रोल्पामा माओवादी कार्यकर्ताको कुटपिटबाट कांग्रेसका वडाध्यक्ष उम्मेदवार घाइते – Nepal Press

रोल्पामा माओवादी कार्यकर्ताको कुटपिटबाट कांग्रेसका वडाध्यक्ष उम्मेदवार घाइते

रुपन्देही । रोल्पाको माडी गाउँपालिका-३ तालाबाङमा माओवादी कार्यकर्ताले आक्रमण गर्दा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष उम्मेदवार मीनबहादुर डाँगी घाइते भएका छन् ।

डाँगीलाई रड प्रहार गरी घाइते बनाएको कांग्रेसले जनाएको छ । उनलाई उपचारका लागि दाङ लगिएको छ । माओवादीले भने कांग्रेस कार्यकर्ताले गरेको आक्रमणको प्रतिकार गरेको बताएको छ । माओवादी केन्द्रका माडी गाउँपालिका सचिव वीरबहादुर घर्तीले कांग्रेसले आक्रमण गरेपछि प्रतिकार गरेको बताए ।

बुधबार तालावाङ बजारमा आयोजित चुनावी सभा सकेर फर्कने क्रममा माओवादी कार्यकर्ताहरूले उम्मेदवार चढेको गाडी नियन्त्रणमा लिएर हमला गरेको कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोपाल घर्तीले बताए ।

‘उम्मेदवार चढेको गाडी नै नियन्त्रणमा लिएर उहाँमाथि रड प्रहार भएको छ हामीले आक्रमण गरेको भन्ने गलत प्रचार गरिएको छ,’ उनले भने ।
स्थानीय चुनावमा माडीमा माओवादी र एकीकृत समाजवादी तथा कांग्रेस र एमालेबीच तालमेल छ ।

प्रहरी निरीक्षक थमन जिसीले गएराति झडप भए पनि अहिले अवस्था सामान्य रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर