आर्थिक संकटका बेला कर्णाली सरकारले मनमाैजी बढायाे मुख्यमन्त्रीदेखि संसदसम्मकाे तलव – Nepal Press

आर्थिक संकटका बेला कर्णाली सरकारले मनमाैजी बढायाे मुख्यमन्त्रीदेखि संसदसम्मकाे तलव

कसको कति पुग्यो (नयाँ र पुरानो सूचीसहित)

सुर्खेत ।कर्णाली सरकारले मुख्यमन्त्री, मन्त्री, प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा वृद्धि गरेको छ ।

कर्णाली प्रदेश सरकारले सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेश सभाका पदाधिकारी तथा सांसदहरुको सेवा सुविधामा कर्णाली प्रदेश सरकारले ५० महिनापछि हेरफेर गरेको हाे ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा फागुन २५ मा जारी गरिएको राजपत्रमा पदाधिकारी तथा सांसदहरुको सेवा सुविधा सम्वन्धी अनुसूची हेरफेर गरिएको सूचना जारी गरिएको छ ।

तर मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदका सदस्यहरुले पाउने पारिश्रमिक बढाएपनि राजपत्रमा भने प्रकाशित गरेको पाइएको छैन । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार मुख्यमन्त्री तथा मन्त्रीहरुको दश हजारका दरले पारिश्रमिक बढाउने निर्णय भएको खुलेको छ यद्यपी ठ्याक्कै यति पुग्यो भनेर स्रोतले खुलाउन भने चाहेन ।

कर्णाली प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ को अनुसूचीलाई कर्णाली सरकारको फागुनमा बसेको मन्त्रिपरिषद्को बैठकले हेरफेर गरेको हो ।

२०७५ सालमा कर्णाली प्रदेश सभाका सभामुखले ५३ हजार मासिक सेवा सुविधा पाउने व्यवस्था गरिएको थियो भने अहिले हेरफेर भएको अनुसूचिमा ६१ हजार ४८० पुर्‍याइएको छ । विपक्षी दलको नेता र उपसभामुखले ५० हजार पाइरहेकोमा उनीहरुको तलब ५८ हजार पुगेको छ । सत्ता पक्षको प्रमुख सचेतक, विपक्षी दलको प्रमुख सचेतक र समितिका अध्यक्षहरुको तलेब ४८ हजार भएकोमा हाल ५६ हजार ८४० पुर्‍याइएको हो ।

यस्तै, दलको प्रमुख सचेतक र सत्ता पक्षको प्रमुख सचेतकले ४८ हजार पाउँदै आएकोमा अब ५४ हजार ५२० पाउने भएका छन् । विपक्षी दलको सचेतकले पनि ५४ हजार पाँच सय बीस पाउने भएका छन् ।

प्रदेश सभा सदस्यहरुले भने ४५ हजार पाउँदै आइरहेकोमा अब ५२ हजार ६०० रुपैंया पाउने गरि अनुसूची हेरफेर गरिएको हो । यस्तै, ऐन अनुसार पाउने वैठक भत्तामा पनि हेरफेर गरिएको छ । यसअघि करसहित सांसदहरुले ७५० पाउने गरेकोमा अब एक हजारका दरले भत्ता पाउने भएका छन् ।

सञ्चार सुविधामा पनि बढोत्तरी गरिएको छ । पुरानो ऐनमा सभामुख देखि सबैलाई दुइ हजार दिने व्यवस्था थियो । अब सभामुखले ३५ सय पाउनेछन् । विपक्षी दलका नेता र उपसभामुखले ३४ सय पाउने भएका छन् । सत्ता पक्षका प्रमुख सचेतक र विपक्षी दलका प्रमुख सचेतकले ३३ सय पाउने भएका छन् ।

दलको प्रमुख सचेतक र सत्ता पक्षको प्रमुख सचेतकले ३२ सय र विपक्षी दलको सचेतक र प्रदेश सभा सदस्यले तीन हजारका दरले मासिक मासिक सुविधा पाउने भएका हुन ।

यस्तै, वैदेशिक भ्रमण भत्ता पनि बढाइएको छ । यसअघि सदनका सबै पदाधिकारी तथा सांसदहरुले प्रतिदिन एक सय ७५ अमेरिकी डलर पाउने गरेका थिए ।

अब सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, उपसभामुख, प्रमुख सचेतक,ले २२५ अमेरिकी डलर प्रतिदिन पाउने भएका छन् भने प्रदेश सभा सदस्यले दुइ सय अमेरिकी डलरका दरमा सेवा सुविधा पाउने भएका छन् ।

सरकारका प्रवक्ता एवम आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बढदो महँगीका बीचमा सबैको पारिश्रमिक तथा सेवा सुविधामा सामान्य हेरफेर गरिएको बताए । ‘यो सामान्य हेरफेर मात्रै हो । हामीले बढाएको सेवा सुविधा अहिले पनि अन्य प्रदेशको तुलनामा कमै छ ।’ उनले भने ।

मुख्यमन्त्री तथा मन्त्रीहरुको सेवा सुविधा कति पु¥याउनु भयो भन्ने प्रश्नमा अहिले आफूसँग अनुसूची नभएको भन्दै बताउन इन्कार गरे । ‘म सँग अहिले अनुसूची छैन । बढाउने निर्णय भइसकेको छ तर कति बढयो भन्न सकिन्न ।’

 

 


प्रतिक्रिया

One thought on “आर्थिक संकटका बेला कर्णाली सरकारले मनमाैजी बढायाे मुख्यमन्त्रीदेखि संसदसम्मकाे तलव

  1. गठबन्धन लुटेराहरूकाे झुण्ड हाे । यिनकाे काम लुटने हाे । काम केही नगर्ने लुटिरहने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *