‘किङ’ दिपेन्द्र ! नेपाली क्रिकेटका भरोसा – Nepal Press

‘किङ’ दिपेन्द्र ! नेपाली क्रिकेटका भरोसा

काठमाडौं । हालका दिनमा नेपाली क्रिकेटप्रेमीमाझ अतिप्रिय बनेको नाम हो- दिपेन्द्रसिंह ऐरी । घरेलु मैदानमा भर्खरै सम्पन्न क्रिकेट श्रृंखलामा गरेको जबरजस्त प्रदर्शनले उनलाई नेपालकै नम्बर एक क्रिकेटरका रुपमा स्थापित गरेको छ ।

पपुवा न्यूगिनी र मलेसिया सहभागी त्रिदेशीय टि–२० प्रतियोगिताको उपाधि नेपालले आफ्नो पोल्टामा पार्दा दिपेन्द्र ‘प्लेयर अफ द फाइनल’ र ‘प्लेयर अफ द सिरिज’ चुनिए । दुवै उपाधिका उनी स्वभाविक हकदार थिए । प्रतियोगितामा उनी यसरी छाएका थिए, जसरी छाएका छन् काठमाडौंका हलहरुमा साउथ इन्डियन फिल्म । बलिङ, ब्याटिङ र फिल्डिङ तीनवटै विधामा रोक्नै नसकिने फर्ममा देखिए दिपेन्द्र ।

फाइनल म्याचबाटै सुरु गरौं । नेपालको ब्याटिङ प्रतियोगितामै पहिलोपटक दबाबमा देखिएको थियो फाइनलमा । १२ ओभरको खेल सकिँदा ८२ रन मात्र जोडेको नेपालले ५ विकेट गुमाइसक्दा सबै आशा टिकेको थियो दिपेन्द्रमाथि । र, उनले निराश बनाएनन् । फेरि एकपटक उनी पर्खाल बनेर उभिँदा अर्को इन्डबाट करण केसीले तेज आक्रमण गरे र नेपालले १६८ रनको सम्मानजनक स्कोर खडा गर्यो ।

त्यसो त अघिल्ला म्याचहरुको स्कोर हेर्दा नेपालले फाइनलमा दिएको लक्ष्य अपर्याप्त हुनसक्ने चिन्ता थियो । तर, नेपालको बलिङलाई पनि उनै दिपेन्द्रले लिड गरे । उनले महत्वपूर्ण ४ विकेट लिएपछि पीएनजी ११८ रनमै धराशयी भयो । पीएनजी र मलेसियाका खेलाडीहरुले त्रासदीका रुपमा सम्झिनेछन् ऐरीलाई ।

फाइनलअघिका म्याचहरुमा पनि दिपेन्द्रले शानदार प्रदर्शन गरेका थिए । मलेसियाविरुद्ध उनले विष्फोटक शतक बनाए जुन एक हिसाबले अभूतपूर्व थियो । मलेसिया नेपालभन्दा कमजोर प्रतिद्वन्द्वी हो । त्रिविको मैदान ब्याटिङ प्याराडाइज थियो । यति हुँदाहुँदै पनि दिपेन्द्रको इनिङलाई किन अभूतपूर्व भनिएको हो भने यसअघि कुनै पनि नेपाली ब्याट्सम्यानले विपक्षी बलरमाथि यो लेभलको दबदबा देखाएका थिएनन् ।

दिपेन्द्रले अर्धसतक बनाउँदासम्म सतकको सम्भावना निकै टाढा देखिएको थियो । तर, पछिल्ला ओभरहरुमा उनी यसरी विष्फोट भए कि, एवी डिभिलियर्सदेखि क्रिस गेलसम्मको झल्को आइरहेको थियो । सरुको ३८ बलमा अर्धसतक बनाएका ऐरीले त्यसपछिका १९ बलमा ५८ रन थपेका थिए ।

थ्रि डी क्रिकेटर !

दिपेन्द्र खेलाडी मात्र होइन, क्रिकेटका एक प्याकेज हुन् । यस खेलमा उनको क्षमता के हो भन्दा पनि के होइन भन्ने प्रश्न उठ्छ । चाहे बल दिएर पठाउनुस वा ब्याट, उनको प्रदर्शनमा पहिल्यै निर्धक्क रहन सकिन्छ ।

दिपेन्द्र अनेकरुपमा उपलब्ध छन् । विष्फोटक ब्याट्सम्यानको रुपमा, किफायति बलरका रुपमा, चुस्त फिल्डरका रुपमा । यति मात्र होइन । उनको रनिङ विटविन दि विकेट पनि लोभलाग्दो छ । समग्रमा उनी क्रिकेटका वास्तविक अलराउन्डर हुन् ।

दिपेन्द्र नेपाली टिममा सुरुदेखि ब्याट्सम्यानको भूमिकामा थिए । तर, पछिल्लो समय उनले आफूलाई एउटा उत्कृष्ट अलराउन्डरका रुपमा स्थापित गरेका छन् । उनको ब्याटिङ मात्र होइन, बलिङ पनि चम्किन थालेको छ ।

ब्याटिङमा पनि दिपेन्द्र उस्तै एडजस्टेबल छन् । उनीसँग आक्रामकता मात्रै छैन, रक्षात्मक ब्याटिङको खुशी र धैर्य पनि छ । उनी करण केसीजस्तो ‘पिन्च हिटर’ होइनन् । आरिफ शेखजस्तो ‘ब्लकर’ पनि होइनन् । तर, उनीहरु दुवैको क्षमता दिपेन्द्रसँग छ ।

सन्दिप लामिछाने कप्तान बनेयता उनले दिपेन्द्रलाई बलिङमा नियमित उपयोग गर्न थालेका हुन् । सन्दिपले दिपेन्द्रको बलिङमा पूरा भरोसा देखाएका छन् । पारस खड्का र ज्ञानेन्द्र मल्लले उनलाई पार्टटाइम बलरका रुपमा सीमित ओभर बल सुम्पिन्थे । तर, सन्दिपले प्रायः म्याचमा दिपेन्द्रलाई पूरा कोटा बलिङ गराउँदै आएका छन् र यसको फाइदा टिमलाई मिलेको छ । एक बलरको स्थानमा नेपालले एक अतिरिक्त ब्याट्सम्यान खेलाउन पाएको छ । ब्याटिङको गहिराइ बढेको छ । यो भनेको ठूलो एडभान्टेज हो क्रिकेटमा ।

दिपेन्द्रको खासियत के भने उनी स्पिन र तेज दुवै तरिकाले बलिङ गर्न सक्छन् । विगतमा पारस खड्काले जस्तै पिचको अवस्था हेरेर उनले आफ्नो बलिङ शैली परिवर्तन गर्दै आएका छन् । यद्यपि, स्पिनमा उनलाई बढी सफलता मिलेको छ । उनको स्पिनमा रन बनाउन विपक्षी ब्याट्सम्यानहरुले निकै संघर्ष गरिरहेका छन् । पछिल्ला म्याचहरुमा सन्दिप लामिछानेभन्दा पनि दिपेन्द्रको इकोनोमी राम्रो छ ।

ब्याटिङमा पनि दिपेन्द्र उस्तै एडजस्टेबल छन् । उनीसँग आक्रामकता मात्रै छैन, रक्षात्मक ब्याटिङको खुशी र धैर्य पनि छ । उनी करण केसीजस्तो ‘पिन्च हिटर’ होइनन् । आरिफ शेखजस्तो ‘ब्लकर’ पनि होइनन् । तर, उनीहरु दुवैको क्षमता दिपेन्द्रसँग छ ।

म्याचको सिचुयसन हेरेर दिपेन्द्रको ब्याटले आफ्नो गति तय गर्छ । आवश्यकता पर्दा उनी छक्का–चौका वर्षाएर विपक्षी बलिङलाई तहसनहस बनाइदिन सक्छन् । आवश्यक पर्दा ब्लकमाथि ब्लक गरेर बलरहरुलाई निराश तुल्याउन सक्छन् । नेपालका लागि शहिद अफ्रिदी पनि उनै, डिभिलियर्स पनि उनै र राहुल द्रविड पनि उनै । जस्तोसुकै अवतारमा किन नहोस, उनी बारम्बार विपक्षी टिम र जितको बीचमा पर्खाल बनेर खडा भएका छन् ।

दिपेन्द्र नेपालका उत्कृष्ट फिल्डर पनि हुन् । उनको हातबाट बल हत्पत्ति फुत्किँदैन । थ्रो पनि उत्तिकै सटिक छ । टाढाबाट बल फ्याँकेर ब्याट्सम्यानलाई रनआउट गर्ने क्षमता छ उनको ।

दिपेन्द्रको फिल्डीङ वर्णन गर्न करण केसीको एउटा ‘बाइट’ नै काफी छ । मलेसियाविरुद्धको खेलमा ह्याट्रिक विकेट लिएका करणले पत्रकारसँग भनेका थिए, ‘ह्याट्रिक बललाई ब्याट्सम्यानले हावामा खेल्नासाथ मैले सेलिब्रेसन गरेको थिएँ, किनकी बल दिपेन्द्र ऐरीतिर खस्दै थियो । उनले क्याच फुत्काउँदैनन् ।’

सफलताको श्रृंखला

उमेर समूहको क्रिकेटबाटै दिपेन्द्रले आफ्नो क्षमताको प्रमाण दिन सुरु गरेका हुन् । क्रिकेटको महाशक्ति छिमेकी देश भारतमाथि नेपालले हासिल गरेको एउटा दुर्लभ जितका नायक थिए उनी ।

२०१७ मा आयोजित एसीसी अन्डर–१९ एसिया कपमा नेपालले डिफेन्डिङ च्याम्पियन भारतलाई स्तब्ध तुल्याउँदै सनसनी जित निकालेको थियो । उक्त म्याचमा ब्याटिङ र बलिङ दुवैबाट दिपेन्द्रले अगूवाइ गरेका थिए । ब्याटिङमा उनले ८८ रन बनाएर नेपालको स्कोर १८५ मा उकासे । १८६ रनको लक्ष्य पछ्याने क्रममा भारतलाई ९१/१ को सहज स्थितिबाट १६६ मा अलआउट गराउन पनि उनकै मुख्य योगदान र्यो । दिपेन्द्रले केवल ३९ रन खर्चेर चार विकेट लिएका थिए ।

उक्त अलराउन्ड प्रदर्शनका लागि उनी म्यान अफ द म्याच बने । त्यही प्रदर्शनपछि उनी राष्ट्रिय टिममा यसरी घुसे, जसरी ऋषि धमला नेपाल एयरलाइन्सको जहाजको इकोनोमी क्लासबाट विजनेस क्लासमा घुसेका थिए ! सन् २०१८ को जनवरीमा उनलाई पहिलोपटक आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन २ प्रतियोगिताका लागि राष्ट्रिय टिममा समावेश गरिएको थियो । यस्तै, सन् २०१८ को जुलाइमा नेपालले पहिलो एकदिवसीय क्रिकेट नेदरल्यान्ड्विरुद्ध खेल्दा प्लेइङ ११ मा थिए दिपेन्द्र । त्यसयता उनी आफ्नो फर्मका कारण कहिले पनि टिमबाहिर हुनु परेको छैन ।

म्याचको सिचुयसन हेरेर दिपेन्द्रको ब्याटले आफ्नो गति तय गर्छ । आवश्यकता पर्दा उनी छक्का–चौका वर्षाएर विपक्षी बलिङलाई तहसनहस बनाइदिन सक्छन् । आवश्यक पर्दा ब्लकमाथि ब्लक गरेर बलरहरुलाई निराश तुल्याउन सक्छन् । नेपालका लागि शहिद अफ्रिदी पनि उनै, डिभिलियर्स पनि उनै र राहुल द्रविड पनि उनै । जस्तोसुकै अवतारमा किन नहोस, उनी बारम्बार विपक्षी टिम र जितको बीचमा पर्खाल बनेर खडा भएका छन् ।

सन् २०१८ मा आयोजित दक्षिण एसियाली खेलकुदमा भाग लिने नेपाली टिममा दिपेन्द्रले उपकप्तानको जिम्मेवारी पाएका थिए । उनलाई भविष्यको कप्तानका रुपमा हेरिएको थियो । तर, गत डिसेम्बरमा क्यानले अन्यायपूर्वक उनलाई उपकप्तानबाट बर्खास्त गर्‍यो । सेन्ट्रल कन्ट्राक्टको विरोधमा मिडियामा बोलेको भन्दै क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्रलाई पदमुक्त गरेको थियो । ज्ञानेन्द्रको स्थानमा सन्दिप कप्तान नियुक्त भए पनि उपकप्तान अहिलेसम्म कसैलाई बनाइएको छैन ।

ज्ञानेन्द्रलाई पछिल्लो समय टीमबाटै हटाइएको छ । उनले फेरि कमब्याक गर्छन्, गर्दैनन् भन्न सकिने स्थिति छैन । दिपेन्द्रले भने आफ्नो प्रदर्शनकै बलमा टिमबाट हत्पती उखाल्न नसकिने गरी जरो गाडेका छन् ।

२२ वर्षको उमेरमै दिपेन्द्रले नेपाली क्रिकेटमा केही महत्वपूर्ण बनाइसकेका छन् । उनी टी–२० अन्तर्राष्ट्रियमा नेपालका तर्फबाट सबैभन्दा बढी रन बनाउने र एक हजार टि–२० रन पुरा गर्ने एक्ला नेपाली ब्याट्सम्यान हुन् । एउटै टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने किर्तिमान पनि उनले आफ्नो नाममा लेखाए, मलेसियाविरुद्ध ११० रन हानेर ।

एकदिवसीय र टी–२० दुवैमा सतक हान्ने दोस्रो नेपाली खेलाडी बनेका छन् दिपेन्द्र । हालैको घरेलु प्रतियोगितामा एक हप्ताको अन्तरमा उनले आफ्नो पहिलो एकदिवसीय र पहिलो टी–२० सतक हानेका हुन् । उनीभन्दा अघि पारस खड्काले मात्रै दुई फम्र्याटमा सतक हानेका थिए ।

क्रिकेटमा लगातार तीन छक्का दुर्लभ मानिन्छ । दिपेन्द्रले लगातार दुई म्याचमा लगातार तीन छक्का प्रहार गरे । पपुवा न्यूगिनीविरुद्धको म्याचमा उनले १८ औं ओभरको पहिलो तीन बलमा लगातार छक्का प्रहार गरेका थिए । लगत्तै मलेसिया विरुद्धको म्याचमा अन्तिम ओभरको तेस्रो, चौंथो र पाचौं बलमा उनले छक्काको ह्याट्रिक गरे । पपुवा न्यूगिनीविरुद्धको म्याचमा दिपेन्द्रले डेब्यू व्वाई मोहम्मद अदिल आलमसँग मिलेर एकै ओभरमा किर्तिमानी ३२ रन बर्षाएका थिए ।

विदेशी भूमिमा चुनौती

खेलाडीहरुको फर्म सधैं उस्तै र सदाबहार रहँदैन । दिपेन्द्रको मुख्य चुनौति भनेको प्रदर्शनमा एकरुपता नै हो । कहिलेकाहीँ हतारमा रन बटुल्ने चक्करमा जोखिमपूर्ण सट खेल्दा छिट्टै आउट हुन पुग्छन् । टेक्निकमा पनि उनले धेरै सुधार गर्न बाँकी छ । रनिङ विटविन द विकेटमा बढी महत्वाकांक्षी देखिन्छन् बेलाबखत ।

दिपेन्द्रसहित नेपाली ब्याट्सम्यानहरुको मूख्य चुनौती भनेको विदेशी मैदानमा आफूलाई प्रुफ गर्नु हो । नेपालको मैदानमा दिपेन्द्रले जुस्तो प्रदर्शन गरिरहेका छन्, विदेशमा पनि त्यसलाई निरन्तरता दिन सकेको खण्डमा उनले आफूलाई अन्तर्राष्ट्रिय स्तरको ब्याट्सम्यान सावित गर्न सक्नेछन् । त्यसो भयो भने उनका निम्ति विभिन्न देशमा हुने फ्रेन्चाइज क्रिकेटहरुको ढोका पनि खुल्न सक्छन् ।

पछिल्लो समय नेपालले अन्य देशमा खेलेका खेलमा दिपेन्द्रको प्रदर्शन मिश्रित छ । दुई महिनाअघि ओमानमा आयोजित चार देश सम्मिलित टी–२० सिरिजमा उनले उत्कृष्ट खेले । उक्त सिरिजमा दिपेन्द्रले ३ खेलमै १४२ रन बनाएका थिए । त्यसपछिको टी–२० विश्वकपमा पनि उनको जादु चल्यो । तर, एक महिनापछि यूएईमा आयोजित आईसीसी विश्वकप लिग २ मा उनले आफ्नो लय गुमाए । चार खेलमा उनको ब्याटबाट १२ रन मात्रै निस्कियो ।

ज्ञानेन्द्रलाई पछिल्लो समय टीमबाटै हटाइएको छ । उनले फेरि कमब्याक गर्छन्, गर्दैनन् भन्न सकिने स्थिति छैन । दिपेन्द्रले भने आफ्नो प्रदर्शनकै बलमा टिमबाट हत्पती उखाल्न नसकिने गरी जरो गाडेका छन् ।

क्रिकेटमा फर्म अस्थाई हो, ‘क्लास’ स्थाई हो । क्लास भएका खेलाडीहरु खराब फर्मबाट जुनसुकै बेला पुनरागमन गर्न सक्छन् । दिपेन्द्र पनि क्लास प्लेयर हुन् । उनीबाट नेपाली क्रिकेटमा निकै लामो र महत्वपूर्ण योगदानको अपेक्षा गरिएको छ ।

दिपेन्द्र अनुभवसँगै खारिने छन् । उनीसँग क्रिकेट खेल्न प्रशस्त समय छ । आफ्नो फर्म गुमाएनन् भने अझै १५ वर्षसम्म निरन्तर राष्ट्रिय टिमबाट खेल्न सक्छन् । नेपाली क्रिकेट टिमले दिपेन्द्रको रुपमा एउटा दरिलो खम्बा पाएको छ । पारस खड्काले क्रिकेटबाट सन्न्यास लिँदा टिममा जुन रिक्तताको कल्पना गरिएको थियो, दिपेन्द्रले त्यसको पूर्ति गरिदिएका छन् । दिपेन्द्र र अर्का युवा ब्याट्सम्यान रोहित पौडेलको उपस्थितिले नेपाली टिमको मध्यक्रम निकै बलियो बनेको छ । सँधै बलिङको सहारामा म्याच जित्ने नेपाली टिम अब ब्याटिङमा बढी भर पर्न थालेको छ ।

क्यानको कारवाहीमा परेयता दिपेन्द्र केही निराश बनेका थिए । विवादित विषयमा उनी मिडियामा पनि आउन चाहेनन् । घरेलु म्याचपछिका प्रेस मिटसमेत उनले ‘स्किप’ गरे । यसलाई कतिपयले क्यानसँगको असन्तुष्टिकै उपजका रुपमा पनि हेरिरहेका छन् । यद्यपि, उनी पहिले पनि धेरै बोल्ने खेलाडी होइनन् । लजालु स्वभावका दिपेन्द्र अन्तरवार्ताहरुबाट प्राय हच्किने गर्छन् । उनी बोल्छन् त ब्याट र बलबाटै ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *