कांग्रेस बनेपछि भुवन केसी भन्छन्- कलाकारको भावना बुझ्ने पार्टीमा आएँ, पाएको जिम्मेवारी स्विकार्छु – Nepal Press
नेपाल टक

कांग्रेस बनेपछि भुवन केसी भन्छन्- कलाकारको भावना बुझ्ने पार्टीमा आएँ, पाएको जिम्मेवारी स्विकार्छु

काठमाडौं । अभिनेता भुवन केसीले आजभोलि नै राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्न एउटा खुट्टा उचालिसकेको चर्चा केही दिनअघिसम्म व्याप्त थियो । तर, सबैलाई चक्मा दिँदै भुवन एकाएक सत्तारुढ दल नेपाली कांग्रेसमा भित्रिएका छन् ।

देशमा चुनावी माहौल गर्माएको बेला भुवनले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाबाट बालुवाटारमै टिका लगाएर पार्टी प्रवेश गरे । राप्रपामा कुरा चल्दाचल्दै उनी कांग्रेसतिर किन लहसिए ? धेरैलाई चासो छ ।

स्मरणीय के पनि छ भने एक महिना अगाडि मात्रै भुवन केसीलाई उन्नत लोकतान्त्रिक पार्टीले काठमाडौंको मेयरमा उठाउने घोषणा गरेको थियो । तीन दिनपछि भुवनले सामाजिक सञ्जालमार्फत आफू मेयरमा नउठ्ने बताएका थिए । अलि धेरै पछाडि फर्किने हो भने उनी करिब १ दशक अगाडि नेकपा एमालेमा प्रवेश गरेका थिए । सो पार्टीबाट चुनावमा टिकट पाउन सिफारिस भए पनि अन्तिममा पाएनन् । त्यसपछि उनी एमालेमा खासै सक्रिय भएनन् र कलाकारितामै भुलिए ।

अहिले फेरि किन भुवनलाई किन राजनीतिको चस्का पस्यो ? धेरैले उनी कुनै पदको बार्गेनिङ गरेर कांग्रेसमा आएको आशंका गरेका छन् । तर, भुवन भने आफू पदका लागि नभई देश सेवाको भावनाले कांग्रेसमा जोडिएको बताउँछन् । यद्यपि, पार्टीले कुनै अवसर दिए सहज रुपमा स्वीकार्ने उनको भनाइ छ ।

नेपाली चलचित्रका सदाबहार नायकका रूपमा परिचित भुवन केसीसँग गरिएको संवाद प्रस्तुत छ :-

तपाईँ त राप्रपातिर जाने व्यापक चर्चा थियो, एकाएक कांग्रेसतिर कसरी मोडिनुभयो ?

हामी कलाकारहरूलाई सबै पार्टीका नेताहरूले माया गर्नुहुन्छ । यही नै हाम्रो सौभाग्य हो । कुरा त धेरै पार्टीसँग भएको हो । तर, मलाई कांग्रेस नै वेटर लाग्यो ।

के कुराले कांग्रेस रोज्ने निर्णयमा पुग्नुभयो त ?

नेपाली कलाक्षेत्र संसारभर चिनियोस् भन्ने लाग्छ मलाई । धेरै कलाकारहरू अहिले राजनीतिमा जोडिएका छन् । म पनि कुनै बेला कुनै दलसँग नजिक थिएँ । कलाकारहरूलाई दलहरूले खासै महत्त्व देखिएको देखिन्न । हरेक दलहरूले निर्वाचनको समयमा भिड जम्मा गर्नलाई मात्र कलाकारलाई प्रयोग गर्दै आएको तितो अनुभवबाट म पनि गुज्रिएको छु ।

वास्तवमा भन्नु पर्दा कलाकारहरू संवेदनशील हुन्छन् । हामीले कलाकारितामा लागेर गाउँ–गाउँ बस्ती–बस्तीका विकट क्षेत्रहरूमा गएर प्रत्यक्ष दर्शक तथा जनतासँग भिजेर उहाँहरूका कुरा बुझ्ने मौका पाएका छौँ । कलाकारहरूले चाहेको र मौका मिलेको खण्डमा देशै पनि हाँक्न सक्छन् । तर, यो मौका कुनै पनि कलाकारहरूलाई दिनका लागि राजनीतिक दलहरू हिचकिचाइरहेको अवस्था छ । कलाकारहरू यसै पनि लोकप्रिय हुन्छन् र उनीहरूलाई पार्टीमा अवसर दियो भने आफूहरूलाई उछिनेर जान सक्छन् भन्ने त्रास पनि हुन सक्छ ।

म चैँ खास गरी कलाकार भएकै नाताले नेपाली चलचित्र, गीत–सङ्गीत, नेपाली संस्कृतिका विषयमा कांग्रेसका वरिष्ठ नेताहरू र प्रधानमन्त्रीज्यू कुराकानी गरिरहेको थिएँ । यस क्रममा कलाकारिताप्रति कांग्रेस अरूभन्दा बढी पोजेटिभ लाग्यो । त्यसैले यो पार्टीमा जोडिने निधो गरेको हुँ ।

तपाईँ कलाकारितामा यति लामो यात्रा गरेको व्यक्ति, राजनीतिमा जोडिनुपर्ने आवश्यकता किन महसुस गर्नुभयो ?

हो, म विगत ४० वर्षदेखि अनवरत कलाकारितामा छु । रेडियो नेपालको बाल कार्यक्रमदेखि संगीत क्षेत्र हुँदै फिल्ममा आएको हुँ । बाचुन्जेल कलाकारितामा नै रहने सोच पनि छ ।

तर, कुरा के भने देशका हरेक क्षेत्रलाई डोहोर्याउने भनेको राजनीतिले हो । कलाकारिता क्षेत्रकै हकहितका लागि पनि राजनीतिकर्मीले पहल नगरीकन सम्भव हुँदैन । हामीले दिने अन्तरवार्ताहरू जनताले मात्र नभएर नेताले पनि सुन्नुहुन्छ । तर, नेताहरूले एक कानले सुनेर अर्काले उडाउने गर्नुहुन्छ । त्यसले गर्दा नेपालको कलाकारिता उँभो लाग्न सकिरहेको छैन ।

हामीले आफ्ना योजनाहरू साकार पार्न, समस्याहरूको समाधान गर्न आफैँ राजनीतिमा होमिनुपर्ने रहेछ । कुनै पद पाउनका लागि नभएर कलाकार र कलाकारिताको हित रक्षाका निम्ति राजनीतिमा लाग्नुको विकल्प मैले देखिनँ । कांग्रेसका नेताहरूले दिनुभएको आश्वासन र उहाँहरूप्रतिको विश्वासले गर्दा कांग्रेससँग जोडिएको हुँ ।

कांग्रेस प्रवेश गर्नुअघि तपाईँको को–को नेताहरूसँग छलफल भएको थियो ?

प्रधानमन्त्रीदेखि लिएर काँग्रेसका ८–१० जना नेताहरूसँग मैले छलफल गरेँ ।

पार्टी प्रवेशका विषयमा कहिलेदेखि कांग्रेस नेताहरूसँग छलफलमा हुनुहुन्थ्यो ।

करिब एक महिना जति मात्रै भयो होला कुराकानी हुन थालेको ।

तपाईँ कांग्रेस प्रवेश गरेर सक्रिय राजनीति नै गर्ने विचार हो कि सामान्य पार्टीगत आबद्धता मात्रै हो ?

पार्टी प्रवेश गरिसकेपछि सक्रिय राजनीति नै गर्नुपर्छ भन्ने छैन । तर पार्टीहरूले जोसुकै कलाकार वा आफ्नो फिल्डबाट दक्षता हासिल गरेको कोही पनि व्यक्तिले देश र जनताको सेवा गर्ने इच्छा गरेर आएको खण्डमा आवश्यक अवसर र भूमिका दिनुपर्छ । खाली आफ्नै नातागोता र वरापरीकालाई मात्रै हेरेर हुँदैन । हरेक क्षेत्रका प्रतिभा वान व्यक्तिलाई अवसर दियो भने त्यो पार्टी मात्र नभएर देश पनि उँभो लाग्न सक्छ । उचित अवसर पाएको खण्डमा उहाँहरूले देशै चलाउन पनि सक्नुहुन्छ । त्यो नभए कम्तीमा आफ्नो क्षेत्रका लागि पक्कै केही गर्नुहुन्छ । त्यसैले अवसर चैँ दिनु पर्‍यो, चाहे कांग्रेसले होस वा अरू पार्टीले ।

भनेपछि कांग्रेसले तपाईँलाई पार्टीमा कुनै भूमिकाको अफर गर्‍यो भने नाइनास्ति गर्नुहुन्न ?

एकदम म स्विकार्छु । तर उहाँहरूले त्यो अवसर दिन हुन्छ कि हुन्न भन्ने हो । अहिले म यही पद चाहिन्छ भनेर आएको होइन । तर उहाँहरूले कुनै भूमिका दिनुभयो भने म त्यसलाई स्विकारेर नै अब बाँकी जीवन कला– संस्कृति र नेपाली चलचित्र तथा देशको हितमा समर्पित गर्ने छु । त्यही सोचाइका साथ कांग्रेसमा आएको हुँ ।

तपाईँले आफूलाई यस्तो भूमिका चाहिन्छ भनेर नेताहरूसँग भन्नुभएको होला नि पक्कै ?

म कलाकार हुँ । जिन्दगीमा मैले जे पाउनु पर्ने हो त्यो पाएको छु । सबैभन्दा ठूलो कुरा त दर्शकको माया हो । त्योभन्दा ठूलो अरू आशा छैन ।

अब म कलाकार भएका कारणले गर्दा सम्पूर्ण कला जगत, गीत–सङ्गीत तथा साहित्य क्षेत्रमा मेरो लगाव छ । मेरो प्राथमिकता पनि यसमा नै हुने भइहाल्यो । यो सँगसँगै मेरो देश र जनताप्रति पनि दायित्व निभाउनलाई व्यग्र छु । उहाँहरूले त्यस्तो भुमिका दिनुभयो भने म गर्न चाहन्छु र गर्न सक्छु पनि भन्ने हो । तर, पार्टीमा मैले कुनै माग राखेको छैन ।

स्थानीय चुनावको त मनोनयन भइसक्यो । अब प्रदेश र संघीय संसद्को चुनाव पनि आउँदै छ । संसद्को चुनावमा पार्टीले टिकट दियो भने काठमाडौंबाट लड्न तयार हो ?

अब त्यो त पार्टीले निर्णय गर्ने कुरा हो । उहाँहरूले के भन्नु हुन्छ त्यसमा भर पर्छ । यस विषयमा अहिले छलफल भएको छैन ।

विगतमा तपाईँ उत्साहका साथ एमालेमा प्रवेश गर्नु भएको थियो । एमालेमा लागेर केही गर्छु भन्ने नै थियो होला, सक्रिय हुन सक्नुभएन । त्यो पार्टीसँग किन तपाईँको चाँडै नाता टुट्यो त ?

म जे सोचेर गएको थिएँ, त्यो भएन । कलाकारिताको विषयमा पार्टीले खासै चासो दिएको देखिएन । वा मैले त्यो अनुभव गर्न सकिनँ । तर, पनि उहाँहरूप्रति मेरो केही गुनासो छैन । एमालेका नेताहरूलाई मैले आफ्नो तर्फबाट सहयोग गरेकै हो ।

अब, नेपाली काँग्रेसले चैँ सायद कलाकारको भावना बुझ्छ होला भन्ने विश्वास छ । उहाँहरूले बुझ्ने आश्वासन पनि दिनु भएको छ ।

कतिपयले भन्ने गर्छन् कलाकार भनेका सबैका साझा हुन् । एउटा पार्टीसँग जोडिँदा उनीहरूको घेरा साँघुरो हुन्छ । तपाईँलाई एउटा पार्टीसँग जोडिनु के–कति घाटा होला ?

एकदमै भन्नुहुन्छ डेफिनट्ली । पहिलो नम्बरमा म नेपालको कलाकार हुँ । म आम नेपाली दाजुभाइ–दिदीबहीनीहरुको कलाकार हुँ ।

वास्तवमा विभिन्न क्षेत्रका मान्छेहरूले आ–आफ्नै क्षेत्रमा योगदान दिएर अगाडि बढ्नुपर्ने हो । राजनीति गर्ने काम नेताहरूलाई नै छोडिदिनुपर्ने हो । तर कुरा के भने, यति बेला देशको राजनीति ठिक दिशामा चलिरहेको छैन । गलत राजनीतिका कारण देशका हरेक क्षेत्रहरू प्रभावित भइरहेका छन् । त्यसैले सबै क्षेत्रका व्यक्तिहरूले राजनीतिमा चासो र चिन्ता राख्नुपर्ने आवश्यकता छ । राजनीतिमा प्रत्यक्ष संलग्न हुनुपर्ने आवश्यकता छ ।

त्यसको कारण के त भने राजनीतिमा लागेर झन्डावाला गाडी चढ्नलाई होइन । आफ्नो क्षेत्रको विकासका लागि हो । नत्र हामीले जतिसुकै उहाँहरूलाई अनुरोध गरे पनि, हामीसँग जतिसुकै भिजन भए पनि त्यो लागू नहुने रहेछ । सम्बन्धित ठाउँहरूमा त त्यो भिजन नै नभएका मान्छेहरू पुग्ने रहेछन् । आफ्नै मान्छेहरू मात्रै पुग्ने रहेछन् । ट्यालेन्टेड, पढेलेखेका र जिन्दगीभरि त्यो क्षेत्रमा काम गरेका मान्छेहरूलाई कुनै मौका दिइएन । त्यसैले हामी राजनीतिमा आउन बाध्य भएका हौँ । नभए राजनीति मेरो सोख हैन ।

तपाईँको राप्रपासँग पनि कुराकानी धेरै अगाडि बढेको थियो, अन्तिममा के कुरा मिलेन ?

कुरा नमिलेको भन्ने होइन । म एउटा कलाकार भएको नाताले सबै क्षेत्रका सबै व्यक्तिहरूलाई सम्मान गर्छु । कुरा नमिलेर होइन, मलाई अहिले आएर नेपाली कांग्रेसप्रति आस्था र विश्वास बढी जागेको छ । नेपाली कांग्रेसले नै नेपाली कला–संस्कृतिको विकास र रक्षा गर्छ भनेर म कांग्रेस भएको हुँ ।

म भाषण मात्र दिएर अथवा हुन नसक्ने कुराहरू मात्र बोलेर राजनीति गर्न आएको होइन । केही नयाँ गर्न सक्ने भिजन र क्लियरिफिकेसन भएकाले आएको हुँ । अवसर पाएको खण्डमा म दिलबाट नै गर्छु । अहिलेसम्म कलाकारिताबाट गरेँ भने अब राजनीतिबाट पनि गर्न सक्छु भन्ने मेरो मनमा लागेको छ ।

पार्टी रोज्दा त बिचार–सिद्धान्तको पनि कुरा आउँछ । विगतमा तपाई नेकपा एमालेसँग आबद्ध हुनुभयो, जुन एउटा कम्युनिस्ट पार्टीको रूपमा चिनिन्छ । त्यसपछि तपाई लामो समय निष्क्रिय भएर बिचमा एउटा सानो पार्टीबाट मेयरमा उठ्ने कुरा सुनियो । तर, तपाईँले नउठ्ने भन्नुभयो । त्यसपछि राप्रपासँग पनि नजिक हुन खोज्नुभयो । अहिले कांग्रेसमा आउनुभएको छ । कहिले कम्युनिस्ट पार्टी, कहिले राजावादी पार्टी, कहिले मध्यमार्गी पार्टीसँग नजिक भइरहँदा तपाईँको आफ्नो राजनीतिक विचारधारा चाहिँ के हो त ? तपाईँ गणतन्त्रवादी कि राजावादी ?

यस विषयमा कुनै बेला बसेर लामै कुराकानी गरौँला । अहिलेको सवालमा मैले जुन पार्टी रोजेँ त्यो नै वेस्ट पार्टी हो । र मैले जे गरेँ ठिक गरेँ जस्तो लाग्छ ।

उन्नत लोकतान्त्रिक पार्टीबाट मेयरमा उठ्ने कुरा आएको थियो नि, त्यसमा तपाईँलाई नसोधीकन उनीहरूले निर्णय गरेका हुन् कि तपाईँले पछि निर्णय बदल्नु भएको हो ?

स्वागत नेपाल भन्ने मेरो प्यारो भाइ हुनुहुन्छ, उहाँसँग राम्रो सम्बन्ध छ । उहाँले आफ्नो पार्टीबाट भुवन दाइ तपाई उठ्दा हुन्छ भन्नुभएको पनि हो । एक चरण उहाँसँग सल्लाह भएकै पनि हो ।

फेरि किन ब्याक हुनुभयो त ?

अगाडी नै मैले भनेँ नि, एउटा कलाकारलाई माया त सबैले गर्नु हुन्छ, तर केमा जाने र केमा उठ्ने अथवा नउठ्ने त्यो निर्णय त मैले गरिसकेको थिइनँ । उहाँले मलाई अफर गर्नु भएकोमा म उहाँलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । मलाई अथवा एउटा कलाकारलाई सम्झनु भयो । तर, यसमा मैले निर्णय गरिसकेको थिइनँ । एक चरण छलफल मात्रै भएको थियो । मैले ठोस निर्णय चैँ कांग्रेसमा जाने भनेर गरेको हो ।

काँग्रेसको कुन चैँ पक्षले तपाइलाई आकर्षित गर्‍यो ?

सबै पक्ष राम्रो लागेर नै म यो पार्टीमा गएको हुँ । यो पार्टीका नीति बिचार र प्रजातान्त्रिक बिचार नै राम्रो लागेर म यसमा आएको हो ।

तपाईँ आफैँले कांग्रेस प्रवेशका लागि पहल गर्नुभएको हो कि कांग्रेसले तपाईँलाई प्रस्ताव गरेको हो ?

मनमा लागिराखेको थियो मलाई यो पार्टी नै ठिक हो भन्ने । अनि उहाँहरूले पनि प्रस्ताव गरेपछि मलाई एकदम सही लाग्यो ।

सानो पार्टीमा जाँदाभन्दा शक्तिशाली पार्टीमा जाँदा नै ठूलो छहारी पाइन्छ भन्ने त सोच्नु भएको हो ?

हामी कलाकारहरूलाई चैँ सानो–ठुलो पार्टी भन्ने हुँदैन । किनभने हामी कलाकारहरूलाई सबैले माया गर्नुहुन्छ । हामीले जिन्दगीमा कमाएको नै त्यही माया हो । एउटा कलाकार ठुलो पार्टीमा जाँदा पनि र सानो पार्टीमा जाँदा पनि अथवा स्वतन्त्र नै उठ्दाखेरि पनि दर्शकले दिने माया त्यत्तिकै हो । त्यस कारण कलाकारलाई सानो र ठुलो पार्टीले कुनै महत्त्व राख्दैन ।

राजनीतिमा तपाईँको लक्ष्य के त त ? पछि मन्त्रीसम्म बन्ने अथवा त्योभन्दा अरू केही सोच्नु भएको छ ?

अब राजनीतिमा लागेर यदि मैले मौका पाएको खण्डमा तनमन र बचनले कुनै पदको लालसा नराखीकन साँच्चिकै देश र जनताको लागि केही गर्ने सोच राखेको छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर