महानगरमा देउवा-सिंह-कोइरालाबीच भागबन्डा, पौडेलले पाएनन् – Nepal Press
स्थानीय चुनाव

महानगरमा देउवा-सिंह-कोइरालाबीच भागबन्डा, पौडेलले पाएनन्

काठमाडौं । नेपाली कांग्रेसले महानगरपालिकाका उम्मेदवारहरूको टुंगो लगाउँदा पार्टीको आन्तरिक शक्ति समीकरणअनुसार भागबन्डा गरेको छ । भागबन्डाका क्रममा कांग्रेसको भागमा परेको ३ महानगरको प्रमुखमा सभापति शेरबहादुर देउवा, पूर्वउपसभापति प्रकाशमान सिंह र नेता डा. शेखर कोइरालाको समूहले १-१ जना पाएको छ ।

सभापति देउवानिकट चिरीबाबु महर्जनले ललितपुरको मेयरमा पुनः टिकट पाएका छन् । पूर्वउपसभापति सिंहकी श्रीमती सिर्जना सिंहले काठमाडौंको मेयर पाएकी छिन् भने नेता कोइरालानिकट नागेश कोइरालाले विराटनगर महानगरपालिकाको मेयरको टिकट पाएका छन् ।

उपमेयरतर्फ पोखरामा देउवानिकट सुरेन्द्रमान बिजुक्छेले टिकट पाउँदा भरतपुरमा कोइरालानिकट चित्रसेन अधिकारीले टिकट पाएका छन् । वीरगञ्जमा संस्थापन पक्षकै नेता इम्तियाज आलम उपमेयरको उम्मेदवार बनेका छन् ।

सिंह र कोइरालाले १४ औं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका थिए । दोस्रो चरणमा सिंहले देउवालाई समर्थन गरेका थिए ।

विराटनगरमा आफूनिकट केन्द्रीय सदस्य अमृत अर्याललाई मेयर बनाउन सभापति देउवाले अन्तिमसम्म प्रयत्न गरेपनि कोइरालाले अडान नछाडेपछि देउवा ब्याक भएका हुन् । संसदीय समितिमा परेर पनि वरिष्ठ नेता रामचन्द्र पौडेलले भने महानगरतर्फ कुनै भाग पाएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर