महाधिवेशनपछि चाक्सीबारीमा पहिलो पटक पुगे गगन थापा, सिर्जनालाई मेयर जिताउन लिए पहल – Nepal Press

महाधिवेशनपछि चाक्सीबारीमा पहिलो पटक पुगे गगन थापा, सिर्जनालाई मेयर जिताउन लिए पहल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा पार्टीको १४ औँ महाधिवेशनपछि पहिलो पटक चाक्सीबारीस्थित सिंह निवासमा पुगेका छन् ।

महाधिवेशनमा डा. शेखर कोइराला समूहबाट गगन महामन्त्रीमा प्रतिस्पर्धा गरेका थिए । त्यस्तै प्रकाशमान सिंह प्यानलसहित सभापतिमा प्रतिस्पर्धा गरेका थिए ।

महाधिवेशनअघि एकै समूहमा रहे पनि महाधिवेशनमा सिंह–थापा दूरी बढेको थियो । आसन्न स्थानीय तहको निर्वाचन र काठमाडौं महानगरको सन्दर्भले दुई नेताबीच सार्थक संवादको थालनी भएको हो ।

प्रकाशमान पत्नी एवं कांग्रेस महासमिति सदस्य सिर्जना सिंह गठबन्धनका तर्फबाट काठमाडौं महानगरमा मेयरको प्रत्याशी रहेकी छिन् ।

काठमाडौंको चुनावी तयारी र रणनीतिबारे छलफल गर्न महामन्त्री थापा चाक्सीबारी पुगेका हुन् । १४ औँ महाधिवेशन अगाडि तत्कालीन संस्थापन इतर समूहको दर्जनौँ बैठक चाक्सीबारीमा हुने गरेका थिए ।

महाधिवेशनको दोस्रो चरणमा सिंहले शेरबहादुर देउवालाई समर्थन गरेपछि कोइराला पक्षका नेताहरू चाक्सीबारी जाने क्रम रोकिएको थियो । सिर्जनाको उम्मेदवारीले चाक्सीबारीमा फेरी राजनीतिक चहलपहल बढाएको छ ।

जित निश्चित छ : महामन्त्री थापा

चाक्सीबारी बैठकमा मूलतः काठमाडौं महानगरको चुनावी अभियान र प्रचारको रणनीतिबारे छलफल भएको थियो । छलफलमा महामन्त्री थापाले सिंहको जित निश्चित भएको बताए ।

प्रतिस्पर्धी उम्मेदवारको सार्वजनिक छविमाथि प्रश्न उठिसकेको भन्दै थापाले काठमाडौंका जनताले मेयरमा सिंहलाई जिताउने विश्वास व्यक्त गरे ।

उनले सिंह परिवारको सदस्य मात्रै नभएर एक राजनीतिक नेताको रूपमा सिंहलाई सबैले स्वीकार गरेको बताए ।

‘सिर्जना भाउजू सिंह परिवारको सदस्य मात्रै होइन । पद नलिएर पनि कांग्रेसमा कन्ट्रिब्युट गरेको मान्छे हो । भाउजूको जित सुनिश्चित नै छ’, थापाले भने ।

उनले प्रचार र चुनावी तयारीका लागि पर्याप्त समय लिएर छलफल गर्नुपर्ने बताएका थिए ।

को-को थिए बैठकमा ?

काठमाडौं महानगरको मेयरकी प्रत्याशी सिंहले नै चुनावी तयारीका लागि काठमाडौंका नेताहरूलाई बोलाएकी थिइन् ।

छलफलमा महामन्त्री थापा, पूर्व महामन्त्री सिंहसहित केन्द्रीय सदस्यहरू ध्यान गोविन्द रञ्जित, राजन केसी, प्रतिमा गौतम, पूर्व रक्षा मन्त्री भीमसेनदास प्रधान, काठमाडौं जिल्ला सभापति कृष्ण सबुज बानियाँ लगायत उपस्थित थिए ।

छलफलमा चुनावी सम्पर्क कार्यालय स्थापना, प्रचार समिति गठन, घरदैलो अभियान र घोषणापत्र लेखनबारे छलफल भएको थियो ।

बैठकमा केन्द्रीय सदस्य प्रतिमा गौतमले २०३६ सालदेखि नै राजनीतिमा सक्रिय रहेको तर पद नलिएको उम्मेदवारका रूपमा सिर्जना सिंहलाई जनताले स्वीकार गरिसकेको बताइन् ।

‘एमालेको उम्मेदवारको चरित्रमाथि प्रश्न उठेको बेला भाउजूको स्वच्छ छवि, ३६ सालदेखिको योगदान र काठमाडौंलाई व्यवस्थित बनाउने घोषणाले सबैको ध्यान खिचेको छ’, गौतमको भनाई थियो ।

बैठकमा पूर्व रक्षा मन्त्री भीमसेनदास प्रधानले स्वतन्त्र उम्मेदवार बालेन शाहको सन्दर्भ निकाल्दै यूथ जेनेरेसनको भोट बिग्रन नदिन घोषणापत्रमा सबै विषय समेट्नुपर्ने सुझाव दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर