पूर्वएआईजीको अनुभव- चुनावमा कसैलाई जिताउन र हराउन कसरी हुन्छ प्रहरीको दुरुपयोग ? – Nepal Press

पूर्वएआईजीको अनुभव- चुनावमा कसैलाई जिताउन र हराउन कसरी हुन्छ प्रहरीको दुरुपयोग ?

आफ्नै अनुभवबाट सुरु गरौँ । म त्यतिबेला डीएसपी थिएँ । दरबन्दी थियो पुलिस एकेडेमीमा । तत्कालीन आईजीपीले संवेदनशील जिल्ला रहेकाले थप मद्दतका लागि जाउ भन्दै नवलपरासी पठाउनु भयो । म त्यहाँ पुगेपछि नवलपरासीका तत्कालीन एसपीले तिमी जिल्लाको सबै हेर भन्नुभयो ।

आईजीपीबाट भर्खरै बिदा भएका ध्रुवबहादुर प्रधान, नेपाली कांग्रेसका देवेन्द्रराज कँडेल चुनावी मैदानमा थिए । तराईमा चुनावको केही दिन पहिलादेखि साडी, पैसाहरु बाँड्ने गरिन्छ भन्ने सुनेको थिएँ । प्रधान समूहले साडी बाँडिरहेको सूचना आएपछि हामीले सूक्ष्म निगरानी गरिरहेका थियौं । नभन्दै साडी बाँड्नेहरु पक्राउ परे । पक्राउ परेपछि प्रधान समूहबाट पनि सूचना आयो–कँडेलको समूहले पनि साडी बाँडिरहेको छ । नभन्दै त्यस्ता गतिविधि गरिरहेको समूहका केही व्यक्ति पक्राउ परे । तर अब फसाद पर्‍यो ।

प्रधान समूहका मान्छे पो पक्राउ गर्नु भनेको, कहाँ कँडेल समूहका मान्छेलाई पक्राउ गरेको ? भनेर एसपी साबले नै भन्नुभयो । उहाँलाई माथिबाटै त्यस्तो निर्देशन रहेछ भन्ने थाहा पाएँ । तर म मान्ने खालको थिइनँ । भोलिपल्टै हृदयेश त्रिपाठीको क्षेत्रमा मलाई पठाइयो । त्यहाँ चौधरी थरका एक जना उम्मेदवारलाई सहयोग गर्नुपर्ने माथिबाटै निर्देशन रहेछ । एक–दुई हजारको मत तल–माथि हुँदा हृदयेश त्रिपाठीले जित्ने सम्भावना थियो । म बेलटारी इलाका प्रहरी कार्यालयमा पुगेको थिएँ ।

तीनवटा गाविसमा हृदयेश त्रिपाठीको बलियो पकड रहेछ । त्यहाँका ९५ प्रतिशत मतदाता उनको पक्षका रहेछन् । मतदानको अघिल्लो दिन साँझ ती गाविसमा प्रहरीहरु समेतलाई बन्धक बनाइएको सूचना आयो । म गाडी लिएर त्यहाँ पुगें । नभन्दै सादा पोशाकका दुई जना असई, एक जना हबल्दारसहित केही भारतीय गुण्डाहरु गाडीमा रहेछन् र उनीहरुलाई गाउँलेले घेरा हालेर बसेका रहेछन् ।

भारतीय गुण्डाहरुले गाउँलेलाई भोलिको निर्वाचनमा मतदान गर्न गए यस्तो हुन्छ, उस्तो हुन्छ भनेर थर्काइरहेका थिए । मैले उनीहरुलाई पक्राउ गरेर थुनेँ । यसबारे माथि रिपोर्ट पनि गरिनँ । त्रिपाठीजीले ५ सय मत अन्तरले चुनाव जिते । उनी पछिसम्म भनिरहन्थे– त्यो दिन तपाई आएर उनीहरुलाई पक्राउ नगरेको भए म चुनाव हार्थेँ होला ।

पञ्चायतकालमा पनि म चुनावमा खटिएको थिएँ । विराटनगरमा एकजना चर्चित व्यक्ति मेयरमा उठेका थिए । उनलाई हराउन दरबार नै लागिपरेको थियो । तत्कालीन जिल्ला प्रहरी प्रमुखलाई पनि त्यस्तै निर्देशन रहेछ । पछि मैले थाहा पाएँ– मतदान सकेर मतपेटिका लैजाने क्रममा प्रहरीले मतपेटिका नै परिवर्तन गरेको रहेछ ।

आफूले चाहेका सुरक्षाकर्मी र मतदान अधिकृतहरुलाई जिल्लामा लैजान चाहने राजनीतिक नेतृत्वहरुको नियत मैले बुझ्न पाएका यी केही उदाहरणमात्र हुन् । सीडीओहरुको सरुवामा पनि यस्तो नियत रहन्छ । सबै सीडीओहरु वा सबै सुरक्षाकर्मीहरु राजनीतिक दलहरुबाट प्रभावित भइहाल्छन् भन्न खोजेको होइन । तर एउटा सत्य के हो भने आफूले भनेको मान्न सक्नेलाई मात्र उनीहरु रुचाउँछन् । मेरो हकमा कसैले पनि यस्तो गर्ने आँट गरेन ।

‘यसो गरिनस् भने तेरो करिअरमा असर पर्ला है’ भन्ने खालका अप्रत्यक्ष धम्कीहरु नपाएको होइन । सुरक्षाकर्मीहरु आफै सचेत र व्यवसायिक भए कसैले पनि दुरुपयोग गर्न सक्दैन भनेर कम्तिमा म चाहिँ भन्न सक्छु । पारदर्शी र निष्पक्ष निर्वाचन राजनीतिक दलकै इच्छाशक्तिका विषय हुन् । राजनीतिक रुपमा ग्यारेन्टी गर्ने सुरक्षाकर्मीबाट अलिक बढी खतरा हुन्छ ।

निर्वाचन सुरक्षाको दुईवटा पाटो हुन्छन् । एउटा प्राविधिक पाटो जसलाई सेक्युरिटी कन्टेन्ट पनि भनिन्छ । सुरक्षा योजनाहरु बनाउने, सुरक्षा घेराहरु निर्माण गर्ने र सुरक्षाकर्मीहरु खटाउने काम यसभित्र पर्छन् । हामीसँग भएको जनशक्ति एकैपटक निर्वाचन गराउँदा अपुग छ । २१ हजार मतदान केन्द्रहरुमा म्यादी प्रहरी र नेपाल प्रहरीबाट खटिँदा एउटा मतदान केन्द्रमा ५/६ जनाभन्दा बढी भागमा पर्दैन । कुनै हुलहुज्जत भयो भने थेग्न सक्दैन । साधनस्रोतका हिसाबले भरपर्दो देखिँदैन । विश्वासका हिसाबले मात्र हाम्रो सुरक्षा व्यवस्थापन भइरहेको छ ।

यसपटक केही सकारात्मक पक्षहरु छन् । यसपटक के देखिन्छ भने विगतमा राजनीतिक रुपमा बहिष्कार गर्ने, बाटो तोडफोड गर्ने, हिंसात्मक गतिविधिहरु गर्नेहरुले पनि चुनावमा भाग लिएका छन् । त्यसैले त्यस्ता गतिविधिहरुबाट धेरै खतरा हुने देखिँदैन । फेरि स्थानीय निर्वाचनमा स्थानीय पहरेदारी पनि बढी हुन्छ । एकले अर्कोलाई चिनेका हुन्छन् । त्यहीँ मतदान र गणना हुने भएकाले स्थानीय पहरेदारी हुन्छ । डर के भने स्थानीयस्तरमा कुनै दलको बलियो पकड छ र अर्को कमजोर छ भने त्यहाँ मोनोपोलीको सम्भावना हुन्छ । मृत्यु भएकाको नाममा भोट हाल्नेदेखि मतदातालाई भोट हाल्नै रोक्नेसम्मका कामहरु हुन सक्छन् । त्यसमा सुरक्षाकर्मी र मतदान अधिकृतहरुलाई प्रभावमा पार्ने त छँदै नै छ ।

पछिल्लो समय राजनीतिक दलले निर्वाचनलाई महासंग्राम, महायुद्धका रुपमा घोषणा गरिरहेका छन् । जीवनमरणको सवाल हो पनि भन्छन् । उटपट्याङ अभिव्यक्ति दिन्छन् । द्वैष, आक्रोश, उत्तेजना फैलाउने खालको वातावरण बनाउँछन् । उट्पट्याङ छन् नेताहरु । त्यसमा उच्छृंखल छन् कार्यकर्ताहरु । चुनाव पनि कहीँ जित्नैपर्ने भन्ने हुन्छ र ? त्यसैले यो वैचारिक लडाइँभन्दा पनि राजनीतिक दलले आफ्नो प्रतिष्ठासँग जोडेर प्रस्तुत गर्ने र जसरी पनि जित्नैपर्छ भन्ने मानसिकता देखाइरहेका छन् ।

अघिल्लोपटक हामीले महालेखापरीक्षकको प्रतिवेदन हेर्‍यौं भने सबैभन्दा बढी भष्टाचार हुने ठाउँमा स्थानीय निकाय हो भनेर लेखिएको छ । आकर्षणको केन्द्र बन्यो स्थानीय निकाय । त्यसैले डनहरुदेखि राजनीतिक दलका ठेकेदारहरु घुसिरहेका छन् । उनीहरु घुसेपछि राजनीतिक वातावरण त दूषित हुने नै भयो । अर्को सुरक्षा खतरा उम्मेदवारीका कारण देखिइरहेको छ । अन्य दलबाट भित्रिरहेका नेतालाई उम्मेदवारको टिकट दिने चलन बढ्दो छ ।

हिजोसम्म अर्को दलमा हुँदा वर्ग शत्रु, भ्रष्टाचारी, दलाल भएका मान्छे आज आफ्नो दलमा आउँदा उसले सहजै टिकट पाउन थाल्यो । दल छाड्नेलाई अर्को दलले ठाउँ नदिनेबित्तिकै अर्को खाले राजनीतिक संस्कारको विकास हुने थियो । राजनीतिक दलले उम्मेदवार छनोट गर्दा एक नम्बरमा आफ्ना नातेदार राख्ने भए । दोस्रो नम्बरमा अर्को पार्टीबाट आएकालाई राख्ने भए । तेस्रो नम्बरमा विचार नमिले पनि गठबन्धन गरेर अन्य दलकालाई उम्मेदवार मान्ने भए । यस्तो पोलिटिकल वातावरणमा दलभित्रै विद्रोह हुन्छ र वितण्डा मच्चाउँछन् । सुरक्षा चुनौती त्यहीँनेर हुन्छ । दलभित्र लामो समयदेखि दुःख गरिरहेकाले हाम्रो भाग खाइदियो भन्ने अवस्थामा त्यहाँ द्वन्द्व बढ्न सक्छ । राजनीतिक अभ्यास धुमिलिँदै गयो भने सुरक्षा चुनौती पनि बढ्दै जान्छ ।

राजनीतिक वातावरण दूषित बन्दै जानु परिस्थिति चुनौतीपूर्ण हुनु हो । ‘हातमा दही जमाएर नबस’, ‘निलो सेना’, ‘रातो सेना’ जस्ता अभिव्यक्तिहरुले राजनीतिक माहोल बिगार्छन् । हामीले निर्वाचनका आचारसंहिताले यस्ता गतिविधिलाई बाँध्न सकेका छैनौं । जथाभावी बोल्ने, पैसा बाँड्ने जस्ता गतिविधिमा रोक नलाग्दा जसले जे पनि गर्न सक्ने हुन्छ । चुनाव भन्ने कुरा मतदाताको मतले जितिने हो । हुँदै नभएका मतदाताका नाममा मत हाल्ने, मत पेटिका फेर्ने, सुरक्षाकर्मी र मतदान अधिकृतहरु मिल्ने एउटा विषय हुन् ।

अर्को त्यत्तिकै डरलाग्दो विषय भनेको मतदातालाई प्रभावित पार्ने पनि हो । उनीहरुलाई भोट हाल्न जानबाट रोक्ने वा आफूले भनेकै ठाउँमा भोट हाल्न लगाउने शक्ति पनि चुनावमा सक्रिय हुन्छ । राजनीतिक दलहरुले मनी एन्ड मसल दुवै प्रयोग गर्न खोज्छन् । मसलका रुपमा डर–त्रास नै हो । खासमा चुनाव भनेको गुन्डाहरुको लागि दशैँ–तिहारजस्तो समय हो । मतदातालाई छेक्नेदेखि धम्क्याउनसम्म उनीहरु प्रयोग हुन्छन् ।

सेटिङका सुरक्षाकर्मी रहेछन् भने उनीहरुले पक्षधरका गुन्डाहरुलाई केही गर्दैनन् । विपक्षीकालाई लखेटिहाल्छन् । अझ दुर्गम ठाउँ रहेछ र थप सुरक्षाकर्मी आउन समय लाग्ने छ भने मनी एन्ड मसलको ज्यादती झन् चर्को हुन्छ । मतदाताले भयरहित वातावरणमा आफूले चाहेको पार्टीलाई भोट हाल्न पाउनुमात्र नभएर मतदान धाँधलीरहित बनाउनुपर्ने चुनौती पनि उत्तिकै हुन्छ ।

(भण्डारीसँग नेपाल प्रेसकर्मी लोकेन्द्र प्रसाईंले गरेको कुराकानीमा आधारित ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.