एक पूर्णकालीन योद्दाको बकपत्र: जनयुद्धमा छोरो गुमाएँ, प्रचण्डलाई लाउन लगेको माला गेटमा बुझाएँ (भिडिओ) – Nepal Press

एक पूर्णकालीन योद्दाको बकपत्र: जनयुद्धमा छोरो गुमाएँ, प्रचण्डलाई लाउन लगेको माला गेटमा बुझाएँ (भिडिओ)

मेयर लडेका शिवको ॐ भोजनालयमा भातमात्र पाक्दैन, जनयुद्धको बहिखाता पनि खुल्छ

काठमाडौं । कमरेड ‘भास्कर’, ‘रन्जन’, ‘अन्जान’ अर्थात् शिव अधिकारी अहिले नयाँ बानेश्वरमा ॐ ओस्कार भोजनालय चलाउँछन् । भोजनालयमा आएका ग्राहकसँग जनयुद्धकै गफ गर्छन् । क्रान्तिका आयामबारे छलफल गर्छन् । परिवर्तनका खातिर रगतले गरिएका दस्तखतहरुको प्रसंग उप्काउँछन् ।

जनयुद्धमा बगेका आँसु अनि रगतको वहिखाता बोकेर ६० वरिपरि हिँडिरहेका छन् शिव । जनयुद्धका घाइतेहरुसँग सम्पर्कमा छन् । तर जनयुद्धका नाइकेहरु सम्पर्कमा छैनन् । यस्तै छ ॐ भोजनालयमा पाक्ने भोजनसँगै थपिने थरिथरिका ब्यञ्जन जस्तै मसला गफहरु ।

जनयुद्धको आफ्नै कथा भने उप्काउन चाहँदैनन् शिव । कसैले उप्काए भने हप्काउन खोज्छन् । उप्किहाले, आँसु थाम्न सक्दैनन् । रोइहाल्छन् । हामीसँग कुराकानीको सुरुवातमै शिवको जिब्रोेभन्दा पहिला आँखाबाट आँसु फड्कियो । केहीबेर बोल्न सकेनन् ।

बाबु छोरै होलटाइमर

२०६० साल, जनयुद्ध चरमोत्कर्षमा थियो । उनका युद्ध कमाण्डर प्रचण्डको भाषामा ‘दुश्मनको ढाडमा टेकेर टाउकोमा हान्ने’ रणनीतिक प्रत्याक्रमणका एक योद्द थिए शिव । त्यसैबेला माओवादीका तर्फबाट बाबुराम भट्टराई र कृष्णबहादुर महरा र सरकारको तर्फबाट कमल थापा र प्रकाशचन्द्र लोहनीले तेस्रो चरणसम्म वार्ता गरेका थिए । त्यही वार्तापछि शिव २०६० सालमा केन्द्रीय कारागारबाट छुटे ।

शिव मात्रै छुटेनन्, उनका छोरा रमेश अधिकारी पनि छुटे । जनयुद्धमा बाबु र छोरा दुवै उत्तिकै भिडेका थिए ।

शिव थानकोटमा आयल निगमको कर्मचारी थिए । साथसाथै माओवादी जनयुद्ध केन्द्रित पोस्टरहरु पनि रातिराति टाँस्दै हिँड्थे । त्यही सूचनाका आधारमा उनलाई अफिसबाटै पक्राउ गरिएको थियो । अनि सूर्यविनायक आर्मी ब्यारेकमा लगिएको थियो । र त्यसपछि केन्द्रीय कारागारमा लगिएको थियो ।

जनयुद्धमा बगेका आँसु अनि रगतको वहिखाता बोकेर ६० वरिपरि हिँडिरहेका छन् शिव । जनयुद्धका घाइतेहरुसँग सम्पर्कमा छन् । तर जनयुद्धका नाइकेहरु सम्पर्कमा छैनन् । यस्तै छ ॐ भोजनालयमा पाक्ने भोजनसँगै थपिने थरिथरिका ब्यञ्जन जस्तै मसला गफहरु ।

शिवको छोरा रमेश माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको भक्तपुर क्याम्पसमा सचिव थिए । माओवादी आन्दोलन र कार्यक्रमका लागि सामानहरु ल्याउने लाने गर्थे रमेश । शिवलाई पक्राउ गरेको सात दिनपछि रमेशलाई पनि गाउँबाटै पक्राउ गरिएको थियो । र भद्रगोल जेलमा राखिएको थियो ।

सुरुवातमा प्रहरीले ‘हतियार देखा’ भनेर चरम यातना दिएको थियो शिवलाई । पछि सेनाले चाहिँ ‘तँ इँटा भट्टाहरु बन्द गराउने ?’ भन्दै यातना दिएका थिए । शिव सुनाउँछन्, ‘त्यसबेला मलाई मार्ने लाइनमा थिए उनीहरु । मार्ने भनेर जिल्ला सुरक्षा परिषदमा कागज गराउन जाँदा सुरेन्द्रप्रताप शाहले यस्तो मान्छेलाई मार्नु हुँदैन भनेकाले म बाँचेको थिएँ । हामीजस्तो हजारौं परिवारले यस्तो दुःख भोगेका छन् । संसारभरका क्रान्ति निर्मम छ । सबैले त्याग र बलिदान गर्नुपर्छ ।’

सुरेन्द्रताप शाह भक्तपुरका राप्रपा नेता र मनोनित जिल्ला विकास समितिका सभापति थिए ।

शिव २०४२–४३ सालदेखि नै राजनीतिमा सरिक थिए । नेकपा एमालेको गाउँ कमिटी सचिव थिए । तर, एमालेबाट परिवर्तन सम्भव छैन भनेर माओवादीतिर लागे । भन्छन्, ‘लाखौं मान्छे लामबद्ध भएर ज्यानको पर्वाह नगरी क्रान्तिमा होमिन्छ भने म किन नहोमिने भनेर लागेँ ।’

माओवादीमा लागे पनि शिवलाई सबैले शंकाको दृष्टिले हेर्थे । एमालेको कार्यकर्ता भएकाले सीआईडी हो कि भनेर शंका गर्थे । जेलबाट छुटेपछि पनि उनलाई सबैले शंकालु व्यवहार नै गरे । जनयुद्ध नसकिँदासम्म शिव शंकाकै घेरोभित्र परे ।

जेलबाट छुटेको छोरो शहीद भयो

२०६० सालमा बाबुछोरा जेलबाट छुटेपछि फेरि जनयुद्धमा सरिक भए । शिव गाउँगाउँमा जनसरकार बनाउँदै हिँडे । छोरो पनि भूमिगत बनेर हिँड्यो ।

सेनाले काठमाडौंबाट माओवादीलाई लखेटिरहेको थियो । एक गाउँमा सक्रिय भएर अर्को गाउँमा गएर बास बस्ने पार्टीको नीति थियो । अनि सुरक्षकर्मीलाई बोलाएर कारबाही गर्ने नीति लिएको थियो । तर, शिवका छोरा रमेशहरु दुई दिनसम्म भूमेडाँडामा गएर बसे । पहिलो दिन निरीक्षणका लागि आएका सेनाले दोस्रो दिन आक्रमण गरिहाल्यो । एउटा घरमा बसेका रमेश लगायत छ जनालाई सेनाले भुटिदियो काभ्रेको चिसापानीमा ।

अज्ञात ठाउँको नौ महिनासम्मको यातनापछि शिवलाई हनुमानढोका ल्याइयो । अनि उनलाई नख्खु कारागार चलान गरियो । त्यहाँ मात्रिका यादव, कृष्ण केसी, सुरेश आलेमगर लगायतसँग भेट भएको थियो शिवको ।

पहिलो गिरफ्तारीबाट छुटेका रमेश दोस्रो आक्रमणमा शहीद भए । शिव पनि ०६१ साल, पुसमा अनामनगरबाट फेरि पक्राउ परे । ्

पार्टीकै काममा स्पेशल टास्क फोर्सको रुपमा काठमाडौं छिरेका थिए । दिउँसो दुईबजेतिर एकजना मान्छेसँग छलफल गरिसकेपछि बाहिर बाटोमा हिँड्दै गर्दा पक्राउ परे । शिव सुुनाउँछन्, ‘ती मान्छे सरकारी रहेछन् । बाहिर निस्केपछि चारैतिर घेरो हालेर पक्राउ गरे रामकुमार कार्की र मलाई । हुन त त्यसवेला ज्यानलाई माया मारेर काठमाडौं छिरेका थियौं ।’

त्यसपछि शिव र रामकुमारको अनुहार मुकुण्डो लगाइयो । हातमा हतकडी लगाइयो । उनीहरुलाई कता लगियो, पत्तो पाएनन् ।

२४ घण्टै उनीहरुको अनुहारमा मुकुण्डो हुन्थ्यो । २४ घण्टै उनीहरुको हातमा हतकडी हुन्थ्यो । दिसा पिसाब पनि सेनाको चाहना अनुसार हुन्थ्यो । त्यहाँ कतिसम्म यातना भयो, शिव सम्झनै चाहँदैनन् ।

ब्यारेकमा करङ भाँचियो, यातनाको त के कुरा

शिव सास रोकेर सुनाउँछन्, ‘त्यहाँ यातनाको हिसाब नै छैन । मेरा छातीका दुवै दुधका थुन काटिएका छन् । नांगेझार बनाएका थिए । छातीमा आतंककारी भनेर पोस्टर टाँसिदिए । फाइल बनाए । क्रुरताको चरम सीमा भेगेँ । अहिले मैले बाँचिरहेको जीवन त नाफाको जीवन हो ।’

शिवको दुईवटा करङ भाँचिएको छ । त्यहाँ अहिले पनि हावा पस्छ । शिवको अनुमान छ, भोलिका दिनमा बन्दुक चलाउन नसकोस् भनेर त्यसो गरिएको होला । करङ भाँचिएको शिवलाई पहिले थाहा थिएन । छाती बेस्सरी दुखेपछि घस्रिएर हिँडेका थिए । पछि अस्पतालमा एक्सरे गर्दा मात्रै थाहा पाएका थिए ।

‘सिंगो शरीरमा रोल लगाएको छ । सिंगो शरीर घाइते छ । कहाँ कहाँको घाउ देखाउँ ?,’ शिव दुःखी भएर सुनाउँछन्, ‘जनयुद्धमा जेल परेका सबैको हालत यस्तै छ । जेल परेका कसैले पनि काम गर्न सक्दैनन् । बोल्न चाहिँ सक्लान् । उनीहरु बोलेको पनि कुनै समय हिँडेको थिएँ भन्ने एग्रेसनले मात्रै हो ।’

अज्ञात ठाउँको नौ महिनासम्मको यातनापछि शिवलाई हनुमानढोका ल्याइयो । अनि उनलाई नख्खु कारागार चलान गरियो । त्यहाँ मात्रिका यादव, कृष्ण केसी, सुरेश आलेमगर लगायतसँग भेट भएको थियो शिवको ।

‘ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि अन्तर्राष्ट्रिय मानवअधिकार कानून पालना गर्छु भने । सँगै १२ बुँदे सहमति भयो । त्यसकारण मात्रै मुकुण्डो खोलिएको थियो । तर, ज्ञानेन्द्रले सत्ता हातमा नलिएको भए मारिने थिएँ,’ शिव भन्छन्, ‘प्रचण्डले १२ बुँदे सहमति नगरेको भए मलाई नमारे पनि जन्मकैद तोकिएको मान्छे हो । त्यही १२ बुँदेले हामीजस्तो मान्छेलाई बाँच्ने वातावरण बनाइदिएको छ ।’

आफूलाई माओवादीको होलटाइमर कार्यकर्ता भएको बताउँछन् शिव । पार्टीले आत्मनिर्भर हुनुपर्छ भन्ने मान्यता राखेकाले चाँगुनारायणका शिवले नयाँ बानेश्वरमा भोजनालय चलाइरहेका छन् । भन्छन्, ‘तर धेरै मान्छेको अंगभंग भएको छ । धेरैले गोली खाएका छन् । देशैभरि क्षति भएको भएको छ । यदि परिवर्तन भएको भए पीडालाई बिर्सन सकिने अवस्था हुन्थ्यो । तर, पीडाहरु झनै बल्झन्छन् ।’

शिव गएको स्थानीय निर्वाचनमा माओवादीबाट चाँगुनारायण नगरपालिकाको मेयरमा उठे । उनी पराजित भए । तर पनि भन्छन्, ‘मेरो जीवन नै माओवादी पार्टी हो । प्रचण्ड भइन्जेल म कार्यकर्ता हो ।’

शिव गएको स्थानीय निर्वाचनमा माओवादीबाट चाँगुनारायण नगरपालिकाको मेयरमा उठे । उनी पराजित भए । तर पनि भन्छन्, ‘मेरो जीवन नै माओवादी पार्टी हो । प्रचण्ड भइन्जेल म कार्यकर्ता हो ।’

साथै पार्टी र नेतृत्वबारे भन्छन्, ‘पार्टीको नीति संसदीय व्यवस्थामा टेक्ने भन्ने मात्रै थियो । संविधानसभा भनेको कांग्रेसको नारा थियो । पार्टी संविधानसभामा प्रवेश ग¥यो । त्यहाँ प्रवेश गरेपछि आर्थिक रुपमा सबै रुमल्लिए । आर्थिक नभई चुनाव जित्न सकिँदैन । चुनाव नजिति सत्तामा पुग्न सकिँदैन । सत्तामा नपुगी परिवर्तन हुँदैन भन्नेमा पुग्यो । त्यसले पार्टीलाई भ्रष्टिकरणमा लगिदियो । पैसा नभइ चल्न सकिँदैन भनेर लागे सबै ।’

माला फालेर खुमलटारबाट खुइय गर्दै फर्किए

गत वैसाख १ गते शिव र उनकी श्रीमती लक्ष्मी अधिकारी पार्टी अध्यक्ष प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार गएका थिए । उनीहरुलाई अध्यक्षसँग भेटघाट गर्नु थियो, नयाँ वर्षको शुभकामना पनि दिनु थियो । तर, शिव र लक्ष्मीले अध्यक्षलाई भेट्न पाएनन् । गेटबाटै फर्काइए । अनि श्रीमतीले रुँदै भनिन्, ‘छोरालाई हाँसीहाँसी बिदाइ गरेकी थिएँ । छोरो शहीद भयो । मेरो छोरो शहीद हुनुमा भन्दा अध्यक्षलाई भेट्न नपाउँदा दुःख लाग्यो । अबदेखि कहिले पनि आउन्नँ ।’

त्यहाँ भएका मानिसहरुले शिव र लक्ष्मीलाई भने, ‘सल्यान, रुकुम, रोल्पा लगायत देशभरिका मान्छे आउँदा त भेट्न पाइँदैन यहाँ । तपाईंहरु के भेट्न पाउनुहुन्थ्यो र !’ मानिसहरुका कुराले शिवको मन झनै अमिलो बन्यो । अनि आफ्नै मनलाई थुमथुमाए, ‘अध्यक्षको पनि पीर मर्का थियो होला । छुट्टी थिएन होला ।’

अनि श्रीमतीलाई सम्झाए, ‘उहाँ सञ्चो हुनुहुन्न होला । फेरि हामीले भेटेर पनि के हुन्छ र !’

शिव १ गतेको नमीठो पल सम्झँदै भन्छन्, ‘मेरो व्यक्तिगत स्वार्थ पनि केही थिएन । अब भेट्न पाइएन, सकियो । उहाँलाई भेट्नका लागि त स्पेशल समय लिएर जानुपर्ने रहेछ ।’

लक्ष्मीले अध्यक्ष प्रचण्डका लागि फूलको माला पनि किनेर लगेकी थिइन् । शिवले त्यो माला श्रीमतीको हातबाट लिए । अनि त्यहाँ भएका मान्छेलाई दिँदै भने, ‘अध्यक्ष ज्यूलाई शुभकामना भनिदिनुस् है !’

तस्बिर/भिडिओ : नविनमुनी स्थापित


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर