनमा भएका क्रान्तिमा आ–आफ्नै खाले साँस्कृतिक मान्यता अगाडि बढाइएका थिए ।

यो पार्टी पुनर्गठन हुँदा पनि साँस्कृतिक क्रान्तिलाई पनि संगसँगै लैजाने उत्कृष्ट चाहना महासचिव कमरेड विप्लवले राख्नुभएको थियो । उहाँले बैठक र प्रशिक्षणमा भन्नुहुन्थ्यो, ‘एउटा असल र वास्तविक कम्युनिस्ट निर्माण गर्ने, कसैले साथ नदिए भर्खरका ठिटालाई लिएर भए पनि क्रान्ति गर्ने । तर, न त उहाँले असल र वास्तविक कम्युनिस्ट पार्टी निर्माण गर्न सक्नुभयो, न त उहाँले नयाँ पुस्ता अर्थात युवारुको साथ लिएर अगाडि बढने हिम्मत गर्नुभयो ।

पार्टीभित्र केन्द्रीय समितिमा गम्भीर खालका साँस्कृतिक विचलन आएका र विभिन्न घटनाक्रमले प्रमाणित भएका केन्द्रीय सदस्यलाई समेत उहाँले कारबाही गर्नसक्नु भएन । त्यस्ता पात्र र प्रवृत्तिलाई उल्टै हर्ताकर्ता बनाएर राख्नुभयो । पार्टीभित्र बढ्दै गएको गम्भीर खाले साँस्कृतिक विचलनलाई जहिले पनि नजरअन्दाज गर्दै अगाडि बढ्ने कुराले आज यो परिस्थिति निर्माण भएको देखिन्छ ।

आजभन्दा केही महिनाअगाडि विप्लवको कार्यदिशा असफल भैसकेको र महाधिवेशनमा नयाँ ढंगबाट सोच्नुपर्छ भन्नेहरु आज विप्लवको गुणगान र भक्तिगान गाइरहेको सुन्दा कस्तो संस्कृति निर्माण भयो भन्ने प्रष्ट हुन्छ ।

निर्वाचन उपयोगको कार्यनीतिबाट सिर्जित घटनाक्रम

यसअन्तर्गत संसदीय व्यवस्थाभित्र निर्वाचन उपयोगको कार्यनीति सैद्धान्तिक बहस अहिले आवश्यक देखिन्नँ । किनकि क. विप्लवले बैठकमा प्रस्तुत गरेको चुनाव उपयोगको कार्यनीति खारेज भएको कुराबारे हामी सबै जानकार नै छौं ।

पार्टी केन्द्रीय समितिको १२ औं पूर्ण बैठकमा तत्कालीन महासचिव कमरेड विप्लवले स्थानीय तहको निर्वाचन उपयोगको कार्यनीति ल्याउनुभयो । सचिवालयमा एकमत हुन नसकेपछि केन्द्रीय समितिको बैठकमा लिएर जानुभयो । त्यहाँ झन् दुईतिहाइ बहुमत त्यसको विपक्षमा उभियो ।

त्यसपछि कमरेड विप्लवले उक्त प्रस्ताव फिर्ता गरेर बहुमतको कदर गर्दै चुनाव उपयोग नगर्ने तर, एमसिसीविरोधी मान्छेलाई समर्थन गर्ने र एमसिसीविरोधी मान्छे पठाउन सकिने मध्यमार्गीस्तर निर्णय पारित गराउनुभयो । निर्णय गरेको कलमको मसी नसुक्दै चितवन प्रशिक्षणमा चुनावी कार्यनीतिकै व्याख्यामा समय खर्चिनुभयो ।

पार्टी निर्णयविपरीत केन्द्रीय सदस्यलाई चुनावमा पठाउन छलफल चलाउने र उम्मेदवार बनाएर पठाउने काम गर्नुभयो । पार्टी र जनवर्गीय संगठनका प्रशिक्षणमा क. धमेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई निषेध गर्दै एकपक्षीय रुपमा चुनावी कार्यनीतिको व्याख्या गर्दै कार्यकर्ता प्रशिक्षित गर्दै हिँडनुभयो । जुन कुरा कार्यकर्ताबाट अस्वीकृत भयो ।

पार्टीको केन्द्रीय सदस्यस्तरले चलाउनुपर्ने केन्द्रको अर्थ एउटै मान्छेको ठेक्का जस्तो हुने, पार्टीभित्र अमुक मान्छेको जीवन बहालवाला मन्त्री जस्तो भैराख्ने र अर्को त्यहींस्तरको नेताले भिख मागेजसरी खर्चको लागि गुहार्नुपर्ने विषय प्राविधिक मात्रै हुँदै होइन, यो पनि दृष्टिकोणको विषय हो ।

हुँदा–हुँदा प्रशिक्षणमासमेत नेपाली कांग्रेसबाहेक अरु सबै पार्टीसँग तालमेल गर्न सकिने कुरा बोल्नुभयो । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई निर्वाचन आयोगमा पार्टी दर्ता र अन्य प्रक्रियाबारे बुझ्न पठाउनुभयो । जुन कुरा पार्टी निर्णयको गम्भीर उल्लंघन थियो ।

आज आएर संसदमा भएका सबै दलसँग उहाँले पठाएका उम्मेदवारको तालमेल हेर्दा सबै कुरा घाम जस्तै छर्लङ्ग भएको छ । पार्टी, आन्दोलन र क्रान्ति ध्वस्त पारेर, कमरेडहरुलाई जेलमै राखेर जसरी पनि चुनाव उपयोग गर्ने कमरेड विप्लवको दृढता बालहठको पराकाष्ठा हो ।

अर्को विषय पार्टी फुटको मूल कारण बैठकमा चुनावको विपक्षमा बोल्ने तर, कुदेर चुनाव लड्न जाने, विप्लवप्रतिको झुकाव बढाउँदै लैजाने, मध्यमार्गी र पार्टी एकता बचाउको नौटंकी गर्ने जस्ता गतिविधि गर्नुको साटो केन्द्रीय समितिको बैठकमा निर्वाचनको विपक्षमा बोलेका ४२ जना केन्द्रीय सदस्य दृढतापूर्वक आफ्नो विचारमा अडिग भएको भए मूल नेतृत्व रुपान्तरण हुने अवस्था आइसकेको थियो र पार्टी नै फुटाएर चुनावमा जाने स्थिति बन्दैन थियो । वा, बहस महाधिवेशनसम्म लम्बिने थियो ।

बोली र व्यवहारको ठेगान नभएकाका कारण आज यो अवस्था आउन पुग्यो । राजनीतिक तथा सैद्धान्तिक रुपमा हेर्दा अन्ततः कमरेड विप्लवले समाजवाद भन्ने सबैलाई एउटै घानमा हालेर व्याख्या गर्ने जस्तो, सजातीय विपरीतत्वको एकत्वलाई गलत व्याख्या गर्दै आफूले बोलेका र प्रस्तुत गरेका विषयहरुमा समर्थन गर्ने जतिलाई मात्रै सजातीयको परिभाषाभित्र राख्ने जस्तो देखिन पुग्यो । त्यसबाट राजनीतिक तथा सैद्धान्तिक विचलनतिर अगाडि बढेको कुरा प्रष्ट हुन पुग्यो ।

विप्लवको क्रान्तिकारी रोमाञ्चकारिता

यी आठ वर्षको समिक्षा गर्दा कमरेड विप्लव क्रान्तिकारी रोमाञ्चकारिता भित्र रमाउने प्रवृत्ति भएको पात्रको रुपमा दर्ज हुनु भएको छ । कमरेड किरणसंगको सम्बन्धविच्छेदपछि शिवगढी जंगलको भेला, २०७२ सालको विद्यार्थीको २० औं सम्मेलनमा भूमिगतको ढोङ, बन्दका कार्यक्रममा हुने गरेका अवैधानिक काम, जहाँ कतिपय कमरेडको सहादत नै भयो । यस्ता थुप्रै गतिविधि हेर्दा उहाँमा स्वयं विप्लवलाई एउटा छुट्टै पहिचान भएको सर्वमान्य पात्रको रुपमा विकास गर्ने गलत महत्वाकांक्षा रहेको आज पुष्टि हुन्छ ।

आज विप्लव घुमिफिरी जुन बाटोमा आइपुग्नु भएको छ, त्यो सुरुआतमै अपनाउनुपर्ने बाटो हो । आठवर्षमा १२ जना कमरेडको सहादत, कयौं कमरेड घाइते, सयौं कमरेडको हिरासत र जेल केका लागि थियो ? यो सबै विप्लवको महत्वाकांक्षी क्रान्तिकारी रोमाञ्चकारिता मात्रै थियो । विप्लवले यसको जवाफ दिनुपर्छ ।

वास्तविकतामा जे प्राप्त गर्न खोजिएको थियो, त्यो हुन सकेन । त्यहींभित्र हामी पनि क्रान्तिकारी रोमाञ्चकारिताको शिकार हुन पुग्यौं । संघर्षका दृष्टिकोणले मूल नेतृत्व अन्ततः आत्मसुरक्षावादी प्रवृत्तिबाट ग्रसित भएको देखियो ।

तसर्थ, क्रान्ति भावनामा आधारित भएर होइन, विज्ञानको नियम टेकेर अगाडि बढ्छ । विज्ञानको उदाहरण दिने तर विकल्प नदेख्ने, नेतृत्वलाई अलौकिक ठान्नेहरु विप्लवफोबिया भएकाहरु हुन् । गलत भएको छ भनेर ठान्ने फेरि आफैँलाई ढाँटेर त्यहीँ बसिराख्ने कुरा एक प्रकारको मनोवैज्ञानिक दासता नै हो । त्यसबाट मुक्त होऔं र क्रान्तिको नयाँ प्रक्रियामा गोलबद्ध बनौं ।

(शाह, विप्लव नेतृत्वको नेकपाको जनवर्गीय संगठन अखिल (क्रान्तिकारी)का सचिव हुन् ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.