आज चन्द्रमा देखिएन, इदकाे विदा पर्सी – Nepal Press

आज चन्द्रमा देखिएन, इदकाे विदा पर्सी

काठमाडौं । मुस्लिम धर्मावलम्बीको पवित्र चाड इदको अवसरमा पर्सी मंगलबार सार्वजनिक बिदा हुने भएको छ । मुस्लिम आयोगले पर्सी विदा दिन सरकारलाई सिफारिस गर्ने भएकाे हाे । आज इदकाे विदा दिइने चर्चा भए पनि सरकारले निर्णय लिएकाे थिएन ।
आइतबार साँझ चन्द्रमा नदेखिएको हुनाले भोलि बिदा दिन गृह मन्त्रालयलाई पत्राचार नगरिएकाे आयाेगले जनाएकाे छ । आयोगका अध्यक्ष समिम अन्सारीले नेपाल प्रेससँग भने, ‘आज आइतबार चन्द्रमा नदेखिएकाले भोलि बिदाका लागि सिफारिश गर्न सकिएन । अब भोलि गृह मन्त्रालयलाई पर्सी बिदा दिनका लागि सिफारिस गर्छौं ।’
गृह मन्त्रालयका अधिकारी अबेरसम्म आयाेगकाे पत्र पर्खिरहेका थिए । अध्यक्ष अन्सारीका अनुसार आयोगले पर्सि बिदा दिनका लागि पत्र तयार गरिसकेको छ । साे पत्र भोलि मात्र गृह मन्त्रालयलाई पठाइने छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले नेपाल प्रेससँग भने, ‘अहिलेसम्म पत्र आएको छैन । सम्भवत पर्सी बिदा गर्ने गरी राष्ट्रिय मुस्लिम आयोगले भोलि पत्र पठाउला । मन्त्रालयले पत्र पाउनेवित्तिकै बिदा दिनेबारे निर्णय गर्छ ।’ इस्लाम धर्मावलम्बिले मनाउने इदका अवसरमा सार्वजनिक बिदा दिने भनेर राजपत्रमा नै प्रकाशित भइसकेको छ । त्यसैले यो निर्णय मन्त्रिपरिषद्बाट गरिरहनुपर्दैन ।
मुस्लिम आयोगले गर्ने सिफारिसका आधारमा गृह मन्त्रालयले निर्णय लिन सक्छ । चैत महिनामा बसेको मन्त्रिपरिषद् बैठकले २०७९ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक पर्व एव सट्टा बिदा कार्यालय समय राजपत्रमा प्रकाशित गरेको थियो । राजपत्रमा प्रकाशित सूचनामा इस्लाम धर्मावलम्बीको पर्व इद (इद उल अजहा) का दिन र इद (इद उल फित्र) का दिन बिदा दिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर