विराटनगरको मेयरमा कसले मार्ला बाजी ? पूर्वकर्मचारीदेखि पूर्वमन्त्रीसम्मको चर्चा – Nepal Press
स्थानीय चुनाव

विराटनगरको मेयरमा कसले मार्ला बाजी ? पूर्वकर्मचारीदेखि पूर्वमन्त्रीसम्मको चर्चा

गठबन्धनमा सकस, अन्तरद्वन्द्वको फाइदा उठाउने दाउमा एमाले

विराटनगर । मुलुकका ६ महानगरपालिकामध्येको एक विराटनगरमा पनि आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सरगर्मी बढेको छ । प्रदेश १ को राजधानीसमेत रहेको विराटनगरमा चुनावी जोडघटाउसँगै दलका सम्भावित उम्मेदवारको चर्चा चुलिएको छ ।

आकांक्षीहरुले नेतासँग लबिङ बढाएका छन् भने मतदाता र कार्यकर्ता पनि पार्टीबाट निर्धारित हुने उम्मेदवारको प्रतीक्षामा छन् ।

कांग्रेसमा पराजुलीदेखि डिला संग्रौलासम्मको चर्चा

यहाँ २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले मेयर र उपमेयर जितेको थियो । विराटनगरमा पहिला जितेका कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका भिम पराजुलीले फेरि दोहोरिन चाहेका छन् । यसअघि डा. शेखर कोइराला पक्षमा रहेका पराजुली कांग्रेसको १४औं महाधिवेशनमा स्थानीय तहको टिकटकै लागि सभापति शेरबहादुर देउवा पक्षमा लागेका थिए ।

देउवा पक्षबाटै केन्द्रीय सदस्य बनेका उनी २०६८ र २०७२ सालमा कांग्रेसको नगर सभापति बनेका थिए ।

त्यसैगरी मोरङ कांग्रेसका उपसभापति नागेश कोइराला पनि मेयरको टिकटका लागि दौडमा छन् । उनले पनि केन्द्रीय नेतासँगको लबिङ तीव्र पारेका छन् । उनी कांग्रेसमा डा. शेखर कोइरालाका विश्वासपात्र मानिन्छन् । त्यसैगरी केन्द्रीय सदस्यद्वय डा. डिला संग्रौला र अमृत आर्यालको पनि मेयरमा चर्चा छ । तर उनीहरुले औपचारिकरुपमा मुख खोलेका छैनन् ।

एमालेमा पूर्वमन्त्रीसम्मको दाबी

एमालेको तर्फबाट प्रदेश मन्त्री भइसकेका जीवन घिमिरे, सागर थापा र बाबुराम कार्कीको नाम बढी चर्चामा छ । थापा नगर कमिटीका अध्यक्ष हुन् भने कार्की जिल्ला कमिटीका उपाध्यक्ष हुन् ।

पहिला मेयर पदमा पराजित बनेका एमाले मोरङ इन्चार्ज विनोद ढकालको नाम भने मेयरको चर्चाबाट रिङआउट भएको छ । त्यस्तै पूर्वमन्त्री लालबाबु पण्डितको नाम पनि चर्चामा छ । यहाँ तारा निरौला पनि मेयरको उम्मेदवारको दौडमा छन् । उनी अवकाशप्राप्त कर्मचारी हुन् ।

माओवादीमा तीनजनाको चर्चा

मेयरको उम्मेदवारका लागि नेकपा माओवादी केन्द्रमा तीनजनाको नाम चर्चामा छ । माओवादी नेताहरू भोगेन्द्र यादव, नवीन पौडेल र नमिता न्यौपाने मेयरका आकाङ्क्षी देखिएका छन् ।

यहाँ गत स्थानीय तहको चुनावमा जनता समाजवादी पार्टी (जसपा) र माओवादीबीच तालमेल भएको थियो । मेयरमा जसपाका उमेश यादव र उपमेयरमा माओवादीकी नमिता न्यौपाने उम्मेदवार बनेका थिए । गत चुनावमा उपमेयरको उम्मेदवार भएकाले पनि न्यौपानेको मेयरमा दाबी छ ।

गत निर्वाचनमा माओवादीले भोगेन्द्र यादवलाई मेयरको उम्मेदवार बनाएको थियो । तर जसपासँग तालमेल भएपछि अन्तिममा फिर्ता गरिएको थियो ।

जसपामा पनि आकांक्षीको लर्को

माओवादीको महानगर कमिटीका पूर्वअध्यक्ष यादव अहिले प्रदेश कमिटी सदस्य छन् । गत निर्वाचनमा मेयरमा पराजित जसपाका केन्द्रीय सदस्य उमेश यादव, पूर्व उपमेयर भूराज राई, जसपाका केन्द्रीय सदस्य तेजलाल कर्ण र अमरेन्द्र यादवले पनि मेयरको उम्मेदवारका लागि दाबी गरिरहेका छन् । अमरेन्द्र जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् ।

नेकपा एसमा रेग्मीको बढी चर्चा

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट महेश रेग्मी मेयरको उम्मेदवारका रूपमा चर्चामा छन् । उनी एकीकृत समाजवादीको पोलिटब्युरो सदस्य हुन् । एकीकृत समाजवादीबाट पारुल क्षेत्री पनि उम्मेदवारको दौडमा छन् । उनी महानगर कमिटी अध्यक्ष हुन् ।

सबै दलमा आकांक्षी बढिरहेका छन् । यस्तो स्थितिमा गठबन्धनलाई साझा उम्मेदवार छनोट गर्न सकस पर्ने देखिएको छ । गठबन्धनभित्रको खटपटमा खेलेर नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छ, एमाले ।

यस्तो थियो पहिलाको परिणाम

यहाँ वामपन्थी दल र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । तर वामपन्थीबीचको टुटफुटको फाइदा कांग्रेसले लिएको थियो । एमाले बलियो प्रतिस्पर्धी भए पनि इमानदारपूर्वक गठबन्धन भएमा एमालेलाई चुनाव जित्न चुनौती छ ।

यहाँ एकीकृत समाजवादीले एमालेको लगभग ३ हजार देखि ३५ सयसम्म मत काट्नसक्ने अनुमान गरिएको छ । समाजवादीका नेताहरु भने आफूहरुले ५ हजार बढी मत ल्याउने दाबी गर्छन् । यसकारण पनि एमालेको उम्मेदवारले चुनाव जित्ने आधार कमजोर हुने कांग्रेसको बुझाइ देखिन्छ ।

नेपाली कांग्रेसमा गत निर्वाचनको भन्दा झण्डै साढे चार हजार मत फोरम लोकतान्त्रिकबाट थप भएको छ । जसकारण कांग्रेस जित्नेमा ढुक्क छ । तर कांग्रेसभित्रको मतान्तरका कारण अन्तरघात हुने सम्भावना व्यापक छ ।

राप्रपासँग तालमेल गरेर सशक्त उम्मेदवार दिन र कांग्रेसले गठबन्धन नगरे निर्वाचन एमालेले जित्नसक्ने विश्लेषण पनि छ ।

२०७४ सालको निर्वाचनमा छुट्टै लडेको विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पार्टी कांग्रेसमा समाहित भइसकेको छ । कांग्रेसबाट बागी उम्मेदवारी दिएका विराटनगर– १९ का वडाध्यक्ष बद्रीनारायण सरदार पनि कांग्रेसमै समाहित भइसकेका छन् भने विराटनगर– १० का वडाध्यक्ष माधव वाग्ले अहिलेसम्म स्वतन्त्र छन् । मत परिणामअनुसार सबै वडाध्यक्षको मत जोड्दा कांग्रेसको १६ हजार ७ सय ६६ हुन्छ ।

२०७४ सालको मत परिणाम अनुसार यहाँ एमालेको १६ हजार २ सय १८, संघीय समाजवादी फोरमको मत १० हजार ९ सय ३२, माओवादी केन्द्रको ८ हजार १, राप्रपाको ४ हजार २ सय ९१ र फोरम लोकतान्त्रिकको मत ४ हजार ४ सय ५२ रहेको छ ।

लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित भएसँगै कांग्रेसको मत अब २१ हजार ८ सय ६० पुग्छ ।

विराटनगरमा कांग्रेसले १९ नम्बर वडासहित ८ वटा वडा जितेको थियो भने संघीय समाजवादी फोरमले ६, एमालेले ३, माओवादीले १ र स्वतन्त्र उम्मेदवारले १ वडामा जितेका थिए ।

अघिल्लोपटक कांग्रेस र राप्रपा एक्लाएक्लै चुनावमा होमिएका थिए भने एमाले र फोरम लोकतान्त्रिक तथा माओवादी र संघीय समाजवादीबीच गठबन्धन बनेको थियो । त्यसबेला कांग्रेसबाट प्रमुख पदका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी बने ।

एमाले र फोरम लोकतान्त्रिक गठबन्धनका तर्फबाट चुनावमा होमिएका एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ मत प्राप्त गरेका थिए । यस्तै माओवादी र संघीय समाजवादीको तर्फबाट संयुक्त उम्मेदवार बनेका उमेशकुमार यादवले १४ हजार ९ सय ५८, राप्रपाका प्रह्लाद प्रसाद साहले ५ हजार ५ सय २४ मत पाएका थिए । अन्य उम्मेदवारको जम्मा मत ३ सय ६४ रहेको थियो ।

१९ हजार मतदाता निर्णायक

विराटनगर महानगरपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनको तुलनामा १९ हजार ३ सय ८१ जना मतदाता नयाँ थपिएका छन् । नयाँ थपिएका मतदाता स्थानीय तहको निर्वाचनमा निर्णयक हुने अवस्था छ ।

निर्वाचन आयोगले पछिल्लोपटक सार्वजनिक गरेको तथ्यांकअनुसार विराटनगरमा १ लाख ३३ हजार १ सय ४२ जना मतदाताको संख्या पुगेको छ । २०७४ सालको निर्वाचनमा विराटनगरमा मतदाताको संख्या १ लाख १३ हजार ७ सय ६१ मात्र थियो ।

विराटनगरमा २०४३ सालमा जनपक्षीय उम्मेदवार भनेर वामपन्थी उम्मेदवार ध्रुवनारायण श्रेष्ठले चुनाव जितेका थिए । २०४८ सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार अशोक कोइराला विजयी भए ।

त्यस्तै २०५४ सालको निर्वाचनमा एमालेका रमेशचन्द्र पौडेल विजयी बन्दा २०७४ सालका स्थानीय तहमा भने पुनः कांग्रेसका उम्मेदवार भीम पराजुली विजयी बनेका छन् ।

गठबन्धनमा सकस, अन्तरद्वन्द्वको फाइदा उठाउने दाउमा एमाले

यहाँ एमाले र सत्तागठबन्धनभित्र कडा प्रतिस्पर्धा हुने देखिन्छ । तर गठबन्धनभित्र कुन दलले मेयरको टिकट लिने भन्ने विवाद छ ।

विराटनगरको नेतृत्वमा मुख्यत नेपाली कांग्रेसले दाबी गर्दै आएको छ । माओवादी केन्द्र र जनता समाजवादीले पनि मेयर नछाड्ने अडान राख्दै आएको छ । अहिलेको अवस्थामा विराटनगरमा गठबन्धनको साझा उम्मेदवार नहुने सम्भावना ज्यादा छ । त्यसो हुँदै एमालेलाई फाइदा पुग्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर