प्रचण्डले भने- प्रधानमन्त्रीको सल्लाहमै गभर्नर हटाइएको हो, अर्थमन्त्रीको मात्रै दोष छैन – Nepal Press

प्रचण्डले भने- प्रधानमन्त्रीको सल्लाहमै गभर्नर हटाइएको हो, अर्थमन्त्रीको मात्रै दोष छैन

कैलाली । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच सल्लाह भएको बताएका छन् ।

आज धनगढी विमानस्थलमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गभर्नरको विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीको सल्लाह भएको जिकिर गरेका हुन् । उनले सुरुबाटै गभर्नर र सरकारबीच तिक्तता पैदा भएकोसमेत बताए ।

‘सुरुबाटै गभर्नर र सरकारका बीचमा समस्या देखिएको हो । अर्थमन्त्री र प्रधानमन्त्रीले सल्लाह गरेर नै त्यस्तो निर्णय गरेको भन्ने प्रष्ट भइसकेको छ’, उनले भने, ‘१३ गते अदालतमा दुवैका कुरा आउँछन् । त्यसपछि मात्रै के भएको हो भन्न सकिन्छ । अहिले सकिँदैन ।’

४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो मंगलबार सर्वोच्च अदालतले खुलाइदिएको थियो ।

मंगलबार ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनू’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएपछि अर्थमन्त्रीमाथि नैतिक प्रश्न उब्जिएको थियो । अर्थमन्त्रीले राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला प्रचण्डले प्रधानमन्त्रीको सल्लाहमा त्यस्तो निर्णय भएको बताएका हुन् ।

पत्रकार सम्मेलनमा उनले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने विश्वाससमेत व्यक्त गरेका छन् । उनले भने, ‘वैशाख ३० गते निर्वाचन हुन्छ । देश निर्वाचन प्रक्रियामा गइसकेको छ । यो निर्वाचनलाई स्वच्छ निष्पक्ष र धाँधलीरहित बनाउनु पर्छ ।’

महानगरपालिका र उपमहानगरपालिकाका विषयमा गठबन्धनमा भएका सहमतिहरू कार्यान्वयनमा समस्या नरहेको उनको बुझाइ छ । केही स्थानीय तहमा विवाद भएको स्वीकार्दै उनले छलफलबाट समाधान निस्कने दाबी गरे ।

‘धेरै थोरै असन्तुष्टिको कुरा सुनिनु लोकतन्त्रको सुन्दरता हो’ उनले भने ‘यसले परिणाम परक पर्दैन । उनीहरू शान्त हुन्छन् । गठबन्धनले लोकतन्त्रको रक्षाको लागि गरेको रहेछ भन्ने बुझ्छन्।’

सुदूरपश्चिममा सबै क्षेत्रका तालमेल गर्ने र सहमति नभएका ठाउँमा मित्रवत् प्रतिस्पर्धा हुनसक्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर