मापदण्ड मिचेर बनाइयो वीरेन्द्रनगर लाटीकोइलीको वडा कार्यालय भवन – Nepal Press

मापदण्ड मिचेर बनाइयो वीरेन्द्रनगर लाटीकोइलीको वडा कार्यालय भवन

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको-९ लाटीकोइलीले मापदण्डविपरीत भवन निर्माण गरेको छ ।

५४ लाख लागतमा बनाइएको उक्त भवन नक्सा नै पास नगरी भवन निर्माण संहिताविपरीत बनाएको पाइएपछि टिप्पणी सुरू भएको छ । विगतमा २५ मिटर सडक मापदण्डभित्र परेको भन्दै सर्वसाधारणका २६ वटा घर भत्काएको वडा कार्यालय आफ्नै भवन बनाउँदा सामान्य मापदण्ड पनि ख्याल नगरेको भन्दै स्थानीय आक्रोशित बनेका हुन् ।

‘अरुलाई नक्सा पास नगरे सेवा सुविधा रोक्ने तथा २५ मिटर सडक विस्तार मापदण्ड पूरा गर्न भन्दै हाम्रा घर भत्काउने वडा कार्यालयले आफ्नो भवनको नक्सा पास नै नगरी उपभोक्ता समितिमार्फत ५४ लाख रुपैंया खर्च गर्‍यो यो वडा कार्यालयको मनपरी हो’, एक स्थानीयले भने ।

अरुलाई कानून सिकाउने निकायले आफैं कानून उल्लंघन गर्नु गलत भएको स्थानीयहरूको गुनासो छ ।

उपभोक्ता समितिमार्फत निर्माण गरिएको भवन मेयर देवकुमार सुवेदीले उद्घाटन गरेका हुन । यहाँ वडाअध्यक्षमा सुरेश मानन्धर छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७ को धारा २७ मा भवन निर्माण तथा सडक सम्वन्धी व्यवस्थामा कसैले पनि नक्सा पास नगराई भवन निर्माण गर्न नपाइने उल्लेख छ ।

‘कसैले पनि गाउँपालिका वा नगरपालिकाबाट नक्सा पास नगराइ भवन निर्माण गर्नु हुँदैन । तर गाउँपालिका वा नगरपालिकाले तोकेको क्षेत्र र संरचनाको हकमा नक्सा पास नगराइ पनि भवन निर्माण गर्न वाधा पर्ने छैन ।’ ऐनमा भनिएको छ ।

तर, वडा कार्यालय वीरेन्द्रनगर उपत्यकाभित्रै भएका कारण उसले नक्सा पासबिना भवन निर्माण गर्न पाउँदैन ।

वडा कार्यालयका सचिव विष्णुकुमारी ढकालसँग यसबारेमा प्रतिक्रिया लिन खोज्दा उनले जवाफ दिन चाहिनन् । ‘अफिसमा आउनु होला । कति लागतको, इस्टिमेट के हो त्यहाँ बोर्ड राखिएको छ त्यसैमा हेर्नुहोला ’, उनले भनिन् ।

तर प्रेसकर्मी त्यहाँ जाँदा भवन निर्माण उपभोक्ता समितिको नामावली बाहेक अन्य कुनै पनि भवन निर्माण सम्वन्धी जानकारी राखेको पाइएन ।

यता, वीरेन्द्रनगर नगरपालिकाको नक्सा महाशाखाका एक कर्मचारी उक्त भवनको नक्सा पास नभएको भन्दै सुर्खेतमा बनेका अधिकांश सरकारी कार्यालयले नक्सा पास गर्न छोडेको गुनासो गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर