अन्तरघातको असर: यसरी गुम्यो जसपा नेता यादवको गाउँपालिका अध्यक्षको टिकट – Nepal Press

अन्तरघातको असर: यसरी गुम्यो जसपा नेता यादवको गाउँपालिका अध्यक्षको टिकट

जनकपुरधाम । पार्टीभित्रकै अन्तरघातका कारण जनता समाजवादी पार्टी (जसपा) नेता दिपेश यादव गाउँपालिका अध्यक्षको उम्मेदवार बन्न पाएनन् । पार्टी क्षेत्रीय अध्यक्ष प्रयाग यादवको छलकपटका कारण दिपेश सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्षको उम्मेदवार हुनबाट बञ्चित भएका हुन् ।

अध्यक्षको टिकटका लागि जसपा गाउँ कमिटीबाट दिपेश, प्रयाग र हरिदेव चौधरीको नाम सिफारिस भएको थियो । पार्टीले दिपेशलाई टिकट दिने निर्णय गर्यो । मनोनयन दर्ताको अन्तिम दिन वैशाख १२ मा उनको हातमा वडा सदस्यदेखि अध्यक्षसम्मको २७ वटा टिकट पनि पुग्यो ।
तर उनले विश्वास गरेर वडा नम्बर ५ का लागि चार वटा सदस्य र वडा अध्यक्षको सादा (नाम नभरेको) टिकट क्षेत्रीय अध्यक्ष प्रयासलाई हस्तान्तरण गरे । प्रयागले भने वडा अध्यक्ष र तीनवटा वडा सदस्यका उम्मेदवारलाई मात्र टिकट बाँडे । दलित सदस्यको टिकटमा भने प्रयासले आफ्नो नाम भरेर अध्यक्षमा उम्मेदवारी दर्ता गराए ।

निर्वाचन अधिकृतको कार्यालय खुलेलगत्तै प्रयागले गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराएका थिए । उनी तामझामसहित उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुगे । तर निर्वाचन अधिकृतले जसपाबाट अध्यक्षमा अर्कैको उम्मेदवारी दर्ता भइसकेको बताएपछि उनी तीनछक परे ।

दिपेश भन्छन्, ‘मैले विश्वास गरेर प्रयाग जीलाई सादा टिकट दिएको थिएँ । तर उहाँले विश्वासघात गर्नुभयो ।’ दलित वडा सदस्यका उम्मेदवारलाई टिकट नदिएर प्रयागले अध्यक्षमा आफ्नो उम्मेदवारी दर्ता गराएको उनको भनाइ छ ।

क्षेत्रीय अध्यक्ष प्रयाग चलाखीपूर्ण तरिकाले पार्टीको निर्णयविपरीत अध्यक्षको उम्मेदवार बनेपछि दिपेश काठमाडौं पुगेका थिए । तर त्यहाँ पुगेर पनि उनी न्याय पाउन सकेनन् । पार्टीका केन्द्रीय कार्यालय सचिव प्रकाश अधिकारीले वरिष्ठ नेता अशोक राईबाट हस्ताक्षर गराएर प्रयागकै उम्मेदवारीलाई सदर गरेको दिपेश बताउँछन् ।

स्रोतका अनुसार दिपेश र प्रकाश अधिकारीबीच पार्टीमा लामो समयदेखि आन्तरिक मनमुटाव छ ।

स्रोतका अनुसार वरिष्ठ नेता राईले आफ्नो हस्ताक्षर दुरुपयोग भएको विषयमा छानबिन गर्ने र दोषी ठहरिए प्रकाश अधिकारीमाथि कारबाही गर्ने आश्वासन दिपेशलाई दिएका छन् । दिपेश भन्छन्, ‘ममाथि अन्याय त भयो नै । पार्टीका लागि पनि अन्तर्घात भएको छ । यो विषयमा छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्छ ।’

दिपेश जसपा मधेस प्रदेश सदस्य र समाजवादी विद्यार्थी यूनियनको मधेस प्रदेश अध्यक्ष हुन् ।


प्रतिक्रिया

One thought on “अन्तरघातको असर: यसरी गुम्यो जसपा नेता यादवको गाउँपालिका अध्यक्षको टिकट

  1. युवाहरूलाई मनोबल घटाउने यस्ता नेता हरु लाई पार्टी बाट सजाय हुनुपर्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर