‘हाइटेक पुस्ता’को रोजाइमा कस्ता उम्मेदवार ? – Nepal Press

‘हाइटेक पुस्ता’को रोजाइमा कस्ता उम्मेदवार ?

काठमाडौं । देशमा चुनावी माहोल तातेको छ । परिवर्तन र विकासका नारा बोकेर उम्मेदवारहरु बस्ती पसेका छन् । मत आफ्नो पक्षमा पार्न उनीहरुले विभिन्न रंगीन आश्वासन बाँडिरहेका छन् र सुन्दर घोषणाको फेहरिस्त सुनाइरहेका छन् । र, चुनावछेका दिएका प्रतिबद्धता पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।

तर नेपालमा एउटा यस्तो जमात पनि छ, जुन चुनावी घोषणापत्र र भाषणमा मात्र विश्वास गर्दैन । परिवर्तनभोगी उक्त जमात विश्वका आधुनिक प्रविधिको प्रयोग गर्न रुचाउँछ । सामाजिक सञ्जाललाई वाक स्वतन्त्रताको अभ्यास गर्ने माध्यम बनाउँछ । विश्वका सफल नेताको कार्यशैलीलाई नेपालका नेताहरुसँग तुलना गर्छ । गलतलाई गलत भन्न डराउँदैन । त्यहीं जमातलाई भन्ने गरिन्छ ‘हाइटेक पुस्ता’ ।

हाइटेक पुस्ताले देशका नेता वा भनौं नीति निर्मातालाई भन्दा पनि सोसल मिडिया इन्फ्लुएन्सरलाई अनुसरण गर्छ । त्यसैको ज्वलन्त उदाहरणको रुपमा लिन सकिन्छ– कोरोना महामारीको समयमा सुरु भएको इनअफ इज इनअफ प्रोटेस्ट ।

अहिले देशमा चुनावी माहोल छ । योबेला हाइटेक पुस्ताका सोसल मिडिया इन्फ्लुएन्सरले के आधारमा भोट दिँदै छन् त ?

सिसन बाँनिया

नेपाली सोसल मिडिया इन्फ्लुएन्सरको सूचीमा अग्रस्थानमा आउने नाम हो, सिसन बाँनिया । काठमाडौं महानगरपालिका मतदाता सिसन भन्छन्–

म हरेक क्षेत्रमा युवाको नेतृत्व हुनुपर्छ भन्ने कुरामा विश्वास गर्छु । हुन त म देशको राजनैतिक अवस्थामा त्यति धेरै ज्ञान भएको व्यक्ति होइन तर मैले पूर्वदेखि पश्चिमसम्म जति पनि नेपाल आफ्नो आँखाले देखेको छु, त्यो अनुभवबाट भन्न सक्छु कि देशको भौतिक पूर्वाधार विकासमा स्थानीय सरकारको सबैभन्दा ठूलो भूमिका हुन्छ ।

तसर्थ स्थानीय सरकारको नेतृत्व जोश, जाँगर, ज्ञान र भिजनले भरिपूर्ण युवाले नै गर्नुपर्छ । अहिले स्थानीय तहमा युवाले नेतृत्व पायो भने भोलि कोही ४० वर्षमै प्रधानमन्त्री नै बन्छ कि ?

हामीले संसारमै सबैभन्दा राम्रो शासन व्यवस्था ल्याइसक्यौँ । अब विकास, रोजगारी, स्वाथ्य, शिक्षालाई मुख्य एजेण्डा बनाउँ र त्यसका लागि युवालाई पालो दिउँ जस्तो लाग्छ । म यहीं कुरालाई ध्यानमा राख्दै भोट हाल्छु ।

राष्ट्र विमोचन तिमील्सिना

पेशाले वकिल तथा शिक्षक राष्ट्र विमोचन तिमील्सिना सामाजिक संजालमा र्याण्डम नेपालीको नामले चिनिन्छन् । उनी काठमाडौं महानगरपालिका वडा नं १४ का मतदाता हुन् । उनी भन्छन्–

कसलाई भोट दिनेभन्दा पनि कस्तालाई भोट नदिने भन्ने कुरामा म स्पष्ट छु । विकासको एजेण्डाको नाममा मिथ्या सपना बाढ्ने उमेदवारलाई भोट दिन हुँदैन । नेपालमा चुनावी घोषणापत्रको नाममा मिथ्या सपना बेचिन्छन्, म त्यस्ता उमेदवारलाई भोट दिन्नँ । जेष्ठ नागरिकको हात हातमा ५–१० हजार थमाइदिन्छु, काठमाडौंमा रेल चलाइदिन्छु लगायतका प्रतिवद्धता मिथ्या सपना हुन् ।

देशको राजधानीको बासिन्दा हुँ । म मेरो टोलबाट निर्वाचित जनप्रतिनिधिले बोरिङको पानीलाई घरसम्म ल्याउने वातावरणसमेत मिलाउन सकेनन् । ५ वर्षमा त्यस्तै किसिमका जनप्रतिनिधिलाई समर्थन कुनै पनि हालतमा गर्न सकिन्नँ । तर म लोकतन्त्रमा विश्वास गर्छु । मतदान भनेको लोकतन्त्रले दिएको सबैभन्दा महत्वपूर्ण उपहार हो । म यसको सदुपयोग गर्छु । घोषणापत्र अध्ययन गरेर मतदान गर्छु ।

विशाल गौतम

विशाल पेशाले स्ट्यान्डप कमिडियन हुन् । देशमा बेथितिका कुनै घटना र परिस्थिति देखेमा उनी त्यसको प्रतिकार गर्छन् । कमेडीमार्फत् देशका उच्च पदस्थ व्यक्तिलाई घोचपेच गर्न नडराउने गौतम भरतपुर महानगरपालिका मतदाता हुन् । उनी भन्छन्–

चितवन जत्तिको ठाउँमा बाटो कालोपत्रे गर्छु भन्ने एजेण्डा बोकेर आउने उमेदवारलाई म भोट हाल्दिनँ । त्योबाहेकका एजेण्डा बोकेर आएका उमेदवार पनि मेरो स्थानीय तहमा देख्दिनँ । त्यसैले म निकै दुविधामा छु ।

मेरो स्थानीय तहको पहिलाको वडा अध्यक्ष पार्टटाइम वडा अध्यक्ष र फूलटाइम जग्गा दलाल थिए । म आफैं पनि उनको हस्ताक्षर गराउनको लागि वडा कार्यालय नभइ उनको साइट पुग्न परेको छ । अब त्यस्ता उमेदवारहरुलाई बिदा गर्ने बेला आएको छ । म त्यो कुरालाई ध्यानमा राख्दै भोट हाल्ने छु ।

ममता शिवाकोटी

युवा पुस्ता माझ डिजिटल लयर्सको नामले परीचित छिन्, ममता शिवाकोटी । उनी काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाकी मतदाता हुन् । शिवाकोटी भन्छिन्–

उम्मेदवारको ब्याकग्राउन्ड र उसको प्रतिवद्धतालाई मध्यनजर गरेर मात्र म कसलाई भोट हाल्छु भन्ने निर्णय गर्छु । उम्मेदवारको बारेमा थाहा पाउनका निमित्त घोषणापत्र नभइ उनीहरुको सामाजिक सञ्जाललाई पनि नियाल्नु पर्दछ ।

उम्मेदवारले सामाजिक संजालमा के कस्ता विषय वस्तुलाई उठान गर्दै आएका छन् भन्ने कुराले पनि मेरो निर्णयलाई असर पार्छ । यस सँगसँगै नयाँ प्रविधिमा ती उम्मेदवारले कतिको पकड राख्छन् भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।

आयुष श्रेष्ठ

संचारकर्मी तथा कमेडियन आयुष श्रेष्ठ पनि युवा पुस्तामाझ चर्चित नाम हो । उनी गोरखाका मतदाता हुन् । उनी भन्छन्–

आसन्न स्थानीय चुनावमा भोट हाल्दा दोहोरिएका भन्दा पनि नयाँ अनुहारलाई बढी प्राथमिकता दिनुपर्छ । पहिलाकै जनप्रतिनिधि फेरि दोहोरिँदै हुन्हुन्छ भने उहाँहरु अयोग्य हुन्हुन्छ भन्न खोजेको होइन तर नयाँ व्यक्तिलाई पनि अवसर दिन सकियो भने कार्यशैली र कार्य क्षमतालाई तुलना र मुल्यानकंन गर्न सकिन्छ जस्तो लाग्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर