को हुन् विराटनगर महानगरको मेयर दौडमा रहेका नागेश र सागर ? – Nepal Press

को हुन् विराटनगर महानगरको मेयर दौडमा रहेका नागेश र सागर ?

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा मुख्यतया गठबन्धन र एमालेका उम्मेदवारबीच कडा भिडन्त हुने देखिएको छ । विराटनगर महानगरेको मेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नागेश कोइराला र नेकपा एमालेबाट सागर थापा बलिया उम्मेदवार देखिएका हुन् ।

सत्ता गठबन्धनमा भागबन्डा हुँदा विराटनगरको मेयर काग्रेसको भागमा परेको थियो । गठबन्धनका मेयर उम्मेदवार नागेश राजनीतिक परिवारका सदस्य हुन् । कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला र नागेशबीच काका–भतिजको सम्बन्ध छ ।

कोइराला परिवारका सदस्य नागेश र वरिष्ठ नेता कोइरालाबीच ससुराली साइनोसमेत छ। नागेशकी श्रीमती र शेखरकी श्रीमती फुपू-भदैनी हुन् ।
कांग्रेसको भ्रातृ संगठन तरुण दल मोरङको कोषाध्यक्ष भएपछि सक्रिय राजनीतिमा आएका हुन नागेश । तरुण दलपछि उनी कांग्रेसको जिल्ला सचिव भए । अहिले उनी मोरङ कांग्रेस उपसभापति छन् ।

शेखरको नाताको मान्छे भएकाले नागेशले टिकट पाएको भन्दै कांग्रेसभित्र असन्तुष्टि देखिएको छ । विशेष गरी पार्टी सभापति शेरबहादुर देउवा समूहका वरिष्ठ नेताहरु मेयरको आकांक्षी भए पनि उनीहरुलाई ब्याक गरेर नागेशलाई टिकट दिएको भन्दै संस्थापन पक्षमा असन्तुष्टि देखिएको हो । जसका कारण नागेशलाई कांग्रेस वृत्तबाटै मत नआउने हो कि भन्ने आशंका बढाएको कांग्रेसका एक नेताले बताए । तर, उनी गठबन्धनको उम्मेदवार भएकाले विजय सुनिश्चित रहेको उनको दावी छ ।

यता विद्यार्थी राजनीतिबाट एमालेमा स्थापित युवा नेता सागर थापालाई पनि उतिकै सशक्त उम्मेदवारका रुपमा हेरिएको छ । सागर ३० वर्षदेखि एमालेको राजनीतिमा क्रियाशील छन् । उनले अनेरास्ववियु प्रारम्भिक कमिटीबाट राजनीति सुरु गरेका थिए । थापा अहिले एमाले महानगर कमिटी अध्यक्ष हुन् । झण्डै दुई कार्यकाल एमले महानगर हाँकेका थापा नेकपा हुँदा महानगर संयोजक थिए ।

थापा २० वर्षअघि देशकै चर्चित महेन्द्र मोरङ क्याम्पसमा अनेरास्ववियुको तर्फबाट एक्लै स्ववियू सभापति निर्वाचित भएका थिए । उनले दुई कार्यकाल स्ववियू सभापति जित्दा अहिलेका विराटनगरका मेयर भीम पराजुली कोषाध्यक्ष र सचिव थिए ।

यस्तो छ विगत

अघिल्लो निर्वाचनमा मेयरमा कांग्रेसका भीम पराजुली र उपमेयरमा इन्दिरा कार्की निर्वाचित भएका थिए । मेयरमा पराजुलीले २३ हजार ३१ मत, एमालेका विनोद ढकालले १७ हजार ३२१ र संघीय समाजवादी फोरमका उमेश यादवले १४ हजार ९५८ मत पाएका थिए ।

उपमेयरमा कांग्रेसकी कार्कीले २० हजार १४६ र माओवादीकी नमिता न्यौपानेले ११ हजार ५२४ मत पाएकी थिइन् । लोकतान्त्रिक फोरमकी सूची चौधरीले १० हजार ५३६ मत ल्याएकी थिइन् ।

गत चुनावमा एमालेले विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमसँग तालमेल गरेको थियो । उपमेयरमा लोकतान्त्रिक फोरमकी चौधरीलाई एमालेले समर्थन गरेको थियो ।

कांग्रेस एक्लैले चुनाव लडेको थियो । जसपा र माओवादीबीच पनि तालमेल भएको थियो । एमाले फुटेको र कांग्रेसमा पनि महाधिवेशनको असर राष्ट्रिय सभामा समेत देखिएकाले आसन्न स्थानीय चुनाव रोचक हुने स्थानीय नेताहरू बताउँछन् ।

यस्तो छ दलको गणित

विराटनगरमा १९ वडा छन् । अहिले १९ हजार ३८१ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार विराटनगरमा एक लाख ३३ हजार १४२ मतदाता छन् । २०७४ सालमा एक लाख १३ हजार ७६१ मतदाता थिए ।

२०७४ सालको निर्वाचनमा वामपन्थी मत एमाले र माओवादीको २४ हजार २१९ थियो । कांग्रेस र राप्रपाको २६ हजार १५१ थियो । त्यस्तै जसपाको १० हजार ९३२ थियो ।

यस पटक वामपन्थी दल विभाजित छन् । एमाले र माओवादीसँगै एकीकृत समाजवादीले सबै वडामा संगठन निर्माण गरिसकेका छन् । कांग्रेसमा गत निर्वाचनको भन्दा झण्डै साढे चार हजार मत फोरम लोकतान्त्रिकबाट थपिएको छ ।

राप्रपा पनि एक्लै चुनावमा गएको छ । मेयरमा प्रह्लाद शाहले उम्मेदवारी दिएकाले एमालेका थापालाई राप्रपाको साथ नहुने पक्कापक्की छ । यसरी हेर्दा सत्ता गठबन्धनका मेयर उम्मेदवार नागेश सशक्त उम्मेदवार हो भन्दा अत्युक्ति नहोला ।

विराटनगरको विरासत

अहिलेसम्म विराटनगरमा भएका चार वटा स्थानीय निर्वाचनमा दुई पटक कम्युनिष्ट र दुई पटक कांग्रेसले जितेका छन् । २०४३ सालमा जनपक्षीय उम्मेदवार भनेर वामपन्थी उम्मेदवार ध्रुवनारायण श्रेष्ठ मेयर निर्वाचित भएका थिए ।

त्यसपछि २०४८ सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार अशोक कोइराला विजयी भए । २०५४ सालको निर्वाचनमा एमालेका रमेशचन्द्र पौडेल मेयर बने । २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका भीम पराजुली विजयी भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर