उँभौली मनाउने तयारीमा जुटे बेलायतका किरात राई – Nepal Press

उँभौली मनाउने तयारीमा जुटे बेलायतका किरात राई

लण्डन । बेलायतमा बस्ने किरात राईहरूले गत वर्षहरूमा जस्तै यसपटक साकेला उँभौली धुमधामका साथ मनाउने भएका छन । आउँदो २८ मे मा बेलायतको वकिङस्थित ग्याम्वल्सलेन किरात हाउसमा भेला भएर संयुक्तरूपमा साकेलाको तयारी गरिएको हो ।

किरात राईहरुले हरेक वर्ष वैशाख पूर्णिमामा उँभौली र अन्न भित्र्याउन समय मंसिर पूर्णिमामा उँधौली मनाउने प्रचलन अनुरूप प्रवासमा आफ्नो परम्परा र संस्कृतिलाई निरन्तरता दिइएको किरात राई यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईले बताए ।

उँभौली मनाउन व्यवस्थापन सुरू भइसकेको व्यवस्थापन समितिका संयोजक तथा उपाध्यक्ष मेजर भुपजीत राईले बताए ।

उँभौलीमा १५ हजारभन्दा बढी किरात राईहरू सहभागी हुने साथै मञ्च व्यवस्थापन, साकेला थान व्यवस्थापन, सवारीसाधन पार्किङ, असहाय र अशक्तलाई बस्ने स्थान निर्माणलगायत आवश्यक कुराहरू भइरहेको उनले जानकारी दिए ।

साकेलामा किरात राईहरूको संस्कार झल्कने संस्कृति प्रदर्शनी समेत गरिने भएको छ । संस्कारलाई थप जीवन्त दिन साकेला प्रतियोगिता पनि आयोजना गरिने र त्यसमा १३ वटा प्राकसहरू सहभागी हुने आयोजकले बताएको छ ।

बेलायतमा नेपाल र भारतपछि किरात राईहरूको जनघनत्व धेरै छ । यहाँ राईहरू २० हजारभन्दा माथि बसोबास गरिरहेको तथ्यांक छ ।

मानिस, जनावर तथा चराचुरुङ्गी बेसीतिरबाट लेकतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्राउने समय मंसिर पूणिमामा उद्यौली र बाली नाली फलो फुलोस रोगव्याधी नलागोस् भनी सुम्निमा पारुहाङसँग प्रार्थना गर्न वैशाख पूर्णिमामा उँभौली मनाउने प्रचलन छ ।

साकेला चाडलाई किराँत समुदायले आफ्नो मुख्य चाडको रूपमा मान्दै आएका छन् । उँभौली पर्वमा विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ ।

उँधौली चाडलाई लिम्बुहरूले चासोक तङनाम, राईहरूले साकेला, याख्खाहरूले चासुवा र सुनुवारहरूले फोलस्याँदर भन्छन् ।

साकेला पर्वको अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाइ, दिदिबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल बजाउँदै साकेला नाच्ने चलन छ । विशेष किरातीहरुले आफ्नो घरको मुल चुलामा पुजा गरी साकेला थानमा पितृभूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाचिन्छ । हुर्रे हा हा , ‘सोई ढोले सोई ‘अर्को ढोले खै’ भन्दै यस दिन पारस्पारिक सामूहिक नृत्य तथा गीत प्रस्तुत गरिन्छ । साथमा परम्परागत बाजागाजाहरु एवं विशेषतः किराँत संस्कृतिको अमूल्य साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा आदि बजाईन्छ ।

बेलायतका किरात राईहरुले पनि एकैस्थानमा भेला भएर सामुहिक भूमि पुजा गर्ने गरेका छन । पछिल्लो समय गैरकिरातहरू पनि यो पर्वमा उत्तिकै साथ दिन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर