काठमाडौं-४ बाट चुनाव लड्ने मुकुन्देको घोषणा, भन्छन्- गगन थापालाई पालो दिन्छु, एमालेले समर्थन गर्छ – Nepal Press

काठमाडौं-४ बाट चुनाव लड्ने मुकुन्देको घोषणा, भन्छन्- गगन थापालाई पालो दिन्छु, एमालेले समर्थन गर्छ

मदन भण्डारीले कृष्णप्रसादलाई हराएको जस्तो नतिजा ल्याउने दाबी

काठमाडौं । सामाजिक सञ्जालमा उटपटाङ अभिव्यक्ति दिएर भाइरल बनेका मुकुन्द घिमिरे उर्फ मुकुन्देले नयाँ फण्डा सुरू गरेका छन् । उनले आइतबार फेसबुकमा स्टाटस लेख्दै काठमाडौं क्षेत्र नम्बर ४ बाट संसदीय चुनाव लड्ने तयारी गरेको जनाउ दिए ।

मुकुन्देले लेखेका छन्, ‘अब मलाई संसदमा पुगेर बोल्न कसैले रोक्न सक्दैन । बेजिल्लाबाट उठ्नलाई गृहजिल्लाको मतदाता नामावलीको प्रमाणितप्रति चाहिने रहेछ । अघिल्ला चुनावहरूमा साथमा नभएको मेरो दस्तावेज अहिले उपलब्ध भएको छ । संघीय संसदका लागि काठमाडौं क्षेत्र नम्बर ४ मा स्वतन्त्र उमेदवार हुने मेरो तयारी सुरू भयो ।’

काठमाडौं-४ कांग्रेसका महामन्त्री गगन थापाले चुनाव जितेको क्षेत्र हो । चर्चित हस्तीको क्षेत्रबाट चुनाव लड्ने भनेर मुकुन्देले आफूलाई चर्चामा ल्याउन खोजेको धेरैको अनुमान छ । तर, हामीसँगको कुराकानीमा उनले चर्चाको लागि नभएर जित्नका लागि उम्मेदवारी दिन लागेको बताए । विगतमा आफूले प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी गर्दा प्राविधिक कारणले रोकिएको तर यसपाली नरोकिने उनको भनाइ छ ।

चुनाव लड्ने नै हो त ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘लड्नै पर्ने भयो हजुर । पहिला पनि धेरै कोशिस गरेको प्रचण्डविरुद्ध उठ्नलाई । २०७० सालमा किर्तिपुरमा प्रचण्डविरुद्ध लड्ने तयारी गरेको थिउँ । तर अर्को जिल्लाबाट उम्मेदवार दिँदा मतदाता नामावलीसँगै छुट्टै चिठी आउन पर्ने रहेछ सम्बन्धित जिल्लाबाट । त्यो नहुँदा म रोकिएँ । अहिले त्यो पेपर प्राप्त भएको छ । अब कुनै राष्टिय स्तरको खराब मान्छेलाई चुनौती दिनुपर्ने छ ।’

– अनि गगन थापाकै क्षेत्रमा चाहीँ किन ? उहाँलाई हराउन सक्नुहोला ?

सबै मिलेर हराउन पर्छ । उहाँलाई पनि पालो दिन पर्यो नि अब । लगातार उहाँको पनि के काम ? दुईचोटि भईसक्यो । अब उहाँलाई पालो दिनुपर्छ । म दिन्छु ।

– कति भोटले गगन थापालाई जित्ने अनुमान गर्नुभएको छ त ?

ठ्याक्क त्यस्तो त कहाँ गिन्ती भइसक्या छ र ? त्यतिबेलाका जल्दाबल्दा कृष्णप्रसाद भट्टराईले मदन भण्डारीबाट हार खानु पर्‍याथ्यो । ताप्लेजुङको एउटा मजस्तै उमेरको युवा मदन भण्डारीले दरबारको साह्रै प्यारो प्रधानमन्त्री कृष्णप्रसादलाई हराएका हुन् ।
गिरिजाले पनि सहयोग गर्‍या थिए त्यसमा पनि भनिथ्यो । त्यस्तै मलाई पनि सो क्षेत्रका जल्दाबल्दालाई हराउनलाई कांग्रेसभित्रकै इमान्दार पक्ष, एमाले भित्रकै मदन भण्डारी पक्षले सहयोग गर्नुपर्छ ।

– गिरिजाले मदन भण्डारीलाई जिताए, मलाई शेरबहादुरले जिताउँछन् भन्न खोज्नु भएको हो ?

होइन । देउवाहरु चाहीँ कृष्णप्रसाद लाइन हुन् । यो मैले चुनौती दिन खोजेको सांसद (गगन) समेत कोइराला लाइनले मदन भण्डारीलाई सहयोग गर्या थिए त्यो बेला । कांग्रेस भित्रको कोइराला पक्ष र एमाले भित्रको भण्डारी पक्ष, जुन भनेको अहिलेको सिङ्गो एमालेले मलाई सहयोग गर्छ । शेरबहादुर देउवा त प्रधानमन्त्री भएकाले प्रचार प्रसार गर्न मिल्दैन पनि भन्या छ नयाँ आचारसंहिताले ।
अनि चुनाव लड्न तपाईंका एजेण्डाहरु के-के हुन् त ?

एजेण्डा त मेरो उही मुकुन्दल्याण्ड छदै छ नि । त्यसमा मेरो मुख्य लक्ष्य भनेको भोजपुर र काठमाडौंलाई रेलले जोड्ने हो ।

– अनि तपाई पार्टी खोलेर चुनाव लड्ने कि स्वतन्त्र उठ्ने ?

पार्टी दर्ता गर्ने प्रोसेस पुगेन हजुर, अब त्यतिन्जेल पुगेछ भने गज्जब हुन्छ । कोरम नपुगेकोले अहिले स्वतन्त्र उठ्न पर्छ ।

– मुकुन्देले चर्चामा आउनलाई मात्रै यो घोषणा गरेको भनिरहेका छन् नि अरुले त ?

चर्चाको लागि त ती (गगन) थापाले नै बरु प्रचण्डसँग उठ्छु कि कोसँग उठ्छु भन्दै आएका हुन् । मैले त प्रचण्डसँग नै पहिल्यै उठ्न खोजेको तर त्यही कागज नहुँदा उठ्न पाइनँ । बामदेवसँग उठ्न खोज्दा उनी राष्ट्रियसभाको बाटो भागे । उनीसँग नि उठ्न पाइनँ । पोखरामा उठ्न खोज्दा रविन्द्र अधिकारीकी रोइरहेकी श्रीमतीसँग उठ्न चाहिनँ मैले ।

अहिले चाहीँ काठमाडौं क्षेत्र न ४ मा ती थापा परे । त्यो क्षेत्र भनेको मदन भण्डारीको क्षेत्र हो, विद्या भण्डारीको क्षेत्र हो । त्यहाँ एउटा पशुपतिनाथ भन्ने अन्तर्राष्ट्रिय धाम पनि छ । क्षेत्र नं. ४ भने पनि नेपालकै १ नम्बर जस्तो लाग्छ । मलाई त्यही भएर त्यो क्षेत्र रोजेको हो ।


प्रतिक्रिया

One thought on “काठमाडौं-४ बाट चुनाव लड्ने मुकुन्देको घोषणा, भन्छन्- गगन थापालाई पालो दिन्छु, एमालेले समर्थन गर्छ

  1. joy hosh Mukund land ko
    दार्शनिक mukand अबसे जित छ भन्ने आशा गरिरहेको छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर