भोट माग्दै सिर्जना सिंहको आह्वान- मुख होइन, रुख हेर्नुस् – Nepal Press

भोट माग्दै सिर्जना सिंहको आह्वान- मुख होइन, रुख हेर्नुस्

'पिसाब गर्न पनि पैसा तिर्नुपर्ने कस्तो अचम्म ? म नि:शुल्क गराउँछु’

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले आफूले जितेको खण्डमा काठमाडौंलाई सुविधासम्पन्न, सुशासनयुक्त र सुरक्षित बनाउने दावी गरेकी छन् । २४ सै घण्टा आवागमन गर्न सकिने गरी शहरभित्र सुरक्षा व्यवस्था मिलाउने उनले आश्वासन दिइन् ।

कांग्रेसनिकट नेपाल तरुण दलले आयोजना गरेको चुनावी प्रचार कार्यक्रममा बोल्दै सिंहले काठमाडौंमा पानी पिउन र दिसापिसाब गर्न पनि पैसा तिर्नुपर्ने बाध्यताको अन्त्य गर्ने बताइन् ।

उनले भनिन्, ‘एक बोतल पानी पिउन पनि पैसा तिर्नुपर्छ । सार्वजनिक शौचालयमा पिसाब गर्न पनि पैसा तिर्नुपर्छ कस्तो अचम्म । म यो सबै नि:शुल्क गराउँछु ।’

उनले काठमाडौंलाई विश्वका पर्यटकहरू आकर्षित गर्ने उत्कृष्ट पर्यटकीय स्थल बनाउने योजना रहेको बताइन् । शहरभरि बिजुली र सीसीटीभीको व्यवस्था गरेर महिलाहरुले समेत सुरक्षित रुपमा आवागमन गर्न सक्ने बनाउने योजना उनले सुनाइन् ।

आफूलाई मात्र नभएर सबै वडामा कांग्रेसलाई विजयी गराउन आह्वान गर्दै सिंहले मतदातालाई भनिन्, ‘मुख होइन, रुख हेरेर भोट हाल्नुस् ।’

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर