मधेस आन्दोलनका अगुवालाई झूटा आरोप लगाइएको छ, अहिले पनि जेलमा छन् : महन्थ ठाकुर (भिडिओ) – Nepal Press

मधेस आन्दोलनका अगुवालाई झूटा आरोप लगाइएको छ, अहिले पनि जेलमा छन् : महन्थ ठाकुर (भिडिओ)

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनका अगुवाहरूलाई राज्य अहिलेपनि झूटो आरोपमा जेलमा राखेको बताएका छन् ।

आसन्न स्थानीय तह निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले परिवर्तन र अधिकारका लागि गरिएको आन्दोलनप्रति राज्यले वैरभाव राखेको बताए ।

‘संविधान जारी गर्दा सहमती गरेको कुरा पनि संविधानमा राखिएन् । अन्तिम बहस सुरू भयो । त्यसमा पनि हाम्रो कुरा सुनिएन् । त्यसपछि सडकमा आयौं । ६ महिनासम्म आन्दोलनमा रह्यौं,’ उनले भने,‘अहिले पनि जेलमा छन् । सांसद नै जेलमा छन् । झुठा आरोप लगाएको र फसाइएको छ ।’

त्यो आन्दोलनबारे विभिन्न मानवअधिकारवादी संस्थाहरूको प्रतिवेदनमा समेत राज्यले ज्यादती गरेको उल्लेख गरिएको अध्यक्ष ठाकुरले बताए । उनले भने, ‘प्रतिवेदन आएका छन् । राज्यद्वारा ज्यादती भएको छ । निस्पक्ष अनुसन्धान भएको छैन । निर्दोष जेलमा परेका छन् । भनेर त्यसमा लेखिएका छन् ।’

आन्दोलनको अध्ययन गर्न निष्पक्ष छानबिन गर्नका लागि आफूले माग गरेअनुसार आयोग बनेपनि त्यसको प्रतिवेदन नै सरकारले सार्वजनिक नगरिएको उनले गुनासो गरे ।

‘हामीले जुन आयोगको माग गरेका थियौं, लाल आयोग बन्यो, तर सार्वजनिक भएन् । ओलीजीले सार्वजनिक गर्नुभएन । अहिलेका प्रधानमन्त्रीलाई पनि पटकपटक भेटेका छौं,’ उनले भने ।

घटनाका दोषीलाई मुद्दा चलाउने/नचलाउने दायित्व सरकारको रहेको बताउँदै अध्यक्ष ठाकुरले सर्वसाधारण जनतासमक्ष सत्य कुरा आओस् भन्ने चाहना अनुसार त्यो प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर