‘सके जति काम पाँच वर्षमै गरें, फेरि अध्यक्ष हुन चाहन्नँ’ – Nepal Press

‘सके जति काम पाँच वर्षमै गरें, फेरि अध्यक्ष हुन चाहन्नँ’

सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये आन्तरिक आम्दानी सबैभन्दा कम भएको लिसंखुपाखर गाउँपालिका हो । काभ्रे, दोलखा र रामेछापसँग सीमा जोडिएको यो गाउँपालिकामा नेकपा एमालेका तत्कालीन जिल्ला सचिव र हालका जिल्ला अध्यक्ष कमल नेपाल गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

गाउँपालिकाको सात वडामध्ये दुई वडा मात्रै एमालेले जितेको थियो । अर्थात कार्यपालिकामा उनीनिकट दलको बहुमत थिएन । तर पाँच वर्षे कार्यकालमा अल्पमत भएकोले काम गर्न नसकेको गुनासो नेपालले कहिले पनि गर्नु परेन । आन्तरिक आम्दानी कम भएपनि गाउँपालिकावासीले अपनत्व हुने गरेर धेरै जनमुखी कामको सुरुवात नेपालले गरे ।

मिलनसार र नम्र स्वभावका भएका कारणले पनि विपक्षीहरुले समेत उनलाई कहिले पनि प्रहार गर्न सकेनन् । अध्यक्ष नेपाल अब नेतृत्व नदोहोर्याउने पक्षमा छन् । उनै नेपालसँग पाँच वर्ष स्थानीय सरकारको प्रतिनिधि भएर काम गर्दाको समीक्षा, अनुभव र चुनावमा गरेका वाचा कति पूरा भए भन्नेबारे नेपाल प्रेसकर्मी दिनेश थापाले गरेको कुराकानी–

आफ्नो पाँचवर्षे कार्यकालको मूल्यांकन कसरी गर्नुभएको छ ?

पाँचवर्षे कार्यकाल अत्यन्तै कामकाजी, महत्वपूर्ण र उपलब्धीपूर्ण भएको छ । हामी निर्वाचित भएर आउँदा गाउँपालिका पूर्णतया नयाँ संरचना थियो । पहिला त हामी कसरी काम गर्ने भन्ने नीतिगत समस्या थियो र हामीले पहिलो प्रथामिकतामा नीति कार्यक्रम, ऐनलगायतका कार्यविधिहरु तत्काल गाउँसभाबाट निर्माण गरेर कामको सुरुवात भयो । भौतिक पूर्वाधारको हिसाबले हाम्रो आफ्नै भवन नभएकाले, आफ्नै भवन निर्माणको काम थालनी गरेर केही वर्षभित्रै आफ्नै भवनबाट जनतालाई सेवा दिन सुरुवात गरेका थियौं ।

हामीलाई सुरुमा नीतिगत हिसाबले नीति, नियम र ऐन कानून नै थिएन । यसको समस्या थियो । त्यस्तै संस्थागत क्षमता विकास गर्ने काम र तेस्रो, जनशक्ति अभावलाई पूरा गर्न हामी सुरुका वर्षहरुमा लागेका थियौं । हामी धेरै चुनौतीबीच निर्वाचित भएका थियौं । हामीसँग कार्यालय सञ्चालन गर्ने भौतिक संरचना नै थिएन । प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत मात्रै कर्मचारी थिए ।

हामीले माथिल्लो निकाय र हामी आफैंले पनि विस्तारै सबै समस्याहरु समाधान गर्दै गएका थियौं । समग्रमा भन्नु पर्दा ५ वर्षे कार्यकाल अत्यन्तै उत्साहप्रद, उपलब्धीमूलक र ऐतिहासिक रह्यो भन्ने बुझाइ छ । र समग्रमा हाम्रो कार्यकाल पूर्णरुपमा सफल भएको छ ।

गाउँ गाउँमा सिंहदरबार भनेपछि जनताले हामीसँग धेरै अपेक्षा गरेका थिए । चुनावका क्रममा जाँदा पनि जनताले हामीसँग धेरै माग गरेका थिए । ती सबैलाई सम्बोधन गरेर जानुपर्ने थियो । हामी असफल पनि हुन सक्थ्यौं, तर हामी सबै चुनौतीलाई सामना गरेर अघि बढेकाले हामी सफल भएका हौं ।

चुनावमा गरेको प्रतिबद्धता कति पूरा भए ?

हामीले चुनावमा जाँदा बोलेका सबै कुरा यो अवधिमा पूरा भएको छ । पूर्वाधारका क्षेत्रमा धेरै कामहरु भएका छन् । जनताको बढी माग सडक विकासमा थियो, त्यही भएर हामीले पहिलो काम सडक निर्माणमा लागेका थियौं ।

अहिले सबै बस्ती बस्तीमा सडक पुगेको छ । हामी आउँदा जनता पालमुनि थिए, भुकम्बाट लडेका घरहरु अहिले पुननिर्माण सम्पन्न भएका छन् । अस्थायी टहरोबाट स्थायी छानोमुनि ल्याउनुपर्ने प्रमुख चुनौती थियो । विद्यालय भवनहरु सबै ढलेका थिए, अहिले सबै निर्माण सम्पन्न भइसकेका छन् । स्वास्थ्यका भवनहरु केही निर्माण सम्पन्न भएका छन् भने केही निर्माणको चरणमा रहेका छन् । वडा कार्यालयका भवनहरु अत्यन्तै अव्यवस्थित थिए, अहिले हामीले सबै वडा कार्यालयहरुलाई व्यवस्थित बनाएका छौं ।

खानेपानी, सिञ्चाइँलगायत भौतिक शीर्षकमा धेरै कामहरु यो ५ वर्षमा भएका छन् । जनतालाई दैनिक आवश्यक पर्ने सेवालाई चुस्त र दुरुस्त बनाउनका लागि हामीलिे धेरै मेहनत गरेका छौ । सकेसम्म जनतालाई दुःख नहोस् भनेर हामीले ध्यनपूर्वक काम गरेका थियौं । यो संरचना सामूहिकरुपमा चल्ने हो । मैले व्यक्तिगत रुपमा मात्रै चलाउने होइन । त्यसकारण यो ५ वर्ष मूल्यांकन गर्नुपर्दा हाम्रो गाउँपालिकाको टिम सौहादपूर्ण स्वस्थ ढंगले परिचालित भएको र त्यसैको कारण हामीले उपलब्धी हाँसिल गर्न सफल भएका छौं । म यो कुर्सीमा बस्दै गर्दा यति सफल भइन्छ होला भनेर सोचेको पनि थिइनँ । तर अहिले फर्केर हेर्दा हाम्रो कार्यकाल ऐतिहासिक रुपमा सफल भएको छ ।

दीर्घकालीन महत्व राख्ने काम चाहिँ के गनुभयो ?

हामीले दीर्घकालका रुपमा समेत गाउँपालिकालाई काम गर्न सजिलो होस् भनेर सडकको गुरुयोजना निर्माण गरेका छौं । हामीले २० वर्षसम्म सडकको अवस्था कता पुर्याउने भनेर सडकको गुरुयोजना र धेरै सडकहरुको डीपीआर तयार बनाएका छौं ।

भवन संहिताको मापदण्ड बनाएका छौं । आर्थिक रुपमा गाउँपालिकालाई समृद्ध बनाउनका लागि त्यसका लागि पनि आर्थिक गुरुयोजना बनाएका छौ । धेरै नीति कानून, ऐन नियमहरु बनाएका छौ । गाउँपलिकाको अर्काे भव्य भवन निर्माणको सुरुवात गरेका छौ ।

पर्यटकीय क्षेत्रहरुको निर्माणको लागि माथिल्लो सरकारसँग समेत मिलेर काम सुरु गरेका छौ । गाउँपालिकासम्म आउने सडक कालोपत्रेको काम सुरु भएको छ । जेठल, पेड्कुलगायतका स्थानमा जाने सडकहरु कालोपत्रे सुरुवात भएको छ । गाउँपालिकामा दुईवटा अस्पताल निर्माण सुरु गरिएको छ ।

केही दिर्घकालिन कामहरुको सुरुवात गरेका छौ भने केही काम जनताको दैनिकीसँग जोडिएर समस्या समाधानका लागि हजारौ कामहरु यो ५ वर्षमा भए ।

मूलतः जनताका आकांक्षा कस्ता हुँदा रहेछन् जनप्रतिनिधिसँग ?

हामी जनताका प्रतिनिधि भएकाले गाउँ, बस्तीमा जाँदा उहाँहरुले अहिले पनि धेरै माग, गुनासोहरु गर्नुहुन्छ । विकास गर्ने, हाम्रो समस्या समाधान गर्ने, यही जनप्रतिनिधि हो भनेर हामीसँग उहाँहरुको माग हुन्छ । सडक, खानेपानी, सिंचाइँ यस्तै पूर्वाधारको काममा उहाँहरुको बढी माग आउँछ । तर गाउँमा जाँदा आार्थिक रुपमा कसरी समृद्ध हुन सकिन्छ, त्यसको माग चाहिँ स्थानीयले त्यति धेरै गरेका छैनन् । हामी कसरी धनी हुने, व्यक्ति कसरी धनी हुने, आय आर्जनमा कसरी लाग्ने, यस्ता विषयमा जनताको ध्यान कम छ । जनताको बढी माग विकास निर्माणसँग नै सम्बन्धीत छ ।

विकासका काममा भएका प्रगतिहरु बताइदिनुस् न !

हामी निर्वाचित भएर आएपछि र स्थानीय सरकारमा आएको अधिकारी पछि शिक्षा, स्वास्थ्य, खेलकुद, खानेपानी, सिञ्चाइलगायत अन्य पूर्वाधारमा धेरै कामहरु भएका छन् । कतिपय कामहरु सम्पन्न भएका छन् भने कतिपय सम्पन्न हुने क्रममा रहेका छन् ।

शिक्षामा गुणस्तर ल्याउने उद्देश्यले हामीले तालिम, शिक्षण सामग्रीहरु विद्यालयलाई प्रदान गरेका छौ । स्थानीय पाठ्यक्रम निर्माणको काम अन्तिम चरणमा पुगेका छ । विद्यालयमा पुस्ताकलय, आइटी, विज्ञान प्रयोगशाल, विद्यालयको घेराबार, दरबन्दी अपुग भएका विद्यालयमा दरबन्दी मिलन लगायतका धेरै काम भएका छन् ।

स्वास्थ्यमा हामीले दुईवटा अस्पताल गाउँपालिका भित्र निर्माणको सुरुवात गरेका छौं , अझ कोरोना कहरका बीचमा हामीले जनतालाई बचाउने धेरै कामहरु गरेका छौ । सुत्केरी र गर्भवती महिला लक्षित नयाँ कामको सुरुवात गरेका छौं ।

खेलकुद क्षेत्रमा पनि हामीले एक वडा एक खेलमैदानको अवधारणा सारेर कामहरु गरेका छौं । केही वडामा खेलमैदानहरु निर्माण सम्पन्न भएका छन्, केही वडामा आगामी वर्ष निर्माण हुने चरणमा रहेको छ । हामीले गाउँपालिकाभित्र रंगशाला निर्माणका लागि प्रदेश सरकार सँग आग्रह गरेका छौं । गाउँपालिका भित्रका ९० प्रतिशत घरधुरीलाई खानेपानीको पहुँच भित्र ल्याएका छौं ।

जनतालाई धनी बनाउने कार्यक्रमहरु चाहिँ गाउँपालिकाले केही गरेन त ?

होइन, हामीले लिसंखुपाखरबासीको आयआर्जनमा वृद्धि गर्ने, यहाँका जनतालाई धनी बनाउने गरेर धेरै कार्यक्रमहरु सुरु गरेका छौ । गाउँपालिका आफैले अध्यक्ष उद्यमशीलता कार्यक्रम सुरुवात गरेको छ । यसमा जनताले १ प्रतिशत ब्याजदरमा १ लाखदेखि १० लाखसम्म ऋण लिएर गाउँमा नै उद्यम गर्न सक्छन् । अहिले धेरैले यो कार्यक्रममार्फत ब्याज अनुदानमा रकम लिएर गाउँमा उद्यम सुरु गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्ष विपन्न उत्थान उद्यमशील विकास कार्यक्रमको सुरुवात भएको छ । यसमा दुई सयभन्दा बढीलाई एक वर्षमा अनुदान दिने योजना रहेको छ । उहाँहरुले आफ्नो सीपअनुसारको काम गर्नका लागि अनुदान दिन्छौं ।

कम्तिमा तीन रोपनीमा तरकारी खेती गर्नेहरुलाई ३० हजारसम्म अनुदान दिने सुरु गरेका छौ । कृषि क्षेत्रको विकासका लागि विभिन्न यान्त्रिक उपकरणहरु हामीले दिएका छौं । त्यस्तै प्रदेश र संघको पनि आयआर्जनसँग सम्बन्धीत धेरै योजनाहरु थिए । हामीले त्यो पनि जनतालाई दिएका छौं । हामीले जनतालाई विस्तारै धनी बनाउने कामहरुका सुरुवात गरेका छौं । त्यसको प्रतिफल अहिले नै देखिँदैन होला तर विस्तारै त्यसको प्रभाव र उपलब्धी देखिन्छ ।

मुडेको आलुलाई व्यवस्थित बनाउनका लागि गाउँपालिकाले केही योजनाहरु नबनाएको आरोप छ नि ?

त्यो विल्कुल होइन । हामीले हाम्रो गाउँपालिकाको समृद्धिको मुख्य आधार नै कृषि देखेका छौं । त्यसैले यहाँ उत्पादन हुने आलुलाई अझै व्यवस्थित गर्नका लागि पहिलो वर्ष प्रदेश सरकारसँगको साझेदारितामा ५० लाख विनियोजन गरेका थियौं । हामीले आलु ब्राण्डिङ गर्ने, प्याकेजिङ गर्ने र समूहमार्फत त्यो कार्यन्वयन गर्न खोजेका थियौं । पहिलो वर्ष त्यो धेरै सफल हुन सकेन । हामीले मुडेको आलुलाई प्याकेजिङ र ब्राण्डिङका लागि थप बजेट विनियोजन गरेका छौ ।

आलुलाई मात्रै होइन, गाउँपालिकामा उत्पादन हुने अन्य तरकारीहरु एकै ठाउँमा संकलनका लागि हामीले प्रत्येक वडामा तरकारी संकलन केन्द्र बनाएका छौं । र जनताले उत्पादन गरेका तरकारी निःशुल्क ढुवानीको सुरुवात समेत गरेका छौ । यहीको आलुलाई लक्षित गरेर हामीले प्रदेश सरकारसँग साझेदारीमा कोल्ड स्टोर निर्माणको सुरु गरेका छौ ।

कृषि क्षेत्रमा परिवर्तन गर्ने उद्देश्यले गाउँपालिकाले धेरै कामको सुरुवात गरेको छ । तर त्यसका लागि जनतामा चेतनास्तरको वृद्धि हुनुपर्छ । त्यसो भएमा मात्र हामीले सुरु गरेका योजनाहरुले सार्थकता पाउँछ ।

यो अवधिमा चाहेर पनि गर्न नसकेको काम केही छन् ?

हामीले चुनावमा जनतासँग गरेका सबै वाचा पहिलो वर्ष नै पूरा गरेका छौ । तर जनताको माग हरेक वर्ष थपिदै जाँदो रहेछ । जनताको बीचमा जाँदा धेरै ठूला माग नै आउँदैनन् । आएका सबै मागहरु पहिलो वर्ष नै पूरा भए । हामीले केही सडकहरु कालोपत्रे गर्छौं भनेका थियौं, त्यो सकिएन । अर्काे २१ किलोदेखि वाफलसम्मको सडक स्तोरन्नति र कालोपत्रे गछौं भनेका थियौं, त्यो पनि आंशिक मात्रै पूरा भएको छ ।

अर्काे हाम्रो गाउँपालिकामा केही वडाहरुमा अहिले पनि गुठीको समस्या रहेको छ । त्यसलाई समाधान गर्न सकिएन । त्यसका लागि संघीय सरकारसम्म धेरैपटक हामी गएका थियौं । तर पनि त्यो पूरा गर्न सकिएन । जनताले भनेका र मागेका अन्य सबै कामहरु पूरा गरेका छौं ।

तपाईं आवद्ध दलको प्रदेश र संघमा पनि सरकार थियो । तीनै तहमा आफ्नै पार्टीका सरकार हुँदा पनि गाउँपालिकामा किन धेरै बजेट आएन त ?

प्रदेश सरकारमार्फत हाम्रो गाउँपालिकामा करोडौंका बजेटहरु आएका छन् । २१ किलोदेखि गाउँपालिकासम्म आउने सडक कालोपत्रे हुँदैछ । अन्य चार वटा सडकहरु कालोपत्रे निर्माणमा प्रदेश सरकारले नै बजेट पठाएको हो । अन्य धेरै संरचनाहरु निर्माणमा प्रदेश सरकारले करोडौं बजेट पठाएको छ र कार्यान्वयन पनि भइरहेको छ । प्रदेशको तुलनामा संघबाट चाहिँ कम बजेट नै आएको हो ।

अन्य स्थानीय तहभन्दा आफ्नो गाउँपालिकाको नयाँ र फरक लाग्ने काम केही भयो त ?

अरु गाउँपालिकासँग म तुलना गर्दीनँ । उहाँहरुले पनि धेरै राम्रो कामहरु गर्नुभएको छ । हामीले कृषिमा परिवर्तन ल्याउने हिसाबले अनुदानको सुरुवात गरेका छौं । हुन त अनुदान दिने व्यवस्था राम्रो होइन तर हामीले यसको प्रभावकारिता बढ्ने हिसाबले काम गरेका छौं । अर्काे अध्यक्ष उद्यमशीलता कार्यक्रम, जुन १ प्रतिशत ब्याजदरमा १ लाखदेखि १० लाखसम्म ऋण दिन सुरु गरेका छौं । सडक र पूर्वाधारका क्षेत्रमा पनि केही नयाँ कामहरुको सुरुवात गरेका छौं । यी काम नयाँ नै हुन् ।

तपाईं नेकपा एमाले सिन्धुपाल्चोकको अध्यक्ष पनि हुनुहुन्छ । फेरि गाउँपालिकाको अध्यक्षमा दोहोर्याउने सोच बनाउनु भएको छ कि छैन त ?

म यो कुर्सीमा बसेको दिन नै भनेको थिएँ– म यो कुर्सीमा ५ वर्ष बस्ने हो, जनताको अपेक्षा पूरा गर्ने, अधिकतम सम्बोधन गर्ने र अर्काे ५ वर्षको लागि नजाने । मेरो सुरुदेखिकै कुरा यही हो । अब नेतृत्वको पनि विकास गर्नुपर्छ । एउटै मान्छेले मात्रै दाबी गरिरहनु हुँदैन ।

विकासमा नयाँ कामको लागि पनि नयाँ मान्छे चाहिन्छ । हामीले धेरै कामको थालनी गरेका छौं । अर्काे जनप्रतिनिधि आएपनि हामीले थालनी गरेका कामको निरन्तरता नै हुन्छ । यो कामहरुलाई निरन्तरता दिन म नै आउनु पर्छ भन्ने छैन । अब नयाँ प्रतिबद्धता र घोषणापत्र लिएर नयाँ कामको साथ अरु साथीहरु आउनु हुन्छ ।

नैतिक हिसाबले पनि अब मलाई टिकट दिनुहोस भनेर भन्दिनँ । राजनीतिमा नैतिकताको पनि कुरा हुन्छ । म टिकटको दाबी गर्ने सोचमा छैन । तर पार्टीले जर्बजस्ती निर्णय गरेर ‘तँ’ नै जानुपर्छ भन्यो भने म टिकट च्यातेर हिँड्निँ । किनभने म पार्टीको कार्यकर्ता हो । बाध्यात्मक परिस्थितिबाहेक म रिपिट हुँदिन ।

 


प्रतिक्रिया

One thought on “‘सके जति काम पाँच वर्षमै गरें, फेरि अध्यक्ष हुन चाहन्नँ’

  1. उहाँको कार्यकालमा जनताको माग अनुसार साना, मझौला खालका पुर्वाधारको यथोचित ब्यवस्था गर्न सक्नु भएको मा कहिलेंकाही म आफू पनि अचम्मित भएं होइन कसरी मागे बमोजिम योजना बाँडफाँड गर्न सकेको हो अन्य भएको भए यति सुक्ष्म रुपले ब्यवस्थापन गर्न पक्कै पनि सक्थिंदैन थिए होला । यो भुकम्पले थिल्थिलो भएको र ३ बर्ष कोरोना कहरको अवस्थामा पनि यति बिघ्न बिकासको फड्को मार्न सफल भएकोमा सम्पुर्ण पालिका टिमलाई मुरि मुरि धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर