चुनावी गठबन्धन: कांग्रेसको आत्मबोध र एमालेको छट्पटी – Nepal Press
नेपाल चिन्तन

चुनावी गठबन्धन: कांग्रेसको आत्मबोध र एमालेको छट्पटी

नेपाली कांग्रेसको केन्द्रीय समितिको ‘सरकार सहयात्रीबीच चुनावी गठबन्धन गर्ने’ निर्णयलाई एक सामान्य राजनीतिक निर्णयका रूपमा मात्रै लिइयो भने अपूर्ण हुन्छ। यो निर्णयले स्थापित गरेको सत्य के हो भने लोकतान्त्रिक मूल्यका लागि अझै एक आवधिक चरण लोकतन्त्रका ‘स्टेक होल्डर’बीचको सहकार्य अनिवार्य छ। कांग्रेसले ‘स्थानीय आवश्यकताका आधारमा’ गठबन्धन गर्ने भने पनि मूलतः त्यो पाँचदलबीचको चुनावी गठबन्धन भएको कुरा त्यस पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक कार्यक्रमबाट स्पष्ट पारिसकेका छन्।

एमालेले ’देशव्यापी पार्टी प्रवेशको लहर’ भनेर उपरी र औपचारिक प्रोपोगण्डा चलाइरहँदा पार्टी फुट, सिङ्गो पार्टीभित्रको अन्तरविरोध र ओली समूहभित्रैको असन्तुष्टिले एमाले चरम अस्तित्व संकटमा गुज्रिएको धरातलीय यथार्थ हो। पार्टी फुट्नु, पार्टीका दशबुँदे पक्षधर अझ चिढिनु र आफ्नै गुटमा पनि चरम अविश्वास पैदा हुनुले पार्टीको प्रभाव बढाउने भन्दा पनि आन्तरिकरुपमा एकअर्कालाई कसरी कमजोर पार्ने भन्ने रणनीतिमा सीमित छ आजको एमाले।

एमालेसंग देखाउने विचार र देखाउने व्यक्तित्व भनेका केपी ओली मात्रै हुन्। राष्ट्रिय व्यक्तित्व हुनुको सट्टा उनी भने झन्झन् एकांकी हुँदैछन्। त्यसैले जति नै प्रवेश गराए पनि आफैंमा विभाजित र संकटापन्न हालतमा रहेको एमालेले यही परिस्थितिमा कुनै पनि निकायको चुनाव जित्नु असम्भवप्रायः छ। आन्तरिक संकटसंगै गठबन्धनको पहाड देखेर एमाले निकै आतंकित बनेको छ।

गठबन्धनलाई इमानदारीतापूर्वक कार्यान्वयन गर्ने हो भने स्थानीय, संसदीय वा प्रदेश तीनै तहको प्रत्यक्ष चुनावमा गठबन्धनले ‘क्लिनस्वीप’ गर्ने निश्चित जस्तै छ। यस यथार्थताकाबीच कांग्रेसको निर्णय देशको आवश्यकताको आधारमा आएको छ। यसै पनि स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिमा अनौठा परिदृश्यहरू देखिएका थिए। एकातिर विभाजित र आन्तरिक संकटले ग्रस्त एमाले, निर्वाचनमा गठबन्धन भएमा सर्मनाक हार हुने आतंकमा थियो भने कांग्रेसका कतिपय नेतामा चाहिँ गठबन्धन नै हुन नदिने छट्पटी थियो।

हिजो माओवादी केन्द्रसंग भएका बादल, टोप, प्रभु, लेखराज, मणिहरू त त्यहाँ आत्मसमर्पित नै छन्। लाज पचाएर तथाकथित जनताको बहुदलीय जनवादको खोल ओड्नु अनि ओलीले माओवादी आन्दोलनलाई सत्तोसराप गर्दा मुसुमुसु हाँसेर थपडी बजाउनु तिनको दिनचर्या हो।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको जोड गठबन्धन भएरै निर्वाचनमा जाने भए पनि कांग्रेसले नमानेमा कांग्रेसइतर गठबन्धन बनाउने उनीहरूको योजना प्रष्टै थियो। जीतको पहिलो आधार आफ्नै शक्ति र दोस्रो आधार मात्र गठबन्धन भन्ने कुरामा माओवादीलगायतका पार्टीहरू स्पष्ट देखिन्थे। अघिल्लो चुनावी परिणामका आधारमा पनि आ-आफ्नो एकल शक्तिसहित माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा नेपाली राजनीतिमा एक बृहत्तर र निर्णायक वैकल्पिक गठबन्धन हुन्।

ओली प्रतिगमनसंगै लगातार ओरालो यात्रामा रहेको एमाले पहिलो पार्टी हुने कल्पनातीत दम्भमा अझै छ। तर प्रोपोगन्डा रणनीतिमा माहिर एमाले नेताहरूलाई के थाहा छ भने यो देखाउनैपर्ने बाध्यकारी दम्भ हो। पहिलो संसद विघटनसंगै नेकपामा बिजोगलाग्दो शक्ति सन्तुलनमा रहेको ओलीगुट नेकपा खारेज गर्ने अदालती सेटिङले मात्र एमालेका रूपमा बौरिएको हो, त्यो पनि पुरानो पार्टीमा रहेको कृत्रिम बहुमतले।

ओली एमालेमा विचारको यति डरलाग्दो खडेरी छ कि, उही खाले र एउटै बजेटको भ्यूटावर प्रचण्डले उद्घाटन गर्दा उनीहरूलाई सहिनसक्नु औडाहा हुन्छ भने ओलीले उद्घाटन गर्दा पूरै गर्वबोध हुन्छ।

तत्कालीन नेकपाले त ओली प्रतिगमन खारेज गरेर ओलीलाई पार्टीको साधारण सदस्यसमेत नहुनेगरी अनुशासनको कारबाही गरेको हो। त्यो कारबाही गर्दा कारबाही गर्ने पक्षसंग अपार बहुमत थियो। त्यही कारबाही गर्ने पक्ष नै आजको माओवादी केन्द्र र एकीकृत समाजवादी हो। १० बुँदे कार्यान्वयन भन्दै केही नेता माधव–झलनाथलाई धोका दिएर अन्ततः ओली प्रतिगमनतिर लहसिए पनि नेकपाको बहुमत हिस्सा माओवादी केन्द्र–एकीकृत समाजवादीतिरै छ। र, भीमबहादुर रावल, घनश्याम भुसाल लगायतका १० बुँदेवालालाई तथा रामबहादुर थापा, टोपबहादुर रायमाझी लगायतका हिजो माओवादी केन्द्र भएर आज एमालेमा रहेकाहरूलाई त्यहाँ दोस्रो दर्जाको व्यवहार गरिएको छ।

भीम, घनश्यामहरूले त नेतृत्वसंग वैचारिक टक्कर लिएर पराजित भएकाले यसो हुनु स्वाभाविक हो भनिएला । तर पदमै भएका युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई लगायतको हालत पनि त्यही हो। नेपाली जनताको यत्रो परिवर्तनविरुद्ध दुई-दुई पटक संसद विघटन गरेर प्रतिगमन लाद्नेभन्दा ठूलो वैचारिक विचलन के हुनु ? अनि त्यो मूल प्रवृत्तिभन्दा बाहेकको वैचारिक टक्करको के अर्थ ? हिजो माओवादी केन्द्रसंग भएका बादल, टोप, प्रभु, लेखराज, मणिहरू त त्यहाँ आत्मसमर्पित नै छन्। लाज पचाएर तथाकथित जनताको बहुदलीय जनवादको खोल ओड्नु अनि ओलीले माओवादी आन्दोलनलाई सत्तोसराप गर्दा मुसुमुसु हाँसेर थपडी बजाउनु तिनको दिनचर्या हो।

ओली एमालेमा विचारको यति डरलाग्दो खडेरी छ कि, उही खाले र एउटै बजेटको भ्यूटावर प्रचण्डले उद्घाटन गर्दा उनीहरूलाई सहिनसक्नु औडाहा हुन्छ भने ओलीले उद्घाटन गर्दा पूरै गर्वबोध हुन्छ।

कि ओलीले भनेको खुरुखुरु मान्नुपर्यो, कि पार्टी छाडेर हिंड्नुपर्यो। बाँकी वैचारिक छलफल र स्वस्थ प्रतिस्पर्धाको ठाउँ एमालेमा छैन। केन्द्रमा त यो हालत छ भने तल्ला निकायहरूमा झन् के होला ? त्यसैले नेकपाबाट छुट्टिएको, भएकै पार्टी पनि विभाजित भएको र पार्टीभित्र कुनै एकत्वभाव नभएको एमालेले चुनाव जित्ने कुरा फगत आत्मरती मात्रै हो। झन अब त सरकार गठबन्धन तीनै तहको चुनाबसम्म एकगठ भएर जाने कुराले एमालेलाई सहिनसक्नु आतंकित बनाएको छ। एमसीसी प्रकरणमा गठबन्धन फुटाउन अहोरात्र असफल खट्नु र भित्रभित्रै राप्रपा, लोसपा जस्ता पुरातन एवं राजावादीहरूसंग गठबन्धन बनाउन मरिहत्ते गर्नु एमालेको त्यही मनोबैज्ञानिक आतंक हो।

आफ्नै प्रतिगामी, दम्भी र उत्तेजक भूमिकाले एमाले अस्तित्व रक्षाको संकटमा हुँदा संविधान जोगाउने सर्तमा त्यसविरुद्ध एकगठ भएकाहरू अझै एमालेलाई निर्णायक हैसियत दिनेगरी प्रस्तुत हुनु भनेकाे लज्जास्पद कुरा थियो। देउवाविराेधी कांग्रेस वृत्तबाट जानीनजानी यो भुल हुँदै थियो। खासगरी कांग्रेसका शेखर कोइराला, धनबहादुर गुरुङ, गगन थापा, चन्द्र भण्डारी जस्ता नेताहरू नै एमालेलाई उत्साहित बनाउने भूमिकामा थिए।

लोकतन्त्र–गणतन्त्रको लागि सहकार्य हुनसक्ने, ओली प्रतिगमनविरुद्ध एकठाउँ हुनसक्ने, संवैधानिक एवं राष्ट्रिय मूल्य भएका यावत विषयहरूमा मतैक्य हुनसक्ने तर साझा उद्देश्य पूर्तीका लागि चुनावी तालमेल हुन नसक्ने किन हो ? तालमेलविराेधी कांग्रेस नेताहरूले कुनै तर्क दिन सकेका थिएनन्। तालमेल हुन सक्दैन भने फेरि प्रतिगामी उद्देश्य बोक्नेहरूले नै जित्नुपर्छ भन्न खोजिएको थियो ? धन्न, गठबन्धनविरोधी पङ्तिले यसको उत्तर दिन नपर्नेगरी सभापति देउवाले विषयलाई सपाट निर्क्यौल गरिसकेका छन्।

ओली प्रतिगमनले के सिद्ध गर्यो भने समाजवादको आधार तय गर्ने उद्देश्य बोकेको संबिधान संरक्षण गरेर स्थायित्वमा पुग्न लोकतान्त्रिक सहकार्यको आवश्यकता अझै रहेछ। विश्वास गरेकाहरूले जुनकुनै बेला जनताविरुद्ध गद्दारी गर्न सक्ने रहेछन्। यो सरकार गठबन्धन त्यही आवश्यकताको उपज थियो। र, चुनावी तालमेलको उद्देश्य पनि अझै एक आवधिक चरणसम्म यो गठबन्धन कायम रहोस् भन्ने नै हो।

खासमा सतहमा तालमेलको जोड प्रचण्ड–माधव–उपेन्द्रहरूले गरेजस्तो देखिए पनि यसको मूल फाइदा कांग्रेसलाई नै हो । आज कांग्रेसले सरकार नेतृत्व गर्ने हैसियत पाएको गठबन्धनभित्रको ठूलो पार्टी हुनुको कारणले हो। तालमेलबाट पनि उसले नै सबैभन्दा ठूलो हैसियत पाउने थियो। पाउँछ पनि।

‘सुखी नेपाली, समृद्ध नेपाल’, अपर तामाकोसी, सुरुङमार्ग जस्ता ओलीले देखाउने मूल परियोजना र नाराहरू झलनाथ खनालका सपना थिए। गाउँ/शहर, वृद्धवृद्धा र सीमान्तकृत वर्ग, जाति र समुदायका राहत र विकास बजेटहरू मनमोहन, भरतमोहन, प्रचण्डहरूका सपना थिए। मूल कुरा, संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको सपना गिरिजा, माधव र प्रचण्डको सुजबुझले साकार भएको थियो।

दुःखको कुरा यत्ति हो कि श्रमजीवी राजनीतिक दृष्टिले देश कायापलट गर्नसक्ने वाम बहुमतलाई ओलीले तिलान्जली दिएकाले र प्रतिगमन लाद्न खोजेकाले आज बजार पुँजी पक्षधर कांग्रेसकै नेतृत्वमा फेरि लोकतन्त्र–लोकतन्त्र भन्नुपर्यो। विशुद्द राजनीतिक विषय जस्तो देखिए पनि ओलीले कम्युनिष्ट आन्दोलन र श्रमजीवी जनतामाथि थोपरेको प्रतिगामी अर्थ राजनीति यही हो। निर्णायक लडाइँ लड्नुपर्ने शक्तिसंग निर्णायक तालमेल गर्नुपर्ने, आफूलाई चरम प्रतिगमनमा उभ्याएर कस्तो नकारात्मक बुद्धि दिएका होलान् ओलीले ?

यतिबेला तालमेलको सैद्धान्तिक निर्णय भएकोले त्यसले ’प्रतिगामी उद्देश्यको विरोध र विकासका लागि स्थायित्व’को मुद्दालाई औचित्यपूर्ण दृष्टिले संयुक्तरूपमा स्थापित गरेको छ। सबै गठबन्धन पार्टीले त्यसलाई औपचारिक स्वीकार गरिसकेका छन्। ’हामीले मात्र विकास गर्छौं’ भन्ने अमूर्त कुराबाहेक एमालेसंग त आज जनताबीच जाने औपचारिक एजेण्डा र मुद्दा नै छैन।

‘सुखी नेपाली, समृद्ध नेपाल’, अपर तामाकोसी, सुरुङमार्ग जस्ता ओलीले देखाउने मूल परियोजना र नाराहरू झलनाथ खनालका सपना थिए। गाउँ/शहर, वृद्धवृद्धा र सीमान्तकृत वर्ग, जाति र समुदायका राहत र विकास बजेटहरू मनमोहन, भरतमोहन, प्रचण्डहरूका सपना थिए। मूल कुरा, संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको सपना गिरिजा, माधव र प्रचण्डको सुजबुझले साकार भएको थियो।

ओलीले गणतन्त्रको उपहास गर्दै गोरूगाडा चढेर अमेरिका पुगिँदैन भन्दै गर्दा नेपालमा गणतन्त्र स्थापित मात्रै होइन, शान्ति सम्झौताको आधारमा दुईदुई वटा संविधानसभा चुनाव भएर नयाँ संविधान नै आयो। र, त्यसैको आवरणमा यो परिवर्तनमा निरपेक्ष देखिएका ओलीले राजनीतिक चातुर्यता देखाएर पार्टीमा नेतृत्व लिन पाए।

अब आज यो विषय सुस्पष्ट भैसकेको छ कि एमालेलाई गठबन्धन यसै पनि महंगो पर्छ, कांग्रेसले नचाहेको थियो भने पनि कांग्रेस स्वयंले प्रतिस्पर्धा गर्नुपर्ने मूल शक्ति एमाले होइन, माओवादी–समाजवादी गठबन्धन नै हुने थियो। कांग्रेसका तालमेलविरोधी नेताहरूमा यो चेतना आएको थिएन भने सरकार गठबन्धनमा भएका कांग्रेसइतर पार्टीहरूको स्वाभाविक गठबन्धन बन्ने थियो। त्यसको तयारी भैसकेको थियो।

हिजो नेकपाको समीकरणकै हिसाबकिताबले पनि प्रचण्ड–माधव गठबन्धन एमालेभन्दा बलियो त थियो नै, मधेसको सबैभन्दा ठूलो पार्टी जनता समाजवादी अनि राष्ट्रिय जनमोर्चा जस्ता साना पार्टीसमेत त्यसमा स्वाभाविक जोडिएका थिए। यो कुराको आत्मबोध बेलैमा गरेर कांग्रेसले सरकार गठबन्धनलाई अहिले स्थानीय चुनावमा प्रस्तुत गर्नु र अन्ततः प्रदेश र संघीय चुनावमा समेत संयुक्त प्रस्तुत गर्ने संकेत गर्नु उसको लोकतान्त्रिक बौद्धिकता हो। सबैकुराको निर्क्यौल त क–कसको शक्ति कति हो र गठबन्धन वा तालमेल इमान्दारीपूर्ण हुन्छ कि हुँदैन, चुनावी परिणामले गरिहाल्छ।


प्रतिक्रिया

One thought on “चुनावी गठबन्धन: कांग्रेसको आत्मबोध र एमालेको छट्पटी

  1. नारायण प्रसाद अधिकारी #केपी ओलि तथा नेकपा एमाले समर्थक says:

    चुनाव को अर्को दिन बोल्नु होला हजुर अहिले नै हतार किन ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *