एसईईको तयारीमा रहेकी कविताको कसले गर्‍यो हत्या ? सहपाठी छात्रासहित २ जना पक्राउ – Nepal Press

एसईईको तयारीमा रहेकी कविताको कसले गर्‍यो हत्या ? सहपाठी छात्रासहित २ जना पक्राउ

काठमाडौं । उदयपुर बेलका नगरपालिका-३ कोशी जनता माध्यमिक विद्यालयमा पढिरहेकी बुद्धचाेकीकी १७ वर्षीया कविता सुनुवार जोडतोडले एसईईको तयारी गरिरहेकी थिइन् । विद्यालय जाँदै गर्दा बाटोमा हत्या भएसँगै उनको उच्च शिक्षाको सपनामा विश्राम लागेको छ ।

परीक्षा आउन १७ दिन मात्रै बाँकी भएकाले स्कूलमा बिहानैदेखि कोचिङ राखिएको थियो । १० बजे विद्यालय सुरूहुने हुँदा अतिरिक्त कक्षाका लागि झिसमिसेमै पुग्नुपर्थ्यो । मंगलबार बिहान पनि कविता ५ बजे उठेर स्कूल हिँडिन् । घरबाट उनको स्कूल पुग्न आधा घण्टा लाग्छ ।

बाटोमा बस्ती नपर्ने भएकाले उनी प्राय साथीहरूसँग मात्रै स्कूल जान्थिन् । तर, आज भने उनी एक्लै विद्यालय गइन् । घरबाट हिँडेको २० मिनेटमै उनको निर्मम तरिकाले हत्या भयो ।

स्थानीय जसोधा खोलामा उनको हत्या गरिएको छ । घटनास्थलनजिकै बाँसघारी छ । उनको हत्या बाँसघारीमै भएको हुनसक्ने बेलका नगरपालिका-३ का वडाध्यक्ष भरतकुमार मगरले नेपाल प्रेसलाई बताए ।

मगरका अनुसार बाँसघारीबाट घिसारेर केही तल मुडा थुपारिएको चेपमा घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । किशोरीको टाउकोमा माथिबाट ठूलो ढुंगाले प्रहार भएको देखिएको छ ।

कविता परिवारकी कान्छी छोरी थिइन् । परिवारमा २ छोरी र एक छोरा छन् । खेतीकिसानी गरेर उनको परिवारले छोराछोरीलाई पढाइरहेका थिए । गाउँमा कसैसँग पनि दुश्मनी नभएकाले कसले हत्या गर्‍यो भन्ने रहस्यको विषय बनेको वडाध्यक्ष मगरले बताए ।

उनले भने, ‘स्कूलमा पनि कविताको कसैसँग झगडा थिएन, किन हत्या भयो भन्ने अनुमान नै गर्न सकिएको छैन ।’

स्थानीय रमेश बस्नेत भैँसीलाई आहाल बसाउन जाँदा बिहान ६ बजेतिर शव देखेका थिए । त्यसपछि गाउँलेलाई बोलाएका थिए भने वडाध्यक्ष र प्रहरीलाई पनि खबर गरेका थिए ।

घटनामा शंकास्पद दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू गाउँकै  एक  युवती र   एक  युवक छन् । पक्राउ पर्नेमा एकजना कवितासँगै पढ्ने नाबालिग साथी र उनका दाजु (बडाबाको छोरा) विनोद ढकाल छन् ।

प्रहरीका अनुसार पक्राउ परेकी छात्रा उमेरले नाबालिग हुन् । विनोद र नाबालिग छात्रासँग प्रहरीले सोधपुछ गर्दा कुरा बाझिएपछि उनीहरूलाई पक्राउ गरेको उदयपुर प्रहरी प्रमुख सुवास बोहराले नेपाल प्रेसलाई बताए ।
उनले भने, ‘उनीहरुबीच पुरानो मनमुटाब रहेछ । योजना बनाएर हत्या गरेको देखिन्छ । दुईजनाको कुरा बाझिएको छ ।’ पक्राउ परेकी छात्राले बिहानै कवितालाई फोन गरेर बोलाएकी थिइन् । कविता कविता स्कुलतिर गएको तर उनी नगएको बुझिएको छ । ‘तिमीहरू किन स्कूल नगएको भनेर सोध्दा विनोद दाइ मर्निङ वार्क जाँदा लड्नुभएकाले नगएको भन्ने बयान छ,’ बोहराले भने ।
पक्राउ परेकी छात्रा आमा र बहिनीसँग बस्थिन् भने विनोदको घर सिक्किम हो । उनी काकाको घरमा बस्दै आइरहेका थिए । कवितासँग छात्राको के कुरामा मनमुटाब हो भन्ने खुलिनसकेको बोहराले बताए ।

प्रहरीले उनीहरूलाई सोधपुछ गरिरहेको र शव पोस्टमार्टमको तयारी भइरहेको बताएको छ ।

विद्यालयका प्रधानाध्यापक सूर्यनारायण शाहले कविता अनुशासित र मेहेनती छात्रा रहेको बताए । विद्यालयले उनको क्रुर र हिंस्रक ढंगले हत्या गरिएको भन्दै छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ ।

व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘निश्पक्ष छानबिन गरी यथाशीघ्र अपराधी पत्ता लगाइ कडाभन्दा कडा सजाय गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं । साथै आम नागरिक र विशेषगरी बालिकाहरूको जीउज्यानको भरपर्दो सुरक्षा प्रबन्ध गर्न सरोकारवालाहरूसँग माग गर्दछौं ।’

तस्बिर : भरत खड्का  (खुलासा) । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर