भोजपुरमा भागबण्डा टुंगिएलगत्तै गठबन्धनमा विवाद, माओवादीमा असन्तुष्टि सुरू – Nepal Press
स्थानीय चुनाव

भोजपुरमा भागबण्डा टुंगिएलगत्तै गठबन्धनमा विवाद, माओवादीमा असन्तुष्टि सुरू

काठमाडौं । भोजपुरमा सत्तारुढ गठबन्धनले स्थानीय तहमा उम्मेदवारीको भागबण्डा टुंग्याएका छन् ।

करिब एकसातादेखिको चरणचरणको छलफलबाट आज सिट बाँडफाँट टुंगिएको हो ।

नेपाली कांग्रेस, माओवादी, नेकपा एस र जनता समाजवादीले २ नगरपालिका, ७ गाउँपालिका र जिल्ला समन्वय समिति प्रमुख उपप्रमुखको बाँडफाँट गरेका छन् ।

सहमति अनुसार भोजपुर सदरमुकाम रहेको भोजपुर नगरपालिका मेयरमा कांग्रेस र उपमेयर नेकपा एसले पाएको छ । यहाँ २०७४ को चुनावमा एमालेबाट जितेकी ममिता राई उपमेयर छिन् । पछिल्लो समय नेकपा एसमा आएकी उनी समाजवादी केन्द्रीय उपाध्यक्ष जयन्ती राईको नाता पर्छिन् । उनैलाई दोहोर्‍याउने गरी नेकपा एसले उपमेयर दाबी गरेको हो । यहाँ कांग्रेसका कैलाश आलेले मेयर जितेका थिए ।

त्यस्तै षडानन्द नगरपालिका प्रमुखमा कांग्रेसले मेयर र माओवादीले उपमेयर पाएको छ । २०७४ को चुनावमा यहाँ नेपाली कांग्रेसबाट वीरबल राई मेयर भएका थिए । उपमेयर एमालेकी मेरिका राईले जितेकी थिइन् ।

टेम्केमैयुङ गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा भने गठबन्धन दलबीचमै कुरा बाझिएको छ । माओवादी नेता अजम्बर काङमाङले नेकपा एसलाई अध्यक्ष र उपाध्यक्ष कांग्रेसलाई दिने निर्णय भएको भन्दै सूची पोष्ट गरेका छन् । तर, कांग्रेसका नेताहरूले आफूलाई अध्यक्ष र नेकपा एसलाई उपाध्यक्षमा कुरा टुंगिएको बताए ।

टेम्केमैयुङमा माओवादी र कांग्रेसको कुरा बाझिएपछि अहिले सामाजिक सञ्जालमा माइन्यूट उल्टाइएको भन्दै टिक्काटिप्पणी बढेको छ ।

२०७४ मा नै यहाँ सबै दल एक हुँदा पनि एमालेले अध्यक्ष-उपाध्यक्षसहित बहुमत वडा जितेको थियो । माओवादीले एक मात्र जितेको वडा नम्बर ६ का अध्यक्ष सूर्य नेपाल एमालेमा आइसकेका छन् । नागीको वडाध्यक्षमा भने जसपाले जितेको थियो । यहाँ एमालेले पुन: ध्रुवलाई अध्यक्षमा अघि सारेको छ । एमालेबाट उपाध्यक्ष जितेकी इन्द्रावती राई अहिले एसमा गएकी छन् ।

रामप्रसादराई गाउँपालिकामा माओवादीले अध्यक्ष र उपाध्यक्ष कांग्रेसले लिएको छ । अघिल्लो चुनावमा यहाँ अध्यक्ष एमाले र उपाध्यक्ष माओवादीले जितेको थियो । ७४ मा अध्यक्षमा ८ मतले पराजित माओवादीका थामबहादुर राई ‘निर्माण’ लाई माओवादीले उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

त्यस्तै २०७४ को निर्वाचनमा अध्यक्ष-उपाध्यक्षसहित बहुमत वडाध्यक्ष एमालेले जितेको हतुवागढी गाउँपालिकामा कांग्रेसलाई अध्यक्ष र माओवादीलाई उपाध्यक्ष दिने गरी सिट बाँडफाँट गरिएको छ । यहाँ पनि एमालेविरुद्ध सबै दल एक हुँदा गत चुनावमै एमालेका प्रेमकुमार राईले अध्यक्ष जितेका थिए ।

पौवादुङ्मा गाउँपालिकामा अध्यक्षमा माओवादी र उपाध्यक्ष कांग्रेसले पाउने सहमति बनेको छ । यहाँ एमालेले जितेको थियो ।

साल्पासिलिछो गाउँपालिकामा पनि कांग्रेसलाई अध्यक्ष र माओवादीले उपाध्यक्ष निर्णय भएको छ । ७४ मा यहाँ कांग्रेसका उम्मेदवार महेश राईले अध्यक्ष जितेका थिए ।

अरुण र आमचोक गाउँपालिकामा भने कांग्रेस र माओवादी दुवैले सिंगल-सिंगल लड्ने सहमति जनाएका छन् । यसअघि अरुणमा बहुसंख्यक वडासहित कांग्रेस र आमचोकमा माओवादीले जितेको थियो । आमचोक प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईको गृहपालिका हो ।

गठबन्धन दलका जिल्ला र केन्द्रीयस्तरका नेता बैठकमा ।

जिल्ला समन्वय समिति प्रमुख जनता समाजवादी पार्टी (जसपा) र उपप्रमुख माओवादीलाई दिने गरी गठबन्धनमा निर्णय गरिएको एक नेताले बताए ।

जसपाले हतुवागढी र टेम्केमैयुङ दाबी गरेको थियो । उसलाई जिसस दिएर सहमत गराइएको छ ।

जिल्लामा सौहार्दपूर्ण वातावरणमा गठबन्धन अघि बढेको कांग्रेस भोजपुरका सभापति विनोद बान्तवाले बताए । उनले पालिका प्रमुख-उपप्रमुखको सिट बाँडफाँट टुंगिएसँगै अब तल्लो तहसम्म छलफल गर्न सजिलो भएको बताए ।

‘ ७ सालको प्रजातन्त्रिक लडाइँदेखि नै भोजपुर राजनीतिमा चिरपरिचित जिल्ला हो । विभिन्न कालखण्ड हेर्दा यहाँको हरेक निर्णयमा दलहरू उदाहरणीय र सक्षम देखिएका छन्’, बान्तवाले नेपाल प्रेससँग भने, ‘गठबन्धनका सबै दल सहमति लागू गर्न प्रतिबद्ध छौं । यसलाई कायम राख्न चाहन्छौं । अब छिट्टै वडातहसम्मको टुंगिन्छ ।

माओवादीका केन्द्रीय नेता अजम्बर काङमाङले गठबन्धन दलहरूबाहिर तालमेल गरे पार्टीले सख्त कारबाही गर्ने बताए ।

माओवादीमा असन्तुष्टि सुरू

गठबन्धनमा भएको यो सहमतिसँगै माओवादीमा भने असन्तुष्टि देखिन थालेको छ । खासगरी भोजपुर नगरपालिका टेम्केमैयुङम गाउँपालिकामा दाबी छाडेको भनेर असन्तुष्टि चुलिएको हो । माओवादीले टेम्केमैयुङ उपप्रमुखमा दाबी गर्दै आएको थियो ।

‘नेकपा एसको जम्मा ३ सय मत छैन । हाम्रो सबै मत खन्याउनु पर्ने अवस्थालाई स्वीकार्न सकिन्न । हाम्रा धेरै साथीहरू यसमा असन्तष्ट छन् । यसले चुनावी परिणामलाई नै असर पार्नसक्छ’, माओवादीका एक नेताले नेपाल प्रेससँग भने ।

माओवादीका अर्का नेताले असन्तुष्टि जनाउँदै भने, ‘पोहोर पनि रुखमा र पुल्ठो (संघीय समाजवादी फोरम) मा हालियो टेम्केमैयुङमा माओवादी नै नभएजस्तो गर्छन् साथीहरू यसपाली देख्लान् ।’

उता भोजपुर नगरपालिकामा पनि माओवादीबाट शरण तामाङ ‘रविन’ ले मेयरको तयारी गरिरहेका थिए । स्रोतका अनुसार कारबाही भोग्न तयार रहेको भन्दै उनी पछि हट्ने मनस्थितिमा छैनन् ।

भूमिगतकालदेखिकै जिल्लामा प्रभावशाली मानिएका नेता मोहन किराती ‘मादेन’ ले गठबन्धनबीच भएको सहमतिको मसी सुक्न नपाउँदै माओवादी छाडेको घोषणा गरेका छन् । मादेन टेम्केमैयुङका हुन् ।

‘आजकै मितिबाट म नेकपा (माओवादी केन्द्र ) को सम्पूर्ण जिम्मेवारीबाट अलगलभएको घोषणा गर्दछु’, उनले फेसबुकमा लेखेका छन् ।

माओवादीको एक जमात भने एमालेसँग भित्री साँठगाँठको तयारीमा लागेको छ । यसमा जिल्ला पदाधिकारीदेखि तल्ला तहसम्मका कार्यकर्ता सामेल छन् । त्यसका लागि एक-दुई चरणमा कुरा भइसकेको एमालेका एक जिल्ला नेताले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर