मेयरमा उठ्न नपाउने भएपछि यादवले छाडे जसपा – Nepal Press

मेयरमा उठ्न नपाउने भएपछि यादवले छाडे जसपा

विराटनगर । विराटनगर महानगरपालिको मेयरका आकांक्षी जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य उमेश यादवले पार्टी परित्याग गरेका छन् ।

गठबन्धनमा भएको सहमतिअनुसार मेयर नेपाली कांग्रेसको भागमा परेपछि उनले राजीनामा दिएका हुन् । पार्टीबाट टिकट नपाउने भएपछि असन्तुष्ट बनेका यादवले आज पत्रकार सम्मेलन गर्दै परित्यागको घोषणा गरेका हुन् ।

महानगरको उपमेयर जसपाको भागमा परेको छ ।

पत्रकार सम्मेलनमा उनले भने, ‘मेयरमा जसपा एक्लै लड्दा पनि जित्ने अवस्थामा गठबन्धन आवश्यक थिएन । कार्यकर्ताको भावना विपरीत गरिएको निर्णय मलाई स्वीकार्य नभएकाले पार्टी परित्याग गरेका हुँ ।’

उनले निर्वाचनमा आफू स्वतन्त्र हैसियतमा मेयरमा लड्ने बताए ।

गएको २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उम्मेदवार रहेका उनी नेपाली कांग्रेसका भीम पराजुलीसँग पराजित भएका थिए ।

सो निर्वाचनमा पराजुलीले २३ हजार ३१ मत ल्याएका थिए । एमालेका विनोद ढकालले १७ हजार ३२१ र संघीय समाजवादी फोरमका उमेश यादवले १४ हजार ९५८ मत पाएका थिए ।

गत चुनावमा एमालेले विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमसँग तालमेल गरेको थियो ।

उपमेयरमा लोकतान्त्रिक फोरमकी चौधरीलाई एमालेले समर्थन गरेको थियो ।

विराटनगरमा १९ वडा छन् । अहिले १९ हजार ३८१ नयाँ मतदाता थपिएका छन् ।

निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्क अनुसार विराटनगरमा मात्रै एक लाख ३३ हजार १४२ मतदाता छन् । २०७४ सालमा एक लाख १३ हजार ७६१ मतदाता थिए ।

०७४ सालको निर्वाचनमा एमाले र माओवादीको २४ हजार २१९ मत थियो । कांग्रेस र राप्रपाको २६ हजार १५१ थियो । यस्तै, जसपाको १० हजार ९३२ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर