लोसपाको घोषणापत्र : कांग्रेसको नाम ठूलो काम सानो – Nepal Press

लोसपाको घोषणापत्र : कांग्रेसको नाम ठूलो काम सानो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले नेपाली कांग्रेसको नाम ठूलो भए पनि काम सानो भएको टिप्पणी गरेको छ ।

स्थानीय निर्वाचनका लागि लोसपा नेपालले सार्वजनिक गरेको घोषणापत्रमा कांग्रेसले इतिहासमा महत्त्वपूर्ण योगदान गरे पनि समृद्धि र अग्रगमनको सवालमा कांग्रेस चुकेको टिप्पणी गरेको छ ।

आफ्नो घोषणापत्रमा लोसपाले नेपालमा सक्रियमध्ये कांग्रेस र आफू मात्रै लोकतान्त्रिक पार्टी भए पनि नेपालमा कम्युनिस्टको संख्या बढ्नुमा कांग्रेस नै जिम्मेवार रहेको लोसपाको ठहर छ ।

‘केही सीमित ३–४ देशलाई छोडेर संसारबाट लगभग बिदा भइसकेका कम्युनिस्टहरू नेपालको संसदमा झण्डै दुई तिहाइ पुगेको अवस्थाको पछाडि कम्युनिष्टहरुको सामर्थ्यले भन्दा नेपाली कांग्रेसको अकर्मण्यताले बढी काम गरेको छ’, लोसपाको घोषणापत्रमा भनिएको छ ।

लोसपाले कांग्रेसलाई राजनीतिक भ्रष्टाचार र विसंगतिको पहिलो अभ्यासकर्ताको रूपमा समेत आलोचना गरेको छ ।

‘नेपालको दलीय र संसदीय अभ्यासको क्रममा देखिएका परिवारवाद, नातावाद, सांसद खरिद विक्री, चुनावमा पैसा र बलको अत्यधिक प्रयोग, जनप्रतिनिधिहरूको असंस्कारी र अलोकतान्त्रिक अवधारणा, दलीय फाइदाको लागि सरकारी ढुकुटीको दोहन र राजनीतिक र कर्मचारी वृत्तमा देखिएको व्यापक भ्रष्टाचार जस्ता विसंगतिहरुको पहिलो अभ्यासकर्ता पनि नेपाली कांग्रेस नै हो’, घोषणापत्रमा उल्लेख छ ।

कांग्रेसले लोकतान्त्रिक समाजवादको उत्कृष्ट विचार ग्रहण गरे पनि सफल कार्यान्वयन गर्न नसकेको आरोपसमेत लोसपाले लगाएको छ ।

घोषणापत्रमा लोसपाले अनेक कमजोरीका बाबजुद कांग्रेस सहज, विचारवान र व्यवहारिक भएको समेत उल्लेख गरेको छ ।

कांग्रेसमा पटक–पटकको आन्दोलनबाट खारिएका नेताहरू भएको र राष्ट्रिय चुनौती सामना गर्नुपर्दा अरू दलभन्दा लचक रहेको लोसपाको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर