काठमाडौंको मेयरमा विवेकशीलबाट समीक्षा, कीर्तिलाई उपमेयरमा अघि सारियो – Nepal Press

काठमाडौंको मेयरमा विवेकशीलबाट समीक्षा, कीर्तिलाई उपमेयरमा अघि सारियो

काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडौंको मेयर र उपमेयरका लागि दुई महिलालाई अगाडि सार्ने निर्णय गरेको छ ।

विवेकशीलका प्रवक्ता शरदराज पाठकका अनुसार मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो ।

पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले ‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँ, राजधानीको गौरव पुनर्स्थापित गरौँ’ भन्ने नारा तय गर्दै दुईजनाको नाम टुंग्याएको विवेकशीलले जनाएको छ ।

मेयरमा अघि सारिएकी समीक्षा विवेकशील साझा वागमती प्रदेशकी पूर्वसंयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन् । ३८ वर्षीय बास्कोटाले काठमाडौं स्कूल अफ लबाट कानूनमा स्नातक गरेर अमेरिकाबाट कानुनमैं स्नातकोत्तर गरेकी छन् । उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उमेदवार समेत बनेकी थिइन् ।

उपमेयरमा अघि सारिएकी कीर्ति पार्टीकी केन्द्रीय सदस्य छिन् । उनी नेपाल जेसीजको तीनजना महिला राष्ट्रिय अध्यक्षमध्येकी एक हुन् । शिक्षामा स्नातकोत्तर गरेकी ६२ वर्षीया कीर्ति अन्तर्राष्ट्रिय जेसीजको दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष रहेको विवेकशीलले जनाएको छ ।

‘विश्वकै विशिष्ट पहिचान बोकेको काठमाडौं पछिल्ला दशकहरूमा क्रमिकरूपले ध्वस्त भएकोले महानगरपालिकालाई दुईजना इमानदार, सक्षम, परिपक्व र परिवर्तनका लागि प्रतिबद्ध महिलालाई जिम्मा लगाउन सकेको खण्डमा, देशको मुहार परिवर्तनको सुरूआत हुनेछ’, अध्यक्ष रवीन्द्र मिश्रले विश्वास जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर