जनकपुरधाममा तालमेल गर्ने माओवादी दाउ, गठबन्धनका अन्य नेता एक-अर्कालाई दिन्नन् भाउ – Nepal Press
स्थानीय चुनाव

जनकपुरधाममा तालमेल गर्ने माओवादी दाउ, गठबन्धनका अन्य नेता एक-अर्कालाई दिन्नन् भाउ

जनकपुरधाम । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै मधेसको राजधानीसमेत रहेको जनकपुरधाममा चुनावी सरगर्मी बढेको छ । जनकपुरधाम उपमहानगरपालिकामा मेयरका लागि नेताहरूले दौडधुप मात्र बढाएका छैनन् । सामाजिक सञ्जालमार्फत प्रचार-प्रसार समेत गर्न थालिसकेका छन् ।

२०७४ सालको निर्वाचनमा जनकपुरधाममा महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का लालकिशोर साह नेपाली कांग्रेसका उम्मेदवार मनोज साहलाई झण्डै १० हजार हराउँदै मेयरमा विजयी भएका थिए । मेयर साह अहिले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा छन् ।

कुनै बेला जनकपुरधाम नेपाली कांग्रेसको ‘गोरहा खेत’ अर्थात अत्यधिक पकड भएको नगर मानिन्थ्यो । मधेस आन्दोलनपछि मधेसकेन्द्रित दलको वर्चस्व देखियो । कांग्रेस छाडेर राजपामा लागेका साह मेयर त बने । तर, जनताको आवश्यकता र माग अनुसार काम गर्न नसकेको उनीमाथि आरोप छ ।

जनकपुरधामको राजनीतिक परिस्थिति अहिले बदलिएको छ । २५ वडामध्ये राजपाले मेयर-मेयरसहित १२ वटा वडा जितेको थियो । पछि राजपा समाजवादी पार्टीसँग एकिकरण गरेपछि नयाँ दल जनता समाजवादी पार्टी बन्यो । धेरै समयसम्म एकता भने टिकेन र महन्थ ठाकुर पुनः अलग भए ।

अहिले ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छ । मेयर साह भने लोसपामा फर्केनन् । उनी जसपामै बसे । उपमेयर रिता मिश्र र निर्वाचित सबै वडाध्यक्ष लोसपामा छन् । टुटफुटबाट पार्टी गुज्रिएको हुँदा अहिलेको लोसपामा पहिलेको राजपाको जस्तो मजबुत नभएको जानकारको विश्लेषण छ । त्यसैले अबको निर्वाचनको मुख्य प्रतिस्पर्धीमा नेपाली कांग्रेस, जसपा, लोसपा र नेकपा एमाले देखिन्छन् ।

जसपाले अहिलेका मेयर साहलाई नै अगाडि सार्ने चर्चा बढेको छ । तर, धार्मिक तथा सांस्कृतिक शहर जनकपुरधाममा डम्पिङ्ग साइटसमेत बनाउन नसकेको भन्दै नगरबासीले उनको आलोचना गरिरहेका छन् । फोहोर व्यवस्थापन सबभन्दा ठूलो समस्याका रूपमा देखिएको जकपुरधाममा सरसफाइ नभएको भन्दै मेयरविरुद्ध कैयौं पटक आन्दोलन भएको छ ।

‘जनताले कामको मूल्यांकनको आधारमा भोट खसाल्ने छन् । मेयर साहको कामबाट धेरै जनता सन्तुष्ट छैनन्’, एक स्थानीयले भने ।

लोसपामा पनि मेयरका आकांक्षीबीच प्रचार-प्रसारमा हानाथाप चलिरहेको छ । उपमेयर मिश्र, ७ नम्बरका वडाध्यक्ष जानकीराम साह, केन्द्रीय सदस्य मनोज चौधरी र प्रदेश सांसद प्रमेश्वर साह प्रमुख दाबेदारका रूपमा देखिएका छन् । जानकीले आफूलाई मेयरको उम्मेदवार भन्दै सामाजिक सञ्जालमा प्रचारप्रसार सुरू गरिसके । तर, प्रदेश सांसद साहले उम्मेदवार बन्न चाहँदा उनले नै टिकट पाउने सम्भावना बढी रहेको नेताहरूको भनाइ छ ।

नेपाली कांग्रेसले मनोज साहलाई नै पुनः मेयरको उम्मेदवार बनाउने चर्चा छ । दोस्रो कार्यकालका लागि नगर सभापतिमा निर्वाचित साह अघिल्लो चुनावमा पराजित भएका थिए । उनी विमलेन्द्र निधी गुटका हुन् । निधी गुटकै योगेन्द्र पंजियार धनुषा सभापतिमा निर्वाचित भएकाले साहको सम्भावना प्रबल छ ।

नेकपा एमालेबाट मेयरमा शिवशंकर साह ‘हिरा’ आकांक्षी देखिएका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशका अध्यक्षसमेत भइसकेका साहले टिकटका लागि दौडधुप बढाएका छन् ।

अघिल्लो चुनावमा एमालेबाट मेयरमा उठेका लक्ष्मीनारायण भगत अहिले नेकपा एसमा प्रवेश गरेका छन् । उनी २०७४ मा तेस्रो भएका थिए तेस्रो स्थानमा रहेका भगत र डा. अजयकुमार झा नेकपा एसबाट दाबी गरिरहेका छन् ।

जनकपुरधाममा माओवादी भने तुलनात्मकरूपमा कमजोर देखिएको छ । अघिल्लो चुनावमा माओवादीबाट मेयरमा उठेका चन्द्रशेखर साह पाँचौ स्थानमा थिए । अहिलेसम्म कोही आकांक्षी चर्चामा देखिएका छैनन् । यहाँ माओवादी प्रतिस्पर्धा बाहिर रहने स्थिति छ ।

गठबन्धनको सम्भावना न्यून

सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, जसपा, लोसपा र माओवादी केन्द्रले चुनावी तालमेलको प्रयास गरे पनि जनकपुरधाममा चुनौती देखिएको छ ।

अत्यधिक कमजोर रहेका माओवादी केन्द्र गठबन्धनको पक्षमा उभिएको छ । तर, मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस, जसपा र लोसपाका आकांक्षीहरू एकले अर्कालाई स्वीकार गर्न चाहिँदैनन् । वर्तमान मेयर साह समेत गठबन्धन गर्ने पक्षमा नरहेको उनीनिकट नेताहरू बताउँछन् । तर, गठबन्धन गर्दा कांग्रेस जसपालाई छाड्न तयार छैन ।

लोसपामा त झन दुई समूह सक्रिय छन् । महन्थ ठाकुर पक्षले प्रदेश सांसद प्रमेश्वर साहलाई अगाडि सारेका छन् भने राजेन्द्र महतो समूह जानकीराम साहलाई ।

महन्थ ठाकुरले सांसद साहलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरे जानकीराम साह स्वतन्त्र उम्मेदवारी दिने मनस्थितिमा छन् ।

अघिल्लो चुनावमा जनकपुर उपमहानगर कसले कति ल्याएका थिए  हे्नुस् :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर