श्रममन्त्री श्रेष्ठ र मलेसियाका गृहमन्त्री जैनुदिनबीच भेटवार्ता, नेपाली सुरक्षा गार्डको तलब तीन हजार रिंगेट बनाउन प्रस्ताव – Nepal Press

श्रममन्त्री श्रेष्ठ र मलेसियाका गृहमन्त्री जैनुदिनबीच भेटवार्ता, नेपाली सुरक्षा गार्डको तलब तीन हजार रिंगेट बनाउन प्रस्ताव

काठमाडौं । मलेसियाको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियाका गृहमन्त्री हमजाह बिन जैनुदिनसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।

पुत्रजयास्थीत गृह मन्त्रालयमा शनिवार बिहान भएको भेटवार्तामा उनीहरूबिच नेपाल–मलेसिया सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको छ ।

मन्त्री श्रेष्ठले मलेसियामा रहेका नेपाली सुरक्षा गार्ड सहित अन्य श्रमिकको सेवा सुविधा र अधिकारको विषयमा गृहमन्त्री जैनुदिनसँग छलफल भएको बताए ।

श्रेष्ठले नेपाली सुरक्षा गार्डको मासिक तलब तीन हजार मलेसियन रिंगेट हुनुपर्ने प्रस्ताव गरेका छन् ।

नेपाली कामदार मेहनती र इमानदार हुने चर्चा गर्दै गृहमन्त्री जैनुदिनले गोर्खा गार्डसका रूपमा मलेसियामा नेपालीको राम्रो प्रभाव रहेको बताए ।

नेपाली युवालाई सीपयुक्त बनाइ थप रोजगारीका अवसर प्रदान गर्ने, शून्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिसै घण्टा प्रभावकारी हुने बिमा सुविधाको व्यवस्थाबारे पनि उनीहरूबीच छलफल भएको थियो ।

नेपालमा सुरक्षा गार्ड सम्बन्धी तालिमको व्यवस्था गरी सीपयुक्त बनाउनेबारे समेत उनीहरूबिच छलफल भएको हो ।

नेपालबाट सुरक्षा गार्डमा जानेमा पूर्व सेना वा पूर्व प्रहरीका साथै आधारभूत तालिम लिएका युवा छन् । पूर्व गोर्खा ब्रिटिस सैनिकको प्रभावका कारण मलेसियामा गोर्खा गार्ड्सका रूपमा नेपालीप्रति उच्च सद्भाव रहेकोले समयानुकूल तालिम दिएर व्यावसायिक विकास गर्नेतर्फ ध्यान दिनुपर्ने भेटवार्तामा सहभागी मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए ।

छलफलमा भएका विषयलाई औपचारिकता दिन छिट्टै द्विपक्षीय समझदारी हुनेछ । भेटवार्तामा कार्यवाहक राजदूत मोतीबहादुर श्रीस पनि सहभागी थिए ।

यसअघि मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी सेरी एम सराभननसँग गर्नुभएको द्विपक्षीय बैठकमा श्रम सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्ने सहमति भएको थियो ।

नेपाल र मलेसियाबिच संयुक्त कार्यदलको तेस्रो बैठक छिटै काठमाडौंमा गर्ने सहमति पनि भएको छ ।

मन्त्री श्रेष्ठको नेतृत्वमा भएको उच्चस्तरीय टोलीले मलेसियास्थित सामाजिक सुरक्षा संस्था (सोक्सो) समेत भ्रमण गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर