स्थानीय चुनाव: कर्णालीमा धमाधम उम्मेदवार टुंग्याउँदै एमाले, गठबन्धनभित्र रसाकस्सी – Nepal Press

स्थानीय चुनाव: कर्णालीमा धमाधम उम्मेदवार टुंग्याउँदै एमाले, गठबन्धनभित्र रसाकस्सी

सुर्खेत । स्थानीय तह निर्वाचनका लागि कर्णालीमा नेकपा एमालेले धमाधम उम्मेदवार घोषणा गरिरहँदा सत्तागठबन्धनमा भने तनावको स्थिति देखा परेको छ ।

एमालेले सुर्खेतका २१ वडामा सर्वसम्मत वडाअध्यक्ष चयन गरिसकेको छ भने दैलेखका ३७ वडामा वडाअध्यक्षका उम्मेदवारसमेत चयन गरिसकेको छ । त्यस्तै अन्य जिल्लामा पनि उम्मेदवार चयन गर्ने प्रक्रियाले तीव्रता पाइरहेको छ । तर गठबन्धनमा भने भागबण्डा नमिल्दा उम्मेदवार चयन हुन सकिरहेको छैन ।

नेकपा एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेना भन्छन्, ‘हामीले चैत ३० गतेसम्म अन्तिम समयावधि तोकेर पठाइसकेका छौं । अहिलेसम्मको रिर्पोट हेर्दा सुर्खेतमा २१ वडामा सर्वसम्मत वडा अध्यक्षसहित सदस्यहरुको उम्मेदवार चयन भइसकेको खबर आएको छ । आज मात्रै पनि थप केही वडामा सर्वसम्मत उम्मेदवार चयन हुने कार्यक्रम छ ।’

एमालेका प्रदेश अध्यक्ष विनोद कुमार शाहले कर्णालीमा उम्मेदवार चयन प्रक्रिया तीव्ररुपमा भइरहेको बताए । ‘हामीले दशै जिल्लामा सर्वसम्मत उम्मेदवार चयन गर्ने गरी अघि बढेका छौं । प्रदेशका करिब एक चौथाई वडामा उम्मेदवार सर्वसम्मत चयन भइरहेको खबर आइसकेको छ । अन्य वडामा पनि सर्वसम्मत चयनको प्रयास जारी छ’, उनी भन्छन्, ‘हामी चुनावलाई टार्गेट गरेर निरन्तर अघि बढिरहेका छौं । वडाअध्यक्ष उम्मेदवार चयन गरेर केही पालिका प्रमुख–उपप्रमुखको उम्मेदवार चयन गर्ने अवस्थामा हामी पुगिसकेका छौं । जस्तो दैलेखको नौमुले गाउँपालिकामा हामी अध्यक्ष र उपाध्याक्षका उम्मेदवार चयन प्रक्रियामा पुगिसकेका छौं ।’

यता गठबन्धन भने उम्मेदवार छनोटको अन्योलमा रुमल्लिरहेको छ । ‘पालिकाको भागवण्डा केन्द्रले गर्ने भएकाले अहिले हामीले उम्मेदवार तोकेका छैनौं’, माओवादी केन्द्र सुर्खेतका इन्चार्ज एवम केन्द्रीय सदस्य झकबहादुर मल्लले भने, ‘पालिका फाइनल भएर आएपछि हामी वडाका उम्मेदवार टंग्याउँछौं ।’

नेपाली कांग्रेसभित्र भने संस्थापन र संस्थापन इतर समूहमा हरेक जिल्लामा विवाद देखिएको छ । गठबन्धन गरेर जानुपर्ने भन्दै जिल्ला सभापतिहरुले हस्ताक्षर गरेप नि शेखर समूहका नेताहरुले भने कांग्रेस एक्लै लडनुपर्नेमा जोड दिइरहेका छन् । यसले पनि कांग्रेसलाई सहजै निर्णय लिन मुस्किल भइरहेको पाइएको छ ।

केही दिनअघि सुर्खेतमा संस्थापनइतर समूहको भेलाले गठबन्धन गरेर जाने भए कांग्रेसले पाएकोमध्ये ४० प्रतिशत नेतृत्व आफूले पाउनुपर्ने माग गरेको थियो । हिजो कालिकोट कांग्रेसले पनि कांग्रेसले सम्मानजनक पालिका नेतृत्व नपाए एक्लै चुनावमा जानुपर्ने निष्कर्ष निकालेको थियो । रुकुम पश्चिम र दैलेखको स्थिति पनि उस्तै छ ।

नेपाली कांग्रेसका प्रदेश सभापति ललितजंग शाहीले सत्तागठबन्धन दलहरुबीच भागवण्डा नमिलेकाले उम्मेदवारी छनौट गर्न नसकिएको बताए । ‘कुन पालिका कसले पाउने भन्नेबारे अहिलेसम्म कर्णालीमा दलहरुबीच सहमति भइसकेको छैन’, उनी भन्छन्, ‘त्यसैले हामीले पालिकादेखि वडाका उम्मेदवार छान्न नसकेका हौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर