बर्दिबासमा चुनावी समीकरण फेरियो, कांग्रेसका बागीले एमालेलाई फाइदा – Nepal Press

बर्दिबासमा चुनावी समीकरण फेरियो, कांग्रेसका बागीले एमालेलाई फाइदा

महोत्तरी । महोत्तरीमा केही उम्मेदवारले मनोनयन फिर्ता लिएपछि चुनावी समीकरण पनि फेरिएको छ । १५ वटै पालिकामा गरी शुक्रबार ६६ जनाभन्दा बढीले उम्मेदवारी फिर्ता लिएका थिए । उम्मेदवारी फिर्ता लिनेमा कतिपय एउटै पार्टीबाट बागी उम्मेदवार बनेका छन् भने कतिपय पार्टीकै नगरप्रमुख, उपप्रमुख छन् ।

बर्दिबास नगरपालिकामा चुनावी समीकरण प्रभावित बनेको छ । पार्टीभित्रैबाट राम्रो जनधार भएका नेताले बागी उम्मेदवार दिएपछि सोहीअनुसार तयारी गरेका दल नयाँ रणनीतिमा जुटेका थिए ।

नगरको मुख्य प्रतिस्पर्धी मानिएका कांग्रेस र माओवादी केन्द्रबाट बागी उम्मेदवार बनेपछि यी दल समस्यामा परेका थिए । तर, माओवादी केन्द्रबाट बागी उम्मेदवार दिएका रुद्र सुस्लिङ्ग मगरले उम्मेदवारी फिर्ता लिए भने कांग्रेसबाट बागी उम्मेदवार बनेका प्रल्हाद क्षेत्रीले फिर्ता लिएनन् ।

कांग्रेसभित्रै चिरञ्जीवी हमाल पार्टीको आधिकारिक उम्मेदवार र प्रल्हाद क्षेत्री बागी उम्मेदवार बनेपछि कांग्रेस कमजोर बनेको छ । बरु अब माओवादी र एमालेबीच प्रतिस्पर्धा हुने ठानिएको छ ।

मगरले उम्मेदवार फिर्ता लिएको केही समय नबित्दै लोसपाले स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीसँग गठबन्धन गर्ने निर्णय गरेको छ । यसैका लागि लोसपाबाट नगर प्रमुखमा उम्मेदवारी दिएका चेतकुमार थापा र उपप्रमुखका लागि उम्मेदवारी दिएका रामगुनकुमारी महतोले फिर्ता गरेका छन् ।

निर्वाचन आयोगवाट घोडा छाप पाएका क्षेत्रीले प्रचारप्रसार गर्ने र सम्भावना रहेका दलसँग गठबन्धन प्रक्रियालाई अगाडि बढाएका छन् ।

अघिल्लो निर्वाचनमा पनि क्षेत्री नै उम्मेदवार बनेका थिए । झण्डै ११ सय मतले उनी माओवादी केन्द्रसँग पराजित बनेका थिए ।

प्रदेशको चुनावमा पनि क्षेत्री पराजित उम्मेदवार बनेका थिए । प्रदेशमा एमालेबाट सारदादेवी थापाले जित हासिल गरेकी थिइन् ।

जिल्लामा ७२० पदका लागि ४२ सयभन्दा बढी प्रतिस्पर्धामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर