शनिश्चरेका सुकुम्बासीको पीडा: माटोमा पसिना आफ्नो, पुर्जा अर्कैको – Nepal Press

शनिश्चरेका सुकुम्बासीको पीडा: माटोमा पसिना आफ्नो, पुर्जा अर्कैको

शनिश्चरे । रामबहादुर लिम्बूको परिवारले मोरङको पथरी शनिश्चरे ९ कुसेमा बसोबास गरेको ४३ वर्ष भयो । पूर्वी पहाडी जिल्ला ताप्लेजुङबाट परिवारसहित तराई झरेका ८५ वर्षीय लिम्बूको परिवार २०३५ सालदेखि त्यस ठाउँमा बसोबास गर्दै आएको छ । तर, वर्षौंदेखि आफूले भोगचलन गर्दै आएको १० कट्ठा जग्गाको धनीपुर्जा लिम्बूसँग छैन ।

उनको परिवारले झोडा फाँडेर कुसेमा बसोबास थालेको थियो । उनले यो बीचमा धेरै नेतालाई भोट दिएर जिताए । तर, लिम्बूले कहिल्यै धनीपुर्जा पाएनन् । तत्कालीन समयमा जंगल फाँडेर बसोबास गरेका लिम्बूसँग भोट माग्न आएका सबैजसो नेताले जग्गाको धनी बनाउने आश्वासन दिए । तर, भोट दिएकै चार दशक बितिसक्यो । उनले पाएको आश्वासन पूरा भएको छैन । अब त उनलाई चुनावमा भोट माग्न आउने नेतामा विश्वास लाग्नै छोडेको छ ।

‘म तन्नेरी अवस्थामा यस ठाउँमा जंगल फाडेर बसेको हो’, लिम्बूले भने, ‘अब त शरीर पनि पाको भइसक्यो । छोरानाति हुर्के । तर, वर्षौंदेखि आफैले भोगचलन गरेको जग्गाको मालिक हुन सकेको छैन् ।’

चुनावताका नेता आउँछन् । समस्या समाधान गरिदिने आवश्वान दिन्छन् । तर निर्वाचनपछि समस्या भुल्ने गरेको उनको गुनासो छ ।

पथरी शनिश्चरे– ९ का शुभजसपाल लिम्बू ७३ वर्ष पुगे । त्यहाँ बस्न थालेको पनि ०३६ सालदेखि हो । उनी पनि अझैसम्म आफूले जोतभोग गरेको एक विघा १० कठ्ठा जमिनको धनी बन्न सकेका छैनन् । दुई नाति र चार नातिनी भएका उनले आफ्नो लालपुर्जा अर्कैको हातमा रहेकोसमेत सुनेको बताए । कोसँग छ ? उनीसँग जवाफ छैन । शुभसजपाललाई एउटै कुरा मनमा सधैंभरि खडकिरहन्छ, ‘मर्ने बेलामा धनीपुर्जा देख्न पाए सजिलै प्राण जाने थियो ।’

मोरङको पथरी, शनिश्चरे, हसन्दह र बयरवनका धेरै परिवार चार दशकदेखि जग्गाको दोहोरो स्वामित्वको विवादमा अल्झेका छन् । स्थानीय प्रशासनले पटकपटक विवाद समाधान गर्ने प्रयास गरेको छ । तर, सफलता हात लागेको छैन ।

साविकका पथरी र शनिश्चरे जोडेर नगरपालिका बनेको छ । तत्कालीन बयरबन गाविस अहिले कानेपोखरी गाउँपालिकामा पर्छ । यी सबै ठाउँ अहिले मोरङको निर्वाचन क्षेत्र नम्बर ३ मा समावेश भएको छ । दोहोरो स्वामित्व विवाद रहेको हसन्दह भने क्षेत्र नम्बर २ मा पर्छ । जग्गा एउटै, स्वामित्व र भोगचलनमा फरक–फरक व्यक्ति हुँदा समस्या रहेको छ । मोरङको खासगरी पथरी शनिश्चरे, हसन्दह र बयरवनका धेरै परिवारले ४० वर्षदेखि भोगिरहेको समस्या हो यो ।

पथरी शनिश्चरे, कानेपोखरी गाउँपालिकाका करिब ३० हजार किसानले पञ्चायतकालदेखि अहिलेसम्म दोहोरो स्वामित्वको समस्या भोग्दै आएका छन । करिब एक हजार बिघा जमिनमा द्वैध स्वामित्व छ । तीन दशकदेखि भोग गर्दै आएको जग्गा नछाड्ने अडानमा सुकुम्बासी परिवार छन् । सट्टाभर्ना पाएकाहरू भने जसरी पनि आफ्नो जग्गा प्राप्त गरेरै छाड्ने मनस्थितिमा छन् । भोग गर्दै आएकाहरूले घरधुरी कर तिरेको प्रमाण पनि सुरक्षित राखेका छन् ।

यहाँको सुकुम्बासी समस्या र दोहोरो स्वामित्व सदाका लागि अन्त्य गर्ने प्रतिबद्धता जनाएर भरतमोहन अधिकारी, भानुभक्त ढकाल, शिवमाया लिम्बूलगायतका नेताहरु मन्त्री पनि बने । तर, सरकारमा पुगेपछि प्रतिबद्धता भुल्ने गरेको स्थानीय तिलिहाङ लिम्बू बताउँछन् ।

‘यो ठाउँमा हजुरबाको पालादेखि बसेको अहिले नातिसम्म आइपुग्दा पनि जग्गाको धनीपुर्जा हात परेको छैन’, ४३ वर्षीय लिम्बूले भने, ‘आफैले वर्र्षाैंदेखि भोगचलान गरेको जग्गाको धनीपुर्जा नहुँदा बेचविखनदेखि बैंकको ऋण पाउनबाट समेत बञ्चित भएका छौं ।’

यहाँ अहिले जग्गाको मूल्य उच्च छ । प्रायः सबै स्थानमा पक्की घरहरू निर्माण भइसकेका छन् । सडकहरु पनि प्रायः कालोपत्रे गरिएका छन् । त्यसैले द्वैध स्वामित्वको विवाद रहेकै घरजग्गाको बेचबिखन हुँदै आएको छ । त्यसले समस्या थप जटिल बनेको छ ।

सुकुम्बसी समस्या समाधान संघर्ष समिति पथरीका संयोजक जरमान लिम्बूले ३० वर्ष बढी भोगचलन गर्दै आएको जग्गा स्वतः उसैको हुने कानुनी व्यवस्था भएकाले अब कुनै पनि हालतमा आफू बसेको जग्गा खाली गर्न आफूहरु तयार नरहेको बताए ।

‘जंगल झाँरफाड गरेर जोतभोग गर्दै आउने हामी अहिले कसरी भूमाफियालाई हाम्रो जग्गाको धनी पुर्जा दिनु भो सरकार ?’, उनको प्रश्न छ, ‘हामी बसेको देखीदेखी कसरी पुर्जा अरुलाई पास गरी दिनुभयो ?’

उनले आफूहरु गोली खान तयार रहेको तर जग्गा नछाड्ने दृढता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.