जनमोर्चाले सार्वजनिक गर्‍यो घोषणापत्र, के-के समेटिएको छ ? – Nepal Press

जनमोर्चाले सार्वजनिक गर्‍यो घोषणापत्र, के-के समेटिएको छ ?

रुपन्देही । स्थानीय तहको निर्वाचन नजिकिएसँगै राष्ट्रिय जनमोर्चाले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरी संघीयता खारेज गरौँ भन्ने मूल नारा लिएको जनमोर्चाले चुनावमा भने ५ दलीय गठबन्धनबाटै अगाडि जाने जनाएको छ ।

एमसीसी पारित भएपछि ५ दलीय गठबन्धनमा सरकारलाई सहयोग नगरे पनि चुनावमा सत्ता गठबन्धनकै साथमा भाग लिने जनाएको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुटवलमा आगामी स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै नेपालमा सङ्घीय शासन प्रणाली छोटो अभ्यासबाटै असफल भएको पुष्टि भइसकेको बताए ।

केसीले संघीयताका कारण नेपालमाथि दिन प्रतिदिन आर्थिक बोझ थपिँदै गएकोले संघीयता खारेजी आफ्नो पार्टीको प्रमुख एजेण्डा भएको बताए ।

संघीयताकै कारण २०६२÷६३ सालको ऐतिहासिक जनआन्दोलनका उपलब्धिमाथि र नेपालको कम्युनिस्ट आन्दोलनमाथि नै खतरा रहेको औँल्याउँदै स्थानीय तहलाई अधिकार सम्पन्न बनाएर अहिलेको संघीयता खारेजी गर्नुपर्ने उनले बताए ।

स्थानीय तह नै जनताका समस्या, सेवा तथा विकाससँग प्रत्यक्ष रूपमा जोडिने भएकोले जनताको सेवा, विकास तथा स्थानीय सत्ताको पूर्व अभ्यासका लागि यसलाई बलियो बनाउनुपर्ने उनको भनाई छ ।

नेता केसीले स्थानीय तहलाई कमजोर गरेर प्रदेशलाई बलियो बनाउने प्रवृत्ति बढेको भन्दै प्रदेशलाई खारेज गरेर स्थानीय तहको अधिकार तथा जनताका स्थानीय स्वशासनको अधिकारलाई सुनिश्चित गर्नुपर्ने र त्यसो गर्दा अहिलेको आर्थिक भार पनि घट्ने उनले बताए ।

केसीले एमसीसीलाई संसदबाट पारित गरिएका कारण आफ्नो पार्टी पाँच दलीय गठबन्धनबाट अलग हुनु परेको भन्दै स्थानीय निर्वाचनमा भने पाँच दलीय गठबन्धनसँग सहकार्य गर्ने नीति अपनाएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर