महिला आयोगमा लाखौं अनुगमन र इन्धन खर्च, पदाधिकारीहरूको ‘आफ्नै हात जगन्नाथ’ – Nepal Press

महिला आयोगमा लाखौं अनुगमन र इन्धन खर्च, पदाधिकारीहरूको ‘आफ्नै हात जगन्नाथ’

काठमाडौं । राष्ट्रिय महिला आयोगका पदाधिकारीहरुले आयोगको बजेटमा ‘आफ्नै हात जगन्नाथ’ गरेका छन् । नियुक्ति भएको एक वर्षको अवधिमै पदाधिकारीहरुले मनोमानी ढंगले अनुगमन भत्ता र इन्धनमा खर्च गरेका छन् । आयोगका अनुसार ५ जना पदाधिकारीहरुले एक वर्षको अवधिमा अनुगमन भत्ता र इन्धनमा करिब नौ लाख रुपैयाँ खर्चेका हुन् । पेश्की बुझेको रकम जोडे, यो रकम अझै बढ्ने आयोगले बताएको छ ।

आयोगका अनुसार अध्यक्ष कमलाकुमारी पराजुलीसहित पाँच जना पदाधिकारीले नियुक्ति भएको एक वर्षमा अनुगमन तथा भ्रमणभत्ता र इन्धनमा आठ लाख ८३ हजार १८१ रुपैयाँ खर्च भएको रकम बुझेका हुन् ।

इन्धन खर्चमा सबैभन्दा धेरै पाँच लाख १३ हजार २७६ रुपैयाँ र अनुगमन भत्तामा तीन लाख ६९ हजार ९०५ रुपैयाँ पदाधिकारीहरुले बुझेको आयोगले जनाएको छ । आयोगका अनुसार यो चालू आर्थिक वर्षको पेश्की पछ्र्योटबाहेकको खर्चको विवरण हो ।

गत वर्ष तीन लाख ७८ हजार ३९७ रुपैयाँ इन्धन खर्च र अनुगमन भत्ता खर्च गरिएको थियो । चालू आर्थिक वर्षको पुस मसान्तसम्म पाँच लाख चार हजार ७८४ रुपैयाँ अनुगमन भत्ता र इन्धन खर्च पदाधिकारीले बुझेका हुन् ।

खर्च गर्ने मामलामा सदस्य पौडेल सबैभन्दा अगाडि

पाँच जना पदाधिकारीहरुमध्ये पनि सदस्य कृष्णाकुमारी पौडेलले खर्च गर्ने मामलामा सबैलाई उछिनेकी छन् । पौडेलले अनुगमन भत्ता तथा इन्धन खर्चमा भनेर एक वर्षमा दुई लाख ९८ हजार ३० रुपैयाँ बुझेकी छन् ।

दोस्रोमा विद्याकुमारी सिन्हा रहेकी छन् । उनले दुई लाख चार हजार १९ रुपैयाँ अनुगमन भत्ता र इन्धन खर्च बुझेकी छन् ।

आयोगकी अध्यक्ष पराजुलीले भने एक वर्षको अवधिमा एक लाख ८४ हजार ८७९ रुपैयाँ बुझेकी छन् । सदस्यद्वय सावित्रीकुमारी शर्मा र जया घिमिरेले क्रमशः एक लाख पाँच हजार ३४५ र ९० हजार ७३० रुपैयाँ खर्च गरेका छन् ।

आफ्नै गाडी हुँदा पनि इन्धन खर्चमात्रै सवा पाँच लाख

आयोगका अध्यक्षसहित पाँचै जना पदाधिकारीसँग आआफ्नै गाडी रहेको छ । तैपनि उनीहरुले इन्धन खर्चबापत मात्रै एक वर्षमा सवा पाँच लाख खर्च गरेका छन् ।

अनुगमनमा जाँदा पाँच लाख १३ हजार २७६ रुपैयाँ इन्धनमा खर्च भएको आयोगको विवरणमा उल्लेख छ । जसमा गत वर्षको दुई लाख ६१ हजार ७६४ र चालू आर्थिक वर्षको पुस मसान्तसम्म दुई लाख ५१ हजार ५०४ रुपैयाँ खर्च भएको छ ।

आयोगकी सदस्यद्वय जया घिमिरे र सावित्रीकुमारी शर्माले भने गत आर्थिक वर्षमा एउटा पनि अनुगमन तथा भ्रमण गरिनन् ।

पदाधिकारीले बुझे पौने चार लाख अनुगमन भत्ता

आयोगका पदाधिकारीले तलब सुविधाबाहेक एक वर्षमा अनुगमन भत्तामात्रै पौने चार लाख बुझेका छन् । आयोगका पाँचै जना पदाधिकारीले एक वर्षमा तीन लाख ६९ हजार ९०५ रुपैयाँ अनुगमन भत्ता बुझेका हुन् । जसमा गत वर्ष एक लाख १६ हजार ६२५ र चालू आर्थिक वर्षको पुस मसान्तसम्म दुई लाख ५३ हजार २८० रुपैयाँ भ्रमण भत्ता बुझेका छन् ।

सबैभन्दा धेरै अनुगमनभत्ता बुझ्नेमा पनि आयोगकी सदस्य पौडेल नै अगाडि छिन् । उनले आफ्नो नियुक्तिको एक वर्षमा ९७ हजार ४०० रुपैयाँ अनुगमन भत्ता बुझेको आयोगले जनाएको छ । उनले गत वर्षमा ५८ हजार १२५ र चालू आर्थिक वर्षको पुस मसान्तसम्म ३९ हजार २७५ रुपैयाँ अनुगमन भत्ता बुझेकी छन् ।

पौडेलेपछि सिन्हाले एक वर्षमा ८९ हजार ७५० रुपैयाँ अनुगमन भत्ता बुझेकी छन् । उनले गत वर्ष २७ हजार २५० र चालू आर्थिक वर्षमा ६२ हजार ५०० रुपैयाँ अनुगमन भत्ता बुझेकी हुन् ।

आयोगकी अध्यक्ष पराजुलीले भने एक वर्षमा ७४ हजार १७५ रुपैयाँ अनुगमन भत्ता बुझेकी छन् । उनले गत वर्ष ३१ हजार २५० र चालू आर्थिक वर्षमा ४२ हजार ९२५ रुपैयाँ अनुगमन भत्ता बुझेकी हुन् ।

आयोगकै सदस्य घिमिरेले चालू आर्थिक वर्षको पुस मसान्तसम्म ४१ हजार ८७५ रुपैयाँ र अर्की सदस्य शर्माले ६६ हजार ७०५ रुपैयाँ अनुगमन भत्ता बुझेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर