भोलिदेखि मेलम्चीको पानी सुरुङमा भर्न सुरु गर्ने, उद्घाटन गर्न तँछाडमछाड – Nepal Press

भोलिदेखि मेलम्चीको पानी सुरुङमा भर्न सुरु गर्ने, उद्घाटन गर्न तँछाडमछाड

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले  मंगलबार मेलम्चीको पानी सुरुङमा भर्न सुरु गर्ने तयारी गरेको छ । टनेल सफा गर्ने काम सकिएपछछि भोलि बिहानदेखि सुरुङमा पानी भर्न सुरु गर्न लागिएको हो ।

गत असार १ गते आएको बाढीले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो । मुख्य मुहानमा बाढीले क्षति पुर्‍याएपछि मेलम्चीको पानी फेरि काठमाडौं ल्याउन सकिन्छ कि सकिँदैन भन्ने अन्योल बढेको थियो ।

बाढीले पुरेको संरचना सफा गरेर अस्थायी रूपमा पानी ल्याउन सकिने भएपछि चैत मसान्तसम्म काठमाडौंमा पानी ल्याउने लक्ष्यकासाथ मुहानमा थुप्रिएको गेग्र्यान हटाउन थालिएको थियो ।

पानी पठाउनका लागि मुख्य गेट अर्थात् ९ नम्बर गेट बन्द गरिसकेकोले भोलि बिहान सुरुङमा भर्न सुरु गरिने समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले नेपाल प्रेसलाई बताए ।

उनले भने,’ पानी पठाउन तयारी गरेका हौँ । कसरी पठाउने भन्ने कुरा मात्रै हो । पानी पठाउने भन्दा नि भर्न सुरु गर्ने हो । सानोतिनो प्राविधिक कामहरू मात्रै बाँकी छ । भोलिसम्म हामी पानी हाल्नलाई तयार छौँ ।’

प्रोटोकल अनुसार २६० देखि २६५लिटर प्रतिसेकेण्डका दरले टनेलमा हाल्नुपर्ने हुन्छ । सुरुमा २६५ लिटर प्रतिसेकेण्ड भन्दा बढी पानी नहाल्ने उनले बताए । टनेल भरिसकेपछि मात्रै पुरै पानी हाल्ने समितिले जनाएको छ ।

उनका अनुसार अझै थोरै काम बाँकी नै रहेको छ । तर भोलि बिहान पानी भर्न दबाब परेकाले आज रातिसम्म बाँकी काम सक्नुपर्ने दबाबमा समिति रहेको उनले बताए ।

भोलिबाट पानी टनेलमा पानी हाल्न सुरु गरे पनि काठमाडौं पुग्न समय लाग्छ ।

कार्यकारी निर्देशक भन्छन्,’भोलि बिहान टनेलमा पानी हाल्न सुरु गर्छौ । यो हालेर काठमाडौं एकैचोटी जाने होइन क्यारे । हाम्रो गेटहरू बन्द गरेको छौँ । क्रमशः पानी हाल्दै हाल्दै जाने हो ।’

मुख्य गेटबाट पानी भर्न सुरु गरिएपछि मुख्य टनेल भरिएपछि ग्याल्थुम पुग्छ । ग्याल्थुम पुगेपछि ग्याल्थुमको गेट बन्द गर्नुपर्छ । ग्याल्थुमको टनेल भरिएपछि सिन्धुको गेट बन्द गर्ने त्यसपछि सुन्दरीजल पुगिसकेपछि सबै गेट बन्द गरेर मात्रै काठमाडौंमा पानी पुग्ने उनको भनाइ छ ।

सुन्दरीजलबाट फेरि पानी फर्केर अम्बाथान नै पुग्छ । त्यसपछि भने सुरुङको क्षमता अनुसार पानी पठाइन्छ । प्रतिदिन १७ करोड लिटर पानी हाल्ने भनिए तापनि त्यसको लागि १० देखि १५ दिन लाग्छ । गत वर्ष पनि दैनिक ७ करोड लिटर पानी पठाउन १५ दिन लागेको थियो ।

उनका अनुसार बिचमा टनेल भित्र पनि पानी हुने भएकाले २६५ लिटर भन्दा बढी हुन सक्छ । टनेल लिकेजहरु भयो भने पानी भरिन समय लाग्छ । टनेल लिकेजहरु भएन भने समय भन्दा चाँडो सुन्दरीजलमा पुग्ने उनी बताउँछन् । उनी भन्छन्, ‘लिकेज भइदियो भने १६ १७ दिन पनि लाग्न सक्छ ।

वैशाख दोस्रो साताबाट मात्रै काठमाडौंबासीले पानी खान पाउँछन्

चैत मसान्तसम्ममा काठमाडौंबासीलाई पानी खुवाउने भनिएपनि केही ढिलो भएको समितिले जनाएको छ । टनेलभित्र लेदो भेटिँदा सफा गर्न समय लागेकोले भोलिबाट पानी पठाएपछि वैशाखको दोस्रो सातोदेखि मात्रै काठमाडौंबासीले पानी खान पाउने समितिको कार्यकारी निर्देशक पौडेलले बताए ।

उनले भने,’ चैत मसान्तसम्म पानी काठमाडौंबासीलाई खुवाउँछौँ भन्ने राष्ट्रिय योजना थियो । विभिन्न कारणले ढिलो भयो । हामीले सोचेको थिएनौँ । टनेलभित्र लेदो भेटिन्छ भनेर । टनेलभित्र लेदो भेटिँदा हामी २ चार दिन ढिला भयौँ । नत्र यति बेला काठमाडौंमा गइसक्यो । यही कारणले ढिला भएको मात्रै हो ।’

उद्घाटन कसले गर्ने टुंगो छैन

 मंगलबार मेलम्ची खानेपानी आयोजनाको फेरि उद्घाटन हुँदैछ । यसअघि पहिलो पटक काठमाडौंमा ल्याएको मेलम्चीको पानी राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । गत चैत १५ गते पहिलो पटक काठमाडौंमा झरेको मेलम्चीको पानी गत चैत २० गते राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी थिइन् ।

दोस्रो पटक झर्न लागेको मेलम्चीको पानीको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने वा खानेपानी मन्त्री उमाकान्त चौधरीले गर्ने भन्ने टुंगो लागेको छैन । उद्घाटन गर्न होडबाजी भएकाले अझै कसले उद्घाटन गर्ने टुंगो नलागेको समितिका कार्यकारी निर्देशक पौडेलले बताए ।

उनले भने- उद्घाटन प्रधानमन्त्रीले गर्ने हो वा खानेपानी मन्त्रीले गर्ने टुंगो भएको छैन । फाइनल भएको छैन । निर्वाचनको कारणले पनि हो कि ।

प्रधानमन्त्री देउवा र खानेपानी मन्त्री चौधरी खानेपानीको मुहानमा अम्बाथान पुगेर उद्घाटन गर्ने भनिएपनि मन्त्रालयबाट केही सूचना नआएको उनले बताए ।

उनले अगाडि भने,’उहाँहरू आउनुभए पनि हुन्छ । उहाँहरू नआउनुभए पनि ठिकै छ । अम्बाथानबाट उद्घाटन गर्ने भन्ने जानकारी पाइयो । अहिले सुरक्षाको लागि केही सूचना आएको छैन । मन्त्रालयबाट यही गर्ने नै भन्ने जानकारी नआएकाले केही थाहा छैन ।’

२५ गते अगाडि प्रधानमन्त्री स्वयम उद्घाटनको लागि जाने तयारी गरेका थिए । तर त्यति बेला काम पनि नसकेकाले पछि सारिएको थियो ।

समितिका एक कर्मचारीले भने, ‘चुनाव अघि उद्घाटन गर्न हानथाप छ । काम सकाउन दबाब छ । आज पनि काम सकिएको छैन । काठमाडौंबासीको धारामा पानी पुगेपछि पो उद्घाटन गर्ने हो । सुरुङमा हालेकै दिन पानी आयो है भन्ने उद्घाटन गर्न लागेको छ ।’

अस्थायी रूपमा मात्रै आउने भयो दोस्रो पटक मेलम्ची

वैशाख दोस्रो सातादेखि काठमाडौंबासीको घरघरमा पानी पुग्ने भए पनि यो कहिलेसम्म पानी खान पाउने भन्ने टुंगो छैन । दिगो रूपमा काठमाडौंवासीले मेलम्चीको पानी पिउन पाउँछन् भन्ने चाहिँ निश्चित छैन ।

अझै पनि मेलम्ची खानेपानी आयोजनाको मुहानमाथि भ्रेमाथाङमा पहिरोको जोखिम रहेकोले कहिलेसम्म पानी खान पाइन्छ भन्ने टुंगो छैन ।

भेम्राथाङको पहिरोले थप मुहानमा थप क्षति नहोस् भनेर समितिले खोलामा धमिलो पानी आउने बित्तिकै सुरुङमा पानी पठाउन बन्द गर्ने तयारी गरेको छ । धमिलो पानीले सुरुङ बिगार्ने भएकाले धमिलो पानी आउने बित्तिकै पानी पठाउन बन्द गर्न लागेको हो । बर्खा अघि डेढ महिना मात्रै मेलम्चीको पानी खान पाइन्छ ।

एडिबीको प्रतिवेदन अझै आएन

एसियाली विकास बैक एडिबीको ऋण सहयोगमा बनेको मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीले क्षति पुर्‍याएपछि थप अध्ययन गर्न पहिरोको उद्गमस्थल भेम्रागथाङ पुगेको एडिबीको टोलीले अझै प्रतिवेदन सार्वजनिक गरेको छैन ।

पहिरोपछि आयोजनालाई थप जोखिम छ कि छैन भनेर अध्ययन गर्न गत माघमा एडिबीको टोली उक्त ठाउँमा पुगेको थियो ।

अध्ययनपछि आयोजनाको जोखिम के कस्तो भनेर सार्वजनिक हुन समय लाग्ने एडिबीका नेपालमा प्रेस हेर्ने वरुण बज्राचार्यले नेपाल प्रेसलाई बताए ।

उनले भने, ‘रिपोर्ट आउन अझै तीन महिना लाग्छ ।’


प्रतिक्रिया

One thought on “भोलिदेखि मेलम्चीको पानी सुरुङमा भर्न सुरु गर्ने, उद्घाटन गर्न तँछाडमछाड

  1. पुनः पहिलेको दुर्घटना नदोहोरियोस् होनहार इन्जिनियरको इहिलिला समाप्त भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर